Tuesday, April 24, 2012

धार्मिक महोत्सवमा दुई करोड संकलन

नारायणगढ । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित विराट महायज्ञ धार्मिक महोत्सव मंगलबार सकिएको छ । बैशाख १ गतेबाट १२ दिनसम्म सञ्चालन भएको सो महायज्ञमा नगद र जिन्सी गरी करिब दुई करोड रुपैयाँ बराबरको रकम संकलन भएको आयोजकले जनाएको छ ।
यज्ञबाट बचेको रकमले राधाकृष्ण मन्दिर देवघाट तनहूँको जीर्णोद्धार, गरिब किरियापुत्री, शवयात्री, अतिथि निवास, भागवत भवन, सन्तआश्रम निर्माण तथा नारायणी नदीकिनार संरक्षणमा खर्च गरिने यज्ञ सम्पादन मूल समितिले जनाएको छ । राष्ट्रशान्तिको कामना गर्दै नेपालमै पहिलो पटक सो महायज्ञ सञ्चालन गरिएको हो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै संस्कृति राज्यमन्त्री सुश्मा शर्मा घिमिरेले आध्यात्मवादभित्र पनि ठूलो विज्ञान भएको भन्दै भौतिकवादी र आध्यात्मवादी दुबै दर्शनलाई सँगै लिएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूजस्ता कयौं आमाहरुले समाज रुपान्तरणका लागि पाठेघर हवन गरिरहनुभएको छ, महिलालाई धार्मिक कार्यमा संलग्न नगराउने परिपाटीको अन्त्य हुनुपर्दछ ।’
समाज रुपान्तरणका लागि मानव मस्तिष्कलाई परिवर्तन गर्न धार्मिक मस्तिष्कले मात्र सक्ने राज्यमन्त्री शर्माको भनाइ थियो । कार्यक्रममा बोल्दै बालव्यास ईश्वरकृष्ण महाराजले नेपालको विकासको लागि धार्मिक क्षेत्रको व्यापक प्रचारप्रसार हुनु जरुरी भएको बताउनुभयो ।
उहाँले हिन्दू धर्मावलम्बीहरुले नै हिन्दूधर्मको विरोध गरेको भन्दै धर्मलाई नबुझिकन विरोध गर्दै हिँड्नु मुर्खतामात्र भएको स्पष्ट पार्नुभयो । महायज्ञ मूल समारोह समितिका संयोजक ऋषिराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महायज्ञका उपवाचक तपेन्द्र रिजाल, उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष ऋषिराम लामिछाने, सहसंयोजक खेम भण्डारीलगायतले बोल्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी