Showing posts with label Entertenment. Show all posts
Showing posts with label Entertenment. Show all posts

Friday, July 10, 2015

तिम्रो त्यो सिउँदोमा ............

दृष्टिविहिन भएर पनि गीत संगीतका क्षेत्रमा आफ्नो बलियो पकड स्थापित गरिसकेका छन् गायक प्रकाश तिमल्सिनाले उनको पछिल्लो गीतको म्यूजिक भिडियो ।


Friday, October 19, 2012

पोहोरको दसँै र फेरिएको मेरो परिचय ‘चेन स्मोकर अल्टर कान्छो’


यो सालको दसँै आगनमा आएको छ । सबैलाई दसैँको शुभकामना दिन चाहन्छु ।  सबैको घर घरमा सुख शान्ति र सम्वृद्धिको बास होस कामना छ मेरो । दसैँ आउँदा म अहिले पोहोरको दसैँलाई म सम्झि रहेको छु । जसले मेरो परिचय साथिहरुमाझ परिवर्तित गरिदियो ।

सबैले दसैँ भन्दा सम्झिने बस्तु भनेको रातो टिका, जमारा हो । त्यो भन्दा अर्काे पिङ् । त्यसभन्दा माथि उठेर हामी युवाहरुले सम्झने भने म्यारिज हो । तासका गड्डिसँगै म्यारिजको मस्तीमा रम्ने दिन हो दसैँ । सबै साथिलाई जुटाउने थलो हो तासको खाल । चाडका बेला सबै साथीहरु गाँउमा जम्मा भए पनि भेटघाट हुँदैनथ्यो मेरो अघिल्ला वर्षहरुमा तर पोहोर भने म सबै साथिको माझमा रहिरहेँ यसको श्रेय भनेको म्यारिजको खाल नै हो ।

सबैले भन्छन तास खेल्न हुँदैन घर बार जान्छ । म पनि यसलाई मान्छु । सानो सानो गर्दै गर्दा ठूलो जुवाडे बन्ने सम्भावना पनि रहन्छ । जुट पत्ति मैले सबै भन्दा बढि जानेको तासको खेल हो । त्यस पछि दैलामारा । याद छ मलाई सानोमा फाँट खुल्दा हाम्रो विद्यालयको वार्षिक परिक्षा पनि सकिएको हुन्थ्यो र एक दुई महिनाको छुट्टी पनि । अनि के नै चाहियो र साथिहरु जम्मा भयो विहान र वेलुका गोठालो बन्यो घरमा भएका पुरानो तासको गड्डी लियो अनि जुवाडे बन्यो । घरमा त्यही तास खेल्नका लागि म र मेरो दाईको कति पटक झगडा भएको छ गोठालो जान । मलाई थाहा छ त्यो भनेको गोठालो बन्न नभइ दैला पकड्न हो ।

याद आइरहेको छ । एक पटक बाहुन्ने हानेको । कोट त कति लाइयो कति खाइयो हेक्का नै छैन । म तासमा पैसाको खेलेर हारेको इतिहास नै नहोला भन्छु । किनकी म पैसाको तास भने पछि खेल्न साह्रै डराउने । त्यही भएर पनि होला मसँग दसैँ मा घर गएका वेला साथिहरुको जमघट नै त्यति हुँदैनथ्यो । मलाई अचम्म लाग्थ्यो यी केटाहरु कता जान्छन हँ । कोही नभए पछि एक्लै के गर्ने म पनि वल्लो पल्लो घरका साना केटाकेटी बटुलेर जुटपत्तिमा रमाउँथे ।

तर पोहोरको दसँै भने त्यस्तो भएन् । म साथिसँग भए वा साथिहरुसँग म भए । जे भने पनि उस्तै हो हामी सबै म्यारिजसँगै थियो । दिनभर रातभर । साथिहरुको नियम मलाई मन परेको के भने जसले जिते पनि बोकेर जान नपाउने । सबै सबैलाई खुवाउनु पर्ने अझ पार्टी दिनु पर्ने । कस्तो गजवको नियम यार ल । तैले जागिर खाएको हामीलाई पार्टि दिनुपर्छ भनेर हैरान पारेका थिए साथिहरु मलाई मैले पनि सोँचे यार यो पैसा त त्यसै खर्च हुने ने भयो । तास खेलेरै पैसा खर्च गर्ने हारे मेरो पार्टी त्यही हो भन्न पाइने जिते पनि मैले जितेको पैसाले पार्टि गरेको भन्न पाइने । गज्जवको जुक्ती निकालेँ । अनि म पनि बसेँ म्यारिजको खालमा । जानी नजानी । सुरु सुरुमा मा त म जितेर पनि हारेँ किनकी मलाई नियम नै थाहा थिएन् ।

पछि पछि त अलि भेउ पाउन थाले । माल हेर्न थाले पछि त के कहिले म्यारिज कहिले अल्टर केही न केही त हुने । पैसा सोहोर्न थाले । ल्याम्फेको टरेला पहिलो हातमा नै देखाँउदा विसको माल सेक्वन्स मिलाउँदै जाँदा म्यारिज फेरी १५ को माल अनी हातमा दुई वटा अल्टर के चाहियो । अरु माल कति थिए । त्यो लेखा जोखा भएन् । खेलमा जित्न त साथिले जित्यो तर के गर्ने पैसा पो मैले जिँते । अन्तिममा हिसाब गर्दा सबै माल मसँग मात्र । केहो एकैपटक साठिको माल हात पारेँ । होइन यो अल्टर नै रहेछ यार जतिखेर पनि अल्टर मात्र पारेको छ के हो ? एउटा मिल्ने साथिले भनि हाल्यो । अनि त के चाहियो मेरो परिचय नै फेरियो यार ‘अल्टर कान्छो’ । कान्छो किन भने म परिवारको कान्छो त्यही भएर ।

पोहोरको दसँैमा मैले जितेको अझ जागिर खाएको पार्टी दिनु नै थियो साथिहरुलाई दिनु त प¥यो । साथिहरुले मोज गरेर खाए मैले चुरोटको सर्काे नलिने मेरो अगाडि सबै डराउँथे तर पनि मलाई थाहा थियो साथिहरुले अलिअलि रमरम लिँदा धुवाँको नशा पनि लिने गर्छन् । यो पार्टिलाई धुँवा विना के खल्लो बनाईदिने । मगाए एक वट्टा सूर्य । अनि मैले नै खोक्दै सुरु गरेँ । त्यसपछि त साथिहरुलाई पनि के खोज्छस कानो आँखो भयो नी ? सबैले पिए लिए । मैले लिए अरे सबै भन्दा बढि भुसाहा । त्यही भन्दै थिए साथिहरु । नशामा भनेकी सद्देमा थाहा भएन ।

तर पनि मैले नखाएको पनि होइन खिल्लीहरु । ‘अल्टर कान्छो’ बनिसकेको म त्यसमा फेरी अर्काे विशेषण थपिदिए ‘चेन स्मोकर’ अनि भएँ ‘चेन स्मोकर अल्टर कान्छो’ साथिहरुले फोनमा खोजिरहेका छन् । के हो ‘चेन स्मोकर अल्टर कान्छो’ आउने होइन ? अरे यार आउँछु । मोज गर्नुपर्छ पोहोरको जस्तो परिचय नै फेरिने गरेर त होइन यार । ल ल म हिँड्दै छु यो लेख लेखर सकिए पछि अनि त साथिहरुसँगको भेट भइहाल्छ नी । गाँउका साथिहरुसँग त भेट हुने भयो यार तर फेरी दुःखको कुरा हरेक दिन अनलाइनमा भेटिने यी साथिहरुसँग भने एक हप्तालाई विदा माग्नै प¥यो । लहै साथिहरु अनलाइनको दुनियाँबाट म एक हप्ताको छुट्टिमा छु । गाउँमा राम्रोसँग नेटवर्क टिप्दैन् । टिपिहाले त भेट भइनै रहन्छ नभए एक हप्तालाई यो ‘चेन स्मोकर अल्टर कान्छो’ विदा हुन्छ है ।

Thursday, October 4, 2012

सामाजिक सञ्जालको प्रयोग ः चुनौती र अवसर


                                                    सरोकार                                                                   
विधुर ढकाल
सुरूवात आफैँबाट गरौँ । मैले स्कुले उमेरमा सामान्य ज्ञानमा रटान हान्ने गर्थें, राणा शासनको सुरूवात गर्दा भएको कोतपर्व कहिले भयो ? आजभन्दा करिब पौने दुई सय वर्षपहिले भएको कोतपर्वको जवाफ दिएर मैले धेरै पटक खेलिएका हाजिरजवाफहरुमा अंक बटुलेको थिएँ तर आज ती सबै रटाइहरु मेरो स्मृतिमा छैनन् । मैले दिने जवाफहरु यान्त्रिक थिए त्यतिबेलाका । असोज २ गते मैले भुलेको जवाफ पुनः स्मृतिमा आयो, कारण थियो एक जना मेरा ट्वीटरका मलामीले यसका बारेमा ट्वीट गरेका रहेछन् ।
आजभोलि सजिलो पनि भएको छ अनलाइन र यसमा जोडिएका सामाजिक सञ्जालहरुका कारणले । मैले भुलेका कुरालाई स्मृतिमा ताजा गरिदिने काम पनि भएको छ । मैले जाने र सुनेसम्मका सामाजिक सञ्जालहरुको एक न एक पटकको प्रयोगकर्ता भएको छु । जिज्ञासुपनका कारणले हो या अनजानमा, सुरूवातमा मैले यसको बारेमा थाहा पाएको मलाई हेक्का छैन यतिबेला तर पनि म त्यस्तै पाँच–छ मा पढ्थेँ होला । मेरा एक जना दिवंगत दाजु हुनुहुन्थ्यो । उहाँका तस्बिरहरु मेरा अर्का दाजुले माई स्पेसमा खाता खोलेर राख्नुभएको रहेछ । मैले त्यतिबेला सुनेको थिएँ, अनलाइनमा खाता खोलेर आफ्ना कुरा राख्न पाइन्छ भनेर र मलाई यो भ्रम पनि थियो कि अनलाइनमा हामीजस्ता सामान्य मानिसहरुको पहुँच छैन, हाम्रा कुरा राख्न पाइँदैन । उहाँले देखाउँदा मलाई भन्नुभएको थियो कि मेरो छुट्टै साइट छ । म सानो बबुरो नपत्याउने कुरै भएन, पत्याएँ मन नलाए पनि ।
मैले पछि मात्र माई स्पेसको बारेमा थाहा पाएको थिएँ, जतिबेला ममा केही कम्प्युटरको ज्ञान आएको थियो । कम्प्युटरमा अनलाइनमा म केही भिजेको पनि थिएँ । मैले पहिला खोलेको याहुको मेल अहिले पनि चलाउँछु, जुन अहिले फेसबुकको प्रयोगका लागि मात्र प्रयोग हुँदै आएको छ । त्यसपछि मैले माई स्पेसलगायतका भेटेजति सामाजिक सञ्जालहरुको सदस्य बन्दै गएँ, कति सञ्जालका खाताका पासवर्डहरु अहिले मेरो दिमागमा छैनन् पनि । यहाँ मैले यी सबै उल्लेख गरेको किन पनि भने अनलाइन कसरी विस्तार भइरहेको छ भन्ने कुराको बोधका निम्ति हो ।
म अहिले सामाजिक सञ्जालको नियमित प्रयोगकर्ता नै भन्छु आफूलाई । पछिल्लो समयमा फेसबुक र ट्वीटरमा अधिक झुम्मिने मैले यसको प्रयोगसँगै केही सकारात्मक र केही नकारात्मक पाटाहरु भेटिरहेको हुन्छु दिनानुदिन । मलाई थाहा छ, धेरै पहिलेदेखि नै मैले सुनेको हुँ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलार्ई खुर्पाको बिँड’, मलाई यस्तै लाग्छन्, यी सामाजिक सञ्जालहरु पनि । आजभोलि कति सजिलोसम्म भएको छ भने हामीलाई कसैको जन्मदिन परेको होस्, उसको घरसम्म पुगेर जन्मदिनको कामना व्यक्त गरिरहनु पर्ने अवस्था छैन, न त फोन वा एसएमएस नै गरेर पैसा सक्नुप¥यो । बस् बस्यो अनलाइनमा, चाहेजति शुभकामनाका शब्दगुच्छाहरु अर्पण ग¥यो । त्यतिमात्र होइन, कस्ता गुलाफ पठाउने हो वा ग्रिटिङ कार्डहरु, सब छानी–छानी पठाउन पाइन्छ । मलाई कस्तो समस्याबाट बचाएको छ फेसबुकले भने त्यो पनि सुनाऊँ । मेरी एक जना साथीको जन्मदिन मैले बिहानै कामना गर्नुपर्ने तर गरिनँ । सबै कुरा कहाँ सम्झिइन्छ र ! भुलेछु जन्मदिन भनेर नै दिउँसो फोन गरेँ, उनले उठाइन् । फेसबुकमा हेरेको त उसलाई कामना गर्नेहरुको लर्काे, ला अब फसाद भएन ! कारण यो पो रहेछ । अनि त मैले जन्मदिनको शुभकामनाका शब्दहरु अनलाइनबाट नै सापटी लिएँ र टाँसिदिएँ उसको भित्तालाई रंगीन बनाएर, बल्ल पो उसले फोन गरी धन्यवाद भन्दै ।
हो, आजभोलि अनलाइनमा कतिसम्म हुन्छ भने जन्मदिनको शुभकामना मात्र होइन, कहीँकतै रमाइलो भयो भने हामी त्यो रमाइलोमा नै सामेल हुनुपर्दैन, खालि एकैछिन अनलाइनमा बसे हुन्छ । युट्युवमा भेटिन्छन् चलचित्रहरु । कसैलाई मन पर्दैन भने गालीका वर्षाहरु इराक युद्धमा अमेरिकाले इराकी जनतामाथि वर्षाएका भन्दा पनि जोडले वर्षिन्छन् । नेपालमा यसको बढी नै प्रयोग भएको छ । यो भन्न खोजेको पनि होइन कि मैले राम्रो भन्नलाई प्रयोग नै भएको छैन तर पनि यसको प्रयोगमा सावधानी अपनाउनु पर्ने आवश्यकता खड्किएको चाहिँ अवश्य हो ।
सबै कुरा र सबै वस्तु आफैँमा सुन्दर र कुरुप भन्ने पनि हुँदैनन्, खालि यसको प्रयोग सुन्दर तरिका वा कुरुप तरिका कस्तो प्रकारले भएको छ, त्यसले नै यसको सुन्दरताको परिचय दिन्छ । विगतका वर्षदेखि फेसबुक वा सामाजिक सञ्जालमा मैले पाएको अधिक विषय भनेको नेपाली राजनेताहरुप्रतिको व्यङ्ग्य र गाली हो, जुन प्रधानमन्त्री बाबुराम भट्टराईले देशवासीका नाममा गरेको सम्बोधनमा समेत समेटेका थिए । अर्काे पाटो के पनि हो भने म कहाँ, कुन अवश्थामा छु भनेर मैले मात्र होइन, मेरा आफन्तहरुले सामाजिक सञ्जालको प्रयोगबाट बताएका छन् ।
मेरो आफ्नै घटना दोहो¥याऊँ । म सडक दुर्घटनामा करिब एक वर्षअगाडि परेको थिएँ, जुन फेसबुकको मेरो भित्तामा मेरा एक शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरेर कोरे । मैले घरमा यो कुरालाई जनाएको थिइनँ, मेरो दाइले मेरो भित्तो हेरेपछि थाहा पाएर मलाई फोन आयो । कस्तो छ तँलाई ? मैले सहजै जवाफ दिएँ । तँ त दुर्घटनामा परेको रहेछस्, घर किन थाहा नदिएको ? मैले फेरि अर्काे सहज जवाफ दिएँ, सामान्य हो केही भएको छैन । सामाजिक सञ्जालका कारणले अब केही पनि लुक्न सक्ने विषय रहेन भन्ने कुरा प्रस्टिएको छ । अब आफ्नो व्यक्तिगत जीवन केही रहेन, सब सार्वजनिक मह¤व राख्ने भए यहाँ । मैले के गर्दैछु ? भन्ने कुराको जानकार संसार हुने भएपछि म अब एक्लो जीवन भइनँ, संसार भयो । एक पटक मलाई याद छ, एक जना नामुद पत्रकारले भनेको एउटा अन्तर्वार्तामा– जबसम्म उसको मात्र वशमा यो विषय रहन्छ, त्यो उसको व्यक्तिगत जीवन रहन्छ तर अब त यो सार्वजनिक भयो, मैले थाहा पाएँ । म मार्फत अरुले थाहा पाए, अनि कसरी यो उसको व्यक्तिगत जीवन हो भनेर हामी बस्ने ? यसले सारा संंसारलाई नै प्रभाव पारेको छ ।
अर्काे यस्तै घटना, त्यो धेरै पुरानो पनि भएको छैन । नवलपरासीको गैँडाकोट अनलाइनमा निकै चर्र्चित वन्यो । कारण थियो, ‘किस प्रतियोगिता’ । केही उछृङ्खल युवायुवतीको हर्कत अनलाइनमा आयो । यहाँको एक विद्यालयको नाममात्र पानीमा मिलाएन अझ त्यसले नेपालकै नाममा बद्नामीको धब्बा दिएर गयो । यस्ता अनेकाँै घटना छन्, जो मैले पनि थाहा पाएको छु । सामाजिक सञ्जालको प्रयोग गर्ने सबैलाई ज्ञात भएकै हुनुपर्छ । एउटा पत्रकार भैखाएको नाताले पनि म अनलाइनमा अधिक रहन्छु, किनकि मैले मेरो स्वार्थलाई पनि हेरेको छु । कैयाँै पटक मैले सामाजिक सञ्जालबाट नै मेरा समाचारका विषयहरु प्राप्त गरेको छु । यो फाइदा मलाई अनलाइनले दिएको हो भन्न म किन पछि पर्ने ? यसको सकारात्मक पाटोलाई मैले ओझेलमा पार्ने छैन तर पनि यसको प्रयोगलाई सामाजिकीकरण भने अवश्य गर्नुपर्दछ । एक पटक फेसबुकमा यस्तो पनि आयो, कसैले कुनै लिङ्ग मेरो भित्तामा शेयर ग¥यो, मैले हेर्नासाथ मेरा सबै मित्रहरुलाई अश्लील तस्बिरहरु शेयर हुने । एक जना नचिनेकी महिलाले मलाई फेसबुकमा मित्रताका लागि हात अगाडि बढाइन्, मैले उनका बारेमा बुझ्ने कोसिस गरँे । मेरा धेरै साथी उनीसँग साथी बनेका रहेछन् । होला कोही मलाई पनि चिनेको तर मैले नचिनेको भनेर स्वीकार गरिनँ । त्यसको केही समयपछि मलाई काठमाडौँबाट फोन आयो, उसले सोधी– विधुरजी हो ? मैले सहजै जवाफ दिएँ । म... उसले परिचय दिई । अँ भन्नुस् तपाई भर्खरै फेसबुकमा साथी बन्नुभएको छ । मेरो मुखबाट ए मात्रको जवाफ निस्कन नपाउँदै मलाई उसले सोधी– तपाईंले मलाई चिन्नुहुन्छ ? मेरो सहजै उत्तर थियो– नाइँ । यो मेरो नाममा खोलिएको फेक एकाउन्ट हो । मलाई कसैले मेरो तस्बिर राखेर ब्ल्याकमेल गर्दैछ, साथीको सूचीबाट हटाइदिनू है भन्दै रूँदै उसले भनी । कस्तो जमाना आयो !
अर्काे समस्या सामाजिक सञ्जालमा आफूले प्रयोग गर्ने पासवर्ड पारदर्शी हुनु पनि देखिएको छ । अझ यो समस्या भर्खरका किशोरकिशोरीमा बढी नै  छ । आफ्नो मनले खाएको भन्दैमा यस्ता संवेदनशील पासवर्डहरु सहजै खोलिदिँदा पछि सम्बन्धमा नकारात्मक असर पर्दा समस्या उत्पन्न होला भन्ने सोच्दै सोचेको पाइँदैन । यस्तै उदाहरण पनि छ मसँग । मेरी एक जना मिल्ने साथीले अहिले फेसबुक नै चलाउन छाडेकी छ, कारण यही हो पासवर्ड लिक । उसको पासवर्ड आफ्नो प्रेमीलाई दिएकी रहिछ । पछि सम्बन्धमा दरार आउँदा उसको प्रेमीले पासवर्ड नै परिवर्तन गरिदियो र अश्लीलताले भरिदियो फेसबुकको भित्ता, अनि कसम खाएकी छ उसले कहिल्यै पनि फेसबुक चलाउँदिनँ भनेर । यस्ता समस्या अरु छैनन् भन्न सक्ने अवस्था नै छैन । हामीले हरेक विषयलाई सामान्य रुपमा लिँदा यो समस्या उत्पन्न भएको हो ।
यहाँ संसार छ तर त्यो संसारलाई सुन्दर बगैँचा बनाउने कि कुरुप ल्यान्डफिल्ड साइट, त्यो हाम्रै हातमा छ । सामाजिक सञ्जालले धेरैलाई खुसी दिएको छ, कतिलाई दुःख पनि । हामीले सुनेका छौँ, यसकै सहाराले वर्षाैंदेखि हराएको बुढेसकालको सहाराको लाठी भेटिएको छ भने कतिका सम्बन्धहरु यसैले चुडाइँदिएको पनि छ । सामान्य रुपमा भन्नुपर्दा सकारात्मक र नकारात्मक पाटाहरु कसमा हुँदैनन् र ? एउटा औषधिमा पनि साइड–इफेक्ट त हुन्छ नै तर पनि यसलाई हामीलाई औषधिको रुपमा लिनुपर्छ । पेनकिलर खाएपछि मानिसको दुःखाइ कम हुन्छ तर त्यही पेनकिलरलाई गलत तरिकाले प्रयोग गरियो भने मानिस कुलतमा फस्छ । हामी कुलतमा फस्ने कि समस्याको समाधानतर्फ लाग्दै सुन्दरताको खोजी गर्ने, त्यो हामै्र हातमा छ ।
नेपालमा यसका प्रयोगकर्ताहरु बढिरहेको सन्दर्भमा समस्या के पनि हो भने व्यवस्थित साइबर कानुन बन्न सकेको छैन । बनेका कानुन पनि कार्यान्वयनमा आउन सकेका छैनन् । अब हामीले यसको प्रयोग रोक्नु त उचित छैन तर पनि प्रयोगमा भने सचेतता हुनु जरूरी छ । हामीले पहिले नै कानुनी अस्पतालको खोजी किन गर्ने ? हाम्रा घरआँगनमा अझ भनौँ, हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा नै सामान्य प्राथमिक वा घरेलु उपचारहरु छन् भने तिनको प्रयोग हामीले किन नगर्ने ? 

Friday, August 31, 2012

कथाले नभई पात्रले थ्रिलर फूलस्टप


विधुर ढकालचलचित्र ः फूलस्टप
कलाकार ः सविन श्रेष्ठ, विनिता वराल, कमलकृष्ण पौड्याल, गजेन्द्र रञ्जित
निर्देशक ः कमलकृष्ण पौड्याल
तह ः १
full_stop_love
शुक्रबारबाट नेपाल भर रिलिज भएको नेपाली चलचित्र पूmलस्टम आँफैमा थ्रिलर र सस्पेन्स भएको भनेर नायीका विनिता वरालले दावि गरे पनि झिनो कथावस्तु वोकेको चलचित्र आँफैमा थ्रिलर नै भनेर भन्न मिल्ने खालेको छैन् । सामान्य रुपमा कथालाई भन्दा एक वाक्यमा टुङ्ग्याउन सकिन्छ ।
कथाले बोेकेको विषयलाई प्रस्तुत गर्ने शैली आफ्नै होला भन्ने मत आए पनि कति सम्म अतिरञ्जित बनाउने भन्ने कुरा मात्र हो । चलचित्रलाई तर्साउने गरेर संगीत भरिएको पाइन्छ । गोर्खाको सामान्य कलेजका विद्यार्थीहरुको विरोधका कारण लागुऔषध प्रयोग गर्दा गर्दै समातिएका कमलकृष्ण लाई प्रहरीले पक्राउ गरेपछि उसकी श्रीमती र छोरीको आत्महत्या गरेका कारण विक्षिप्त कमलकृष्णले खलनायीका विनिताको साथमा पहिलेका विद्यार्थीहरुलाई मार्ने अभियान नै चलाएको पाइन्छ ।
चलचित्रमा भयानक दृष्य देखाएर आम दर्शकलाई तर्साउन खोजिएको छ । चलचित्रले सकरात्मक शन्देश के दिन खोजेको भन्ने नै प्रस्तुत गर्न नसक्नु पनि यसको मुख्य कमजोरी हो । चलचित्र पर्दशन अगाडि जति सुकै वखान भए पनि प्रचार गरिए जस्तो भने बन्न सकेको छैन् । चलचित्रलाई १६ वर्ष भन्दा मुनिका दर्शकले हेर्न नपाउने भनेर चलचित्र विकास वोर्डले प्रमाणपत्र दिए पनि यसको अवस्यक थियो कि थिएन यो फेरीपनि सोचनीय विषय नै हो ।
चलचित्रको अधिकाशं कथा गोरखाको कुनै एक गाँउमा घुमेको छ । पात्रहरु सबै गोरखाका नै हुन् । कथाको सुरुवातलाई हास्यरस दिन खोजिएको छ । यसले दर्शकलाई केही हसाए पनि त्यो पनि कत्तिको सान्दर्भिक छ यो निमार्ण पक्षले नै बुझ्नुपर्ने हो । कथा काठमाडाँैबाट सुरु हुन्छ । सबै विद्यार्थीहरु गोरखाका हुन भन्ने चलचित्र हेर्दै गर्दा वुझिन्छ भने चलचित्रको सुरुवातमा उनीहरु काठमाडांैको घरबाट भागेर विवाहका लागि गोरखा पुगेका छन् । के थ्रिलर भनेको यही हो त रु कथामा नै दर्शकलाई झुक्याउनु ।
चलचित्रको अर्को दुर्वल पक्ष यसको छायङ्कन नै हो । रातको समय देखाउन खोजिएका दृष्यहरु दिनका जस्ता देखिन्छ । चलचित्रमा जंगलकोवीचमा छायांकन गरिएको दृश्यमा रातको झल्को दिन सक्दैन् । चलचित्रमा केही सवल पक्षहरु नभएका भने होइनन् । तर पनि यो नगन्य मात्रामा रहेको छ । चलचित्रमा संगीत सवल पक्ष हो । त्यस्तै चलचित्रमा कलाकारहरुले निभाएको भुमिकालाई न्याय नै गरेका छन् ।
चलचित्रमा केहीमात्रामा अश्लिल र भद्दा शव्दको प्रयोग गरेर युवालाई आकर्षीत गर्न खोजिए पनि कथाले आकर्षण सक्दैन । यो चलचित्र हेरिसकेका दर्शकहरु प्रचारको भरमा फेरी पनि सिनेमा घरहरुमा नेपाली चलचित्र हेर्न भने जानलाई चलचित्रले फूलस्टप नलगाउला भन्न सकिन्न । विभिन्न शहरहका सिनेमा घरहरुमा चलिरहेको यस चलचित्रलाई हेर्ने सोच वनाउँदै हुनुहुन्छ भने एक पटक सोच्ने की रु

Wednesday, August 29, 2012

अनलाइनमा गैँडाकोटको चर्चा, हाम्रो चरित्र हत्या गर्न खोजियोः सरस्वती

विधुर ढकाल
गैँडाकोट । केही दिन देखि नवलपरासीको गैँडाकोट अनलाइनमा नेपालबाट निकै खोजिएको शव्द बनेको छ । अनलाइनमा भिडियो अपलोड गर्ने माध्ययमाको रुपमा रहेको युट्यूवमा गैँडाकोट किस नाममा अपलोड गरिएको स्थानीय युवाहरुको अश्लिल भिडियोका कारण चर्चा पाएको हो ।
स्थानीय सरस्वती निकेतन स्कुलमा पढ्ने विद्यार्थीहरुको भिडियो भनेर अपलोड गरिएको भिडियोलाई करिव चालिस हजारले हेरेको बताइएको छ । उक्त भिडियोमा देखिएका युवकहरु सरस्वती निकेतन वोड्ङि स्कुलसँग संवन्धित नभएको भन्दै विद्यालयले आफ्नो प्रतिष्ठामाथि प्रहार गर्न खोजेको आरोप लगाएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएको हो ।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले विद्यालयसँग सम्वन्धित नभएको भिडियोलाई विद्यालयको नाम जोडेर प्रकाशित गरिनु आपत्ति जनक भएको बताउनुभयो । उहाँले भिडियोमा देखिएका दुई जना किशोरीहरुलाई विद्यालयले गत वर्ष नै खराव आचरणका कारण निस्कासन गरेको जानकारी दिनुभयो । ‘भिडियोमा देखिएका दर्शना गुरुङ्, कविता गोतामेलाई हामीले गत वर्ष नै निस्कासन गरेका हौँ’, उहाँले भन्नुभयो, ‘अर्का दूई जना किस्मत गुरुङ र अजित भुजेल पनि गत वर्ष नै विद्यालयबाट प्रवेशीका दिएर निस्किएका हुन् ।’ आफ्नो विद्यालयबाट निस्किएका विद्यार्थीहरु कहाँ के गरिरहेका छन् त्यसको जिम्मेवारी आँफूले लिन नसक्ने उहाँको भनाई थियो ।
भिडियोमा देअिएका अन्य किशोर किशोरीहरु गैँडाकोटका अन्य विद्यालयमा अहिले पनि हाजिर गरेर पढिरहेको उहाँको दावि छ । ‘हाम्रो मात्र नाम किन आयो यसमा संका छ’, कँडेलले प्रश्न गर्नुभयो, ‘जुन विद्यालयमा अहिले पनि तिनीहरु पढिरहेका छन् ति विद्यालयको नाम किन आएन ?’ आँफूमाथि अन्याय भएको भन्दै विद्यालयले साइवर क्राईम अन्तर्गत मुद्दा हाल्ने जनाएको छ । भिडियोमा देखिएका दुर्गा, टेकवहादुर रोजीना र रञ्जना कुमाल तथा खिच्ने अभिनास विरुद्ध पनि उजुरी हाल्ने प्राचार्य कँडेलले बताउनुभयो । कुमाललाई प्रहरी त्यस्तै प्रकृतीको अपराधमा पटक पटक प्रक्राउ गरेर छाडेको समेत उहाँको दावि छ ।
नेपालकै वदनाम हुने गरेर यसरी अनलाइनको माध्ययमा भिडियो अपलोड हुन दुर्भाग्य  हो । करिव दुई महिना अगाडि ‘खोलामा किस खाँदै’ भन्ने शीर्षकमा अपलोड गरिएको भिडियोलाई युट्यूवले बुधबार मात्र हटाएको छ । जसलाई करिव चालिस हजार भन्दा वढिले हेरेका थिए ।
सोही भिडियोलाई बुधवार नै सपना अग्रवाल नामको प्रयोगकर्ताले किस कम्पिटिसन इन गँैडाकोट नेपाल शीर्षकमा अपलोड गरिएको छ जसलाई यो समाचार तयार पार्दासम्म करिव पाँच हजार भन्दा बढिले हेरिसकेका छन् । विभिन्न नाममा अपलोड गरिएका उक्त भिडियो हरु युट्यूवले हटाउँदै गर्दा पुन सोही भिडियो अर्काे नाममा अपलोड हुँदै गएको छ ।
यस विषयमा केही दिन पहिले निवेदन परेको र कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । ‘केही समय अगाडि पिडितका अभिभावकले आएर उजुरी हाले पछि भिडियो डिलिट गर्ने काम भएको छ’, कार्यालयका प्रमुख डिल्लिनारायण पाण्डेले भन्नुभयो । सरस्वती निकेतनको तर्फबाट कुनै पनि उजुरी नपरेको समेत उहाँले जानकारी दिनुभयो । उजुरी परे कारवाही अगाडि बढाउने उहाँको भनाई छ ।

Saturday, August 25, 2012

केटी पट्याउन नक्कली डाक्टर बन्ने युवक पक्राउ

बुटबल । होस् गर्नुहोस्, एप्रोन र घाँटीमा स्टेटहोस्थकोप लगाउने व्यक्ति नक्कली डाक्टर पनि हुन सक्छ । रुपन्देहीको देवदह मेडिकल कलेजमा शुक्रबार यस्तै विरामी जाँच्दै गरेका डाक्टर नक्कली ठहरिएका छन् । आफूले मनपराएकी युवतीसँग विवाह गर्न नक्कली डाक्टर बनेर बिरामीको उपचारमा गर्ने एक युवक दुई सहयोगीसहित पक्राउ परेका छन् । डाक्टरलाई सजिलै छोरी दिने सामाजिक मान्यताको फाइदा उठाउँदै अभिभावकका अगाडी आफु डाक्टर भएको प्रमाणित गर्न नवलपरासी रामग्राम ४ का लक्ष्मण शर्माले ‘डाक्टर’को नाटक गरेको खुलेको हो । आफुले मागेको युवतीका अभिभावकसँग आफु डाक्टर भएको बताए पनि उनीहरुले नपत्याएपछि शर्माले अस्पतालमै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् !
शुरुमा बिरामी बनेर मेडिकल कलेजमा छिरेका उनीहरु डाक्टरको पोशाक लगाई ब्ल्डप्रेसर नाप्ने उपकरणसहित अन्य विभिन्न उपकरण लिएर बिरामी उपचार गर्ने वार्डहरुमा छिरेर स्वास्थ्य जाँज गर्न थालेपछि त्यहाँ कार्यरत कर्मचारी तथा नर्सहरु अलमल्ल परेका थिए । अस्पतालमा नयाँ डाक्टर आएको बारेमा सोधखोज गर्दा कोही नआएको भन्ने जानकारी आएपछि नक्कली डाक्टर भएको आशंकामा अस्पतालले प्रहरीलाई खबर गरेको थियो

Wednesday, August 22, 2012

को हुन् सिनेमाका वेश्या पुरुष ?

नेपाली चलचित्रको पर्दामा वेश्या पुरुषको खोजी भएको छ । प्रायः जसो कर्ल गलको कथामा सिनेमा वन्दै आएपनि अब वेश्या पुरुषको कथामा सिनेमा निर्माण हुने भएको छ । वेश्या पुरुषको कथामा वन्न लागेको चलचित्र ‘जिगीलो’ को वुधवार काठमाण्डौमा शुभमुहुर्त गरीएको छ । शुभमुहुर्तको निर्देशन निर्माता संघका अध्यक्ष राजकुमार राईले गरेका थिए । चलचित्रका संगीतकार अर्जुन पोखरेलले क्ल्याप हानेको शुभसाईत समारोहमा नायक प्रभावकर श्रेष्ठ र नव नायिका माही सिलवालले संवाद वोलेका थिए ।


चलचित्रमा पुरुष वेश्याको भुमिकामा नायक प्रभावकर श्रेष्ठ देखिदैछन् ।  चलचित्रको छायांकन काठमाण्डौ, मुम्बई, गोवा र सिंगापुरमा गरीने छ । २० दिन काठमाण्डौमा छायांकन गरेर चलचित्रको युनिट सिंगापुर पुग्ने छ । तिलक ईन्देनको निर्देशनमा वन्न लागेकोे सिनेमालाइ राजु श्रेष्ठ र अरुणिमा श्रेष्ठले निर्माण गर्न लागेका हुन् । चलचित्रमा रत्न कार्कीको छायांकन, अजय स्याङताङ र सुमन महर्जनको नृत्य निर्देशन रहने छ ।
चलचित्र ‘जिगीलो’ एड्सको कथामा वन्ने छ । वाध्यताले गर्दा पुरुष वेश्या बनेको एक युवकको जीवनमा आउने मोडहरुलाई जिगीलोले समेट्ने जानकारी शुभसाईत समारोहमा गराईयो । चलचित्रलाई विदेशमा समेत देखाउने योजना निर्माण पक्षको छ ।vie: onlinekhabar

बाँधन बाँध…(फिल्म धुँवा) | Online Entertainment News

बाँधन बाँध…(फिल्म धुँवा) | Online Entertainment News

वर्ल्ड प्रिमियर: ‘नबोलेनी हाँसी राख न’ | Online Entertainment News

वर्ल्ड प्रिमियर: ‘नबोलेनी हाँसी राख न’ | Online Entertainment News

सो सिम्पल… | Online Entertainment News

सो सिम्पल… | Online Entertainment News

Monday, August 20, 2012

सुरेन्द्र फुयालले मलाई महिनावारीको समयमा पनि छाडेन

संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान–श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएरमात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.)
० सबैभन्दा पहिला तपाई आफ्नो व्यक्तिगत परिचय दिन सक्नुहुन्छ?
– मेरो नाम चरिना काब्रीडो हो। म एक फिलिपिनो केटी हुँ। म हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटार लाजिम्पाटमा बस्छु। म फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बै.क केन्द्रीय कार्यालयमा बैंकको परियोजनामा सन्चार परामर्शदाता सामाजिक मिडियामा परामर्शदाताको रुपमा काम गर्थें। मानवीय स्वभावनै हो, प्रेम, यौन र विवाह। यस्तै परिबन्दमा म नेपालको एकजना नाम चलेको पत्रकार सुरेन्द्र फुयालसंग प्रेम र यौन हुदै विवाहको चरणमा पुगंे। त्यहीँबाट मेरो जीवनमा धेरै उतारचढावहरू आए, जसका कारण आज मेरो जीवन लगभग तहसनहस भएको छ।
० सुरेन्द्र फुयालसंग चाहिं तपाइको भेट कसरी भयो, जसका कारण तपाइको जीवन तहसनहस भयो?
– त्यो भेटको ठूलै कहानी छ। म पहिले क्लिन इनर्जी नेपालमा काम गर्थें। जुन सन् २००९ सालतिरकै कुरा हो। त्यो एसियाली विकास बैंकले सहायता गरेको परियोजना हो। यसमा काम गर्ने सिलसिलामा मैले सन् २००९ सालमै डिसेम्बर महिनातिर आफ्नो रिसर्च स्टोरी लेखेर यहाँको पत्रिकामा प्रकाशित गराएँ। त्यो लेखको तलतिर मेरो इमेल आइडी पनि राखिएको थियो। त्यही इमेलको आधारमा सुरेन्द्र फुयालले मलाई मेल गर्न थाल्यो। उसले मेरो रिसर्च मन पराएँ भन्यो। उसले शुरुमा व्यावसायिक कुराहरूनै गर्‍यो। पछि विस्तारै व्यक्तिगत कुराहरू पनि गर्न थाल्यो।
० व्यक्तिगत कुरा भन्नाले कस्ता कस्ता कुराहरू हुन थाले तपाइहरूबीच?
– शुरुमा उसले सप्ताहन्तमा कहाँ ह्याङ आउट गर्छ्यौं भनेर प्रश्न गर्दथ्यो। काम सकेपछि केही समय त यसो इन्जोइ गर्नुपर्छ भन्न थाल्यो। मैले ह्याङ आउट गर्ने ठाउँ एभेरेष्ट होटल थियो। त्यहाँ मेरा धेरै फिलिपिनो साथीहरूसंग म ह्याङ आउटका लागि जाने गथर्ंे। त्यसपछि ऊ पहिलो पटक सन् २०१० को मार्च महिनामा मेरा साथीहरूसंगै एभरेष्ट होटलको जमघटमा सामेल भयो। त्यसपति हामीबीच नियमित भेटघाट हुन थाल्यो। अनि हामी बिभिन्न ठाउँमा डिनर जान थाल्यौं। हामी साइक्लिङ पनि जान थाल्यौं।
० भनेपछि त, शुरुवातनै रमाइलो ढंगले भएको रहेछ नि होइन?
– त्यस्तै भन्नुपर्‍यो। हामी धेरै ठाउँमा साइक्लिङ गयौं, उसले नै मलाई यसबारेमा जानकारी गराएर सहभागी बन्न प्रेरित गर्थ्यो। काठमाडौं नजिकका धेरै गाउँ र डाँडाहरू हामीले घुमेर भ्यायौं। करीव तीन महिनाकेा यो क्रमपछि उसले मलाई प्रेम प्रस्ताव राख्यो। म पनि विस्तारै उसंग नजिक भइसकेकी थिएँ। मैले उसलाई उसको बैबाहिक स्थितिबारे सोद्धा स्पष्ट जवाफ दिन चाहेन। पछि उसले आफू विवाहित भएको तर श्रीमतीसंग डिभोर्स गरेर बसेका जवाफ दियो। उसले मसंगै बस्ने प्रस्ताव राख्यो। तर म यहाँ नेपाली परिवारसंग बसिरहेकी थिएँ। घरबेटी फिलिपिनो महिला जो नेपालीसंग विहे गरेकी। मैले घरबेटीसंग अनुमति लिएपछि सुरेन्द्र र म श्रीमान श्रीमतीको हैसियतले एकै कोठामा बस्न थाल्यौं।
० भनेपछि बिहेअघि नै तपाईंहरूको सेक्स सम्बन्ध रह्यो?
– वस्तवमा तपाइहरूको हिन्दू संस्कारमा जस्तै हाम्रो क्रिश्चियनहरूको पनि रोमन क्याथोलिक संस्कारमा विहेअघिको सेक्स बर्जित छ। तपाई विश्वास गर्नुस्, सुरेन्द्रसंग सेक्स सम्बन्ध राख्नु अघिसम्म म भर्जिन (–कुमारी) थिएँ। उसले मलाई विहे गर्ने आश्वासनमात्र दिएन, अब हामी श्रीमान–श्रीमती भयौं भनेपछि घरबेटीलाई साक्षी राखेर हामी संगै बस्यौं र हामीबीच सेक्स सम्बन्ध यो।
० तर फिलिपिनो केटीहरूको त विहे अघिनै कुमारित्व भंग भइसकेको हुन्छ भन्छन् नि?
– तपाइ विश्वास गर्नुस्, म सुरेन्द्र फुयालसंग सम्बन्ध राख्नु अघिसम्म भर्जिन थिएँ। फिलिपिनो केटीहरूको बारेमा जो तपाई कुरा गर्दै हुनुहुन्छ, त्यस्तो पटक्कै होइन। क्याथोलिकहरू कुमारित्वका विषयमा निकै कठोर छन्। मेरै कुरा गर्नुहुन्छ भने म पढाइमै व्यस्त भएँ, मैले व्वाइफ्रेण्ड बनाउने समयनै पाइँन। पछि काममा व्यस्त भएँ। एकैचोटी नेपाली युवक सुरेन्द्र मेरो जीवनमा आयो। उसले आफू नेपालको चर्चित पत्रकार भएको र सबैले चिन्ने भएकाले धोखा दिन नसक्ने कुरा बतायो। म पनि उसंग प्रभावित भएँ र हामीबीच सबै खाले सम्बन्ध कायम भयो।
० एउटै कोठामा बसेपछि तपाइहरू श्रीमान–श्रीमती भइहाल्नुभयो होइन?
– त्यसपछि ऊ राती बीबीसी नेपाली सेवाको काम सकेर सधैं मेरोमा आउन थाल्यो। कहिले खाना आएर सेक्स गरेपछि मध्यरातमा हिड्थ्यो। अधिकांश समय मसंगै बस्थ्यो। यसै सिलसिलामा उसले मनिला घुम्ने चाहना राख्यो। मैले पनि उसलाई मेरो परिवारमा चिनाउने अवसर पाएँ। हामी मनिलाका धेरै टापुहरू पनि घुम्यौं। एक प्रकारले त्यो हाम्रो हनिमुन थियो। उसले त्यहाँ मेरो परिवार सबैसंग भेटेर मलाई विहे गर्ने कुरा गर्‍यो। मेरा अभिभावकहरूले पनि उसलाई मन पराए। उनीहरूले सुरेन्द्रलाई ज्वाइँकै मान्यता दिए।
० यति नजिक भइसकेको तपाइहरूको सम्बन्ध के कारणले एकाएक बिग्रियो त?
– मैले उसलाई विश्वास गरें। तर उसले मलाई धोखा दिएको रहेछ। उसले श्रीमतीसंग डिभोर्स भएको भन्यो तर उसको डिभोर्स भएको रहेनछ। जब म गर्भवती भएँ, उसले गर्भपतनको प्रस्ताव राख्यो। मैले गर्भपतन गर्न नमानेपछि मात्र उसको असलियत छरपष्ट भयो।
० यसको मतलब सेक्स सम्बन्धमा मात्र तपाइहरूबीच कुनै समस्या थिएन, तर जब गर्भको कुरा आयो त्यसपछि समस्या भयो होइन?
– वास्तवमा जब हामी संगै बस्न थाल्यौं, मैले शुरुदेखिनै बच्चा चाहेकी थिएँ तर उसले पर सारिरहेका थियो। उसले मनिला गएर मेरो परिवारलाई समेत भेटेपछि मैले बच्चा जन्माउने आफ्नो इच्छा राखें। पहिले पहिले परिवार नियोजनका साधन प्रयोग गर्थ्यो। तर मैले बच्चा जन्माउने कुरा गरेर उसलाई ढिपी गरें। सन् २०११ को सेप्टेम्बरमा हामी मनिलाको एउटा टापुमा घुम्न गएका बेला म गर्भवती भएँ। खासमा म गर्भवती भएको कुरा नोभेम्बरमा मात्र थाहा भएको हो। जब म गर्भवती भएँ , त्यसपछि मैले उसलाई अब तिम्रो घरपरिवारलाई भेटाउ, मलाई उनीहरूको माया ममता चाहिन्छ, म उनीहरूसंगै बस्छु भने। त्यसपछि सुरेन्द्र मसंग बाँउठिन थाल्यो। उसले अहिले नभेटौं भन्यो। उसले मलाई गर्भ तुहाउने कुरा गरेपछि मलाई उप्रतिको शंका जाग्यो। अनि मैले उसको फेसबुकमा साथीहरूमार्फत खोज्दै जाँदा ऊ विवाहित, श्रीमती र परिवारसंगै रहेको थाहा पाएँ। उसले मलाई आफ्नो फेसबुक छैन भनेर ढाँटिरहेको थियो।
० तपाइले त्यो पत्ता लगाएपछि के भयो?
– मैले सबै कुरा पत्ता लगाएपछि तिमीले किन ढाँटेको भनेर सोधें। उसले ‘म मेरो श्रीमतीसंग सन्तुष्ट छैन, सेक्स गरे पनि प्रेम हुदैन’ भन्यो। उसले आफ्नो श्रीमती निकिता पौडेल आफ्नो लागि भन्दा पनि परिवारका लागि मात्र राखेको बतायो। तर पछि हाम्रो सम्बन्ध र म गर्भवती भएको कुरा उसको परिवारले पनि थाहा पाएपछि कथा अर्कोतिर मोडियो। त्यतिबेला म मनिलामा थिएँ।
० त्यति गर्दा पनि सुरेन्द्रलाई तपाइले छाड्नुभएन होइन?
– मैले छाड्ने त कुरै थिएन, किनकि मैले त उसलाई मेरो कुमारित्व सुम्पिएकी थिएँ। म डिसेम्बरमा नेपाल आएपछि उसले मलाई खुट्टा समातेर माफी माग्यो। म वर्वाद हुन्छु, मेरो सामाजिक प्रतिष्ठा सकिन्छ, त्यसैले तिमी बच्चा फाल भन्यो। नयाँ बानेश्वरको बेकरी क्याफेमा हाम्रो त्यो संवाद धेरैले सुनेका थिए, किनकि म आक्रोशित भएकी थिएँ। उसले त्यो बच्चा पनि नस्वीकार्ने र मलाई श्रीमती पनि नस्वीकार्ने भनेपछि म कराउँदै सडकाम निस्किएँ। सबैले मलाई सडकमा कराएको देखेर सोद्धै थिए। तर म विक्षिप्त भएकी थिएँ।
० सुरेन्द्रले श्रीमती पनि स्वीकार गरेन, बच्चा पनि नजन्माउ भनेपछि तपाइको अघिल्लो कदम के थियो?
– म विक्षिप्त भएर मनिला फर्किएँ। मेरो परिवारलाई सबै कुरा जानकारी गराएँ। यसबीचमा उसले मेरो विरुद्ध धेरै घृणित खेल खेलेछ। मेरो विरुद्ध एडीबी हेडक्वर्टरमा मेल पठाएर उल्टै मलाई बेश्या बनाएछ। मेरो जागिर पनि त्यही कारणले गयो। उसको परिवार बिगारेको आरोप ममाथि लगायो। मलाई ५ महिनाको गर्भवती भएको बेला एडीबीले जागिरबाट हटायो। यसबीचमा सुरेन्द्रकी बहिनी भन्ने निर्जला र निर्मला फुयालले पनि मलाई बच्चा फाल, हाम्रो दाइको जीवनबाट टाढा जाउ भनेर धेरै धम्की दिए। तर मैले सुरेन्द्रको कारणले मेरो कुमारित्व पनि गुमाएँ र जागिर पनि गुमाएँ। त्यसपछि मैले उसको विरुद्ध लडाइ लड्ने अठोट गरें।
० फिलिपिन्सबाट नेपाल फर्किएर लडाइँ शुरु गर्नुभयो होइन?
– वास्तवमा मेरो जीवनमा धेरै नराम्रो घटना भयो। मैले जसरी पनि आफ्नो अधिकार स्थपित गर्नपर्छ भनेर लडाइँ शुरु गरें। लडाइ लड्दा लड्दै मेरो बच्चा खेर गयो। मैले त्यसबीचमा नेपालमा केही वकिलहरूसंग सल्लाह गरंे। मलाई मेरो परिवारले समर्थन दियो। म अहिले सुरेन्द्र विरुद्ध अंश मुद्दा, मानाचामलको मुद्दा र साइबर क्राइम सम्बन्धी मुद्दा लडिरहेकी छु। उसले अहिले मलाई बिभिन्न ढंगले तर्साउने, सताउने र मेरो विरुद्ध नेपालका बिभिन्न संयन्त्र प्रयोग गर्ने प्रयास गरिरहेको छ। तर मलाई विश्वास छ, नेपालको कानुनले सत्यको संरक्षण गर्नेछ र यहाँको अदालतले पीडितलाई न्याय दिनेछ।
० सुरेन्द्र र तपाइबीच शारीरिक सम्बन्ध भयो, गर्भ पनि रह्यो, त्यसबीचमा तपाइहरूबीच धेरै सम्बन्ध रहे, ती सम्बन्ध सम्भि्कदा अहिले कस्तो लाग्छ?
– शुरुवाती सम्बन्धहरू राम्रै थिए। तर पछि उसले आफ्नो हर्कत देखाउन थालेको थियो। ऊ मसंग सेक्स बाहेक केही पनि चाहदो रहेनछ, जबकि म उबाट प्रेम र असल पति चाहन्थें। उसले मलाई धेरै पटक यौन दुर्व्यवहार गरेको थियो। तर मैले आफ्नो श्रीमान जस्तो सोचेर चुपचाप सहे । ऊ प्रायःजसो अप्राकृतिक मैथुन गर्न रुचाउथ्यो। अनि मलाई अप्ठेरो हुने गरी बिभिन्न आसनमा सेक्स गर्न बाध्य पार्थ्यो। तर पनि मैले उसलाई झेलिरहेकी थिएँ। यतिसम्म कि म महिनावारी भएर रक्तश्राव भइरहेका बेला पनि ऊ झम्टिथ्यो। एकपटक शिवपूरी हुदै चिसापानी गएकोबेला होटलमा उसले मलाई यौनसम्पर्क राख्न खोज्यो। म महिनावरी भएको छु भन्दा पनि छाडेन। जबर्जस्ती गर्न खोजेपछि मैले कोठामा ढोकाको चुकुल लगाएर बस्न परेको थियो। किचनमा, बेडरुममा, बाथरुपममा उसले जहाँ चाह्यो त्यहीँ तयार हुनुपर्ने रोबोट जस्तो बनायो मलाई। ऊ बास्तवमा सेक्सको बेलामा जंगली मान्छे जस्तो व्यवहार गर्थ्यो। उसंगको सेक्स मलाई यातना लाग्न थालेपछि मैले मेरी एकजना फिलिपिनो साथी जो अनमिनमा काम गर्थिन् उनलाई भनेकी थिएँ। उनले मलाई पुलिसमा जाहेर गर्न भनेकी थिइन्। तर मैले नै श्रीमान सम्झेर उजुरी गरिन।
० अहिले पनि तपाइ नेपालमै हुनुहुन्छ, तपाइको उद्देश्य अब के हो?
– मेरो प्रष्टै छ, म नेपालकै अदालतबाट न्याय चाहन्छु। म उसलाई सजाय दिलाउन चाहन्छु र अदालतले मलाई न्याय दियो भने उसंग डिभोर्स लिएर क्षतिपूर्ति पाउन चाहन्छु। म नेपालमा यही मुद्दाका लागि बसिरहेकी छु। मलाई यो लडाइमा धेरै नेपालीहरूको सहयोग मिलेको छ। बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ। म यो मुद्दालाई लिएर सर्बोच्च अदालतसम्म जान तयार छु। सुरेन्द्रले मेरो इज्जतमात्र होइन लाखौ रुपैयाँ पनि सिध्यायो। उसको कट्टुदेखि मोजासम्म, सबै कपडा मैले किनिदिन्थें। अझै पनि ती उसले लगाउने गरेका कपडा मेरो कोठामा सुरक्षित छन्। मेरो बच्चा त खेर गयो, तर म अब विहे गर्दिन, बरु नेपाली बच्चा एडप्ट गरेर बस्न चाहन्छु। नेपालमा धेरै राम्रा मान्छेह छन्। ती मान्छेको अगाडि सुरेन्द्र जस्ता धोकेबाजलाई सजाय दिलाउनु मेरो उद्देश्य हुनेछ। अनि नेपालमा महिला मैत्री कानुन बनाउनुपर्छ भन्ने मेरो भनाइ हो, जसले गर्दा अरुले मेरो जस्तो पीडादायी अवस्था भोग्न नपरोस्।
साभार साँघु साप्ताहिक

‘नेपाली चलचित्रमा नयाँ आयाम ल्याउने छु’

चलचित्र आलेख

 ‘भविष्यमा नेपाली चलचित्रमा नयाँपन ल्याउने सोच छ मेरो । म शिव रेग्मीजस्तै सफल निर्देशक भएर चलचित्रमा उदाउन चाहन्छु । मसँग सबै खुबी छ तर पनि मेरो मर्मलाई अहिलेसम्म कसैले बुझेनन्’– विगत ६÷७ वर्षदेखि मोफसलमा आफ्नो निर्देशन कला देखाएर मोफसलकै कान्छा निर्देशकको ताज पहिरिन सफल २२ वर्षीय पप्पु रौनियारको भनाइ हो यो ।
 
 बाबा गौरीशंकर र प्रभावतीदेवीका सात सन्तानमध्ये पाँचौँ सन्तान हुन् पप्पु । कक्षा १० सम्म अध्ययन गरेका पप्पुलाई पढाइभन्दा चलचित्रतिरको भूत लागेपछि उनले एउटा निष्कर्ष निकाले । उनले भन्छन्– ‘मेरो भविष्य चलचित्र क्षेत्रतिर नै छ । मलाई पढाइलेखाइभन्दा पनि यसै क्षेत्रले अगाडि बढाउन मद्दत गर्दछ ।’ यस्तो सोच लिएपछि उनले आफ्नो पढाइलाई चटक्क माया पनि मारे अनि पुगे चितवनको एक स्थानीय बेसो च्यानलको ढोका ढकढक्याउन । जब उनी त्यहाँ पुगे, जम्मा उनको उमेर १३ वर्षको थियो । त्यति बेला राम नेपालले स्थानीय कलाकारलाई लिएर टेलिचलचित्र बनाइरहेका थिए, जहाँ त्यो टेलिफिल्मको सुटिङ हुन्थ्यो । उनी त्यहाँ पुगेर राम नेपालको कामलाई नियालिरहेका हुन्थे ।
उनको मनले चिताएको नै बेसो च्यानलले पूरा गरिदिने भयो । जब बेसो च्यानलमा ‘तिल्के माया झिल्के’को अडिसन दिन पुगे, जहाँ उनी पास भएर एउटा सानो कमेडी रोलमा आफ्नो अभिनय देखाउन सफल भए, जसमा राम नेपाल नै निर्देशक थिए । उनले आफूसँग भएको खुबी पनि त्यहाँ प्रस्तुत गर्ने आधार बन्यो । उनले त्यसै टेलिचलचित्रमा राम नेपालको सहयोगी बनेर काम गर्ने अवसर पाए ।
तुरून्तै तिलक नेपालद्वारा निर्मित ‘इन्द्रधनुष’मा सहनिर्देशक भएर काम गरेपछि उनले अझसम्म पछाडि फर्केर हेर्नु परेको छैन । ‘इन्द्रधनुष’को सहनिर्देशक भएता पनि उनी एक्लैले त्यसको काम सके र मोफसलमा ‘इन्द्रधनुष’ राम्रो भएपछि उनलाई मोफसलका टेलिचलचित्रका निर्माताबाट अफर आउन थाल्यो ।
एकाएक गर्दै ‘भावना’, ‘परिवर्तन’, ‘मेरो दसैँ हाम्रो दसैँ’, ‘सिरिन्ज’जस्ता सामाजिक घटनाप्रधान टेलिचलचित्र सकेका छन् उनले, जुन मोफसलमा हिट पनि भयो । त्यसपछि उनी शंकर घिमिरेको चलचित्र ‘तुलसी’मा सहायक निर्देशक भए । अहिले चलचित्र ‘लफडा’मा सहनिर्देशन र ‘दि रेन्ज’को संवाद पनि लेखिरहेका छन् ।
उनलाई निर्देशकमात्र भएर चित्त बुझेन छ, उनी अहिले कथा÷पटकथा अनि संवादमा पनि खुब रूचि राख्ने गर्दछन् । पहिला–पहिला उनी स्कुल जाने निहुँमा भागेर कहिले नगरवन त कहिले टिकौली जंगलको कुनामा बसेर चलचित्रको स्क्रिप्ट तयार गर्ने गर्दथे । उनले आफूले लेखेका स्क्रिप्ट शिव रेग्मी अनि किशोर चौधरीलाई समेत देखाउन भ्याएछन्, जसबाट उनले राम्रो प्रतिक्रिया पनि पाए । उनका २ वटा स्क्रिप्टका केही अंश शिव रेग्मीको सफल चलचित्र ‘ए मेरो हजुर’मा प्रयोग भएको बताउँछन् उनी ।
‘म कक्षामा सबैभन्दा चकचके थिएँ । कक्षामा सर नभएको बेलामा नाना पाटेकर, राजेश हमालको कपी गरेर सुनाउने गर्दथेँ, जहाँ साथीहरुले पनि मलाई राम्रो गर्छस् भनेर ढाडस दिने गर्दथे । म बालकुमारी उच्च माविमा हुने हरेक नाटकमा भाग लिने गर्दथेँ’– पप्पु भन्छन् । चमेलीदेवी पिया निम्न माध्यमिक विद्यालयले आयोजन गरेको नाटकमा उनी प्रथम पनि हुन सफल भए ।
उनको बुझाइमा पछिल्लो चरणमा आएका दुई नेपाली चलचित्र ‘लुट’ र ‘चपली हाइट’ले राम्रो व्यापार ग¥यो । चलचित्रहरु पनि स्तरीय नै थिए तर त्यसपछिका चलचित्रले ती चलचित्रका नकारात्मक पक्षमात्र लिए तर त्यसका सकारात्मक पक्षहरु कसैले लिन चाहेनन् । उनी थप्छन्– ‘नेपाली चलचित्रमा कुनै नयाँपन छैन । सामाजिक चिरफार गरेर अहिलेसम्म कुनै चलचित्र बन्न सकेको छैन । नेपाली चलचित्र बढी भारतीय चलचित्रबाट प्रभावित छन् । कसैले आफ्नो मौलिकतालाई लिन सकेका छैनन् । भविष्यमा म मौलिक प्रकारको चलचित्रमा काम गर्नेछु र नेपाली चलचित्रको उदयीमान निर्देशक पनि बन्नेछु ।’
पप्पु रौनियारका बाबु कवाडी व्यवसायी हुन् । कवाडी व्यवसायी भएता पनि पप्पु कवाडी व्यवसायमा बाबुलाई साथ दिँदै चलचित्रको काम गर्ने गर्दछन् । बाबुआमा अनि परिवारको पूरा सपोर्ट छ उनलाई । हाल उनलाई भोजपुरी चलचित्रका सफल निर्देशक समीरकुमार जोशीले भोजपुरी चलचित्र ‘सुहाग विनाके सिन्दूर’को निर्देशनका लागि बोलाएका छन् । भदौको दोस्रो हप्ताबाट उनी भोजपुरी चलचित्र निर्देशनका लागि बम्बई प्रस्थान गर्नेछन् ।
उनी थप्छन्– ‘म बम्बई गएर त्यहाँको काम गर्ने शैली सबै सिकेर नेपाली चलचित्रमा त्यसको भरपूर उपयोग गर्नेछु । म भविष्यमा सामाजिक विषयवस्तुलाई उठान गरेर एउटा चलचित्र बनाउने छु, जसले नेपाली चलचित्रमा नयाँ आयाम थप्न सकोस् र नेपाली चलचित्रमा निर्देशक पप्पु रौनियारको छुट्टै पहिचान बनोस् । यही मेरो चाहना छ ।’ निकट भविष्यमा सफल निर्देशक बनून् पप्पु रौनियार, मेरो पनि हार्दिक बधाई छ उनलाई । 
 

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी