Thursday, October 4, 2012

सामाजिक सञ्जालको प्रयोग ः चुनौती र अवसर


                                                    सरोकार                                                                   
विधुर ढकाल
सुरूवात आफैँबाट गरौँ । मैले स्कुले उमेरमा सामान्य ज्ञानमा रटान हान्ने गर्थें, राणा शासनको सुरूवात गर्दा भएको कोतपर्व कहिले भयो ? आजभन्दा करिब पौने दुई सय वर्षपहिले भएको कोतपर्वको जवाफ दिएर मैले धेरै पटक खेलिएका हाजिरजवाफहरुमा अंक बटुलेको थिएँ तर आज ती सबै रटाइहरु मेरो स्मृतिमा छैनन् । मैले दिने जवाफहरु यान्त्रिक थिए त्यतिबेलाका । असोज २ गते मैले भुलेको जवाफ पुनः स्मृतिमा आयो, कारण थियो एक जना मेरा ट्वीटरका मलामीले यसका बारेमा ट्वीट गरेका रहेछन् ।
आजभोलि सजिलो पनि भएको छ अनलाइन र यसमा जोडिएका सामाजिक सञ्जालहरुका कारणले । मैले भुलेका कुरालाई स्मृतिमा ताजा गरिदिने काम पनि भएको छ । मैले जाने र सुनेसम्मका सामाजिक सञ्जालहरुको एक न एक पटकको प्रयोगकर्ता भएको छु । जिज्ञासुपनका कारणले हो या अनजानमा, सुरूवातमा मैले यसको बारेमा थाहा पाएको मलाई हेक्का छैन यतिबेला तर पनि म त्यस्तै पाँच–छ मा पढ्थेँ होला । मेरा एक जना दिवंगत दाजु हुनुहुन्थ्यो । उहाँका तस्बिरहरु मेरा अर्का दाजुले माई स्पेसमा खाता खोलेर राख्नुभएको रहेछ । मैले त्यतिबेला सुनेको थिएँ, अनलाइनमा खाता खोलेर आफ्ना कुरा राख्न पाइन्छ भनेर र मलाई यो भ्रम पनि थियो कि अनलाइनमा हामीजस्ता सामान्य मानिसहरुको पहुँच छैन, हाम्रा कुरा राख्न पाइँदैन । उहाँले देखाउँदा मलाई भन्नुभएको थियो कि मेरो छुट्टै साइट छ । म सानो बबुरो नपत्याउने कुरै भएन, पत्याएँ मन नलाए पनि ।
मैले पछि मात्र माई स्पेसको बारेमा थाहा पाएको थिएँ, जतिबेला ममा केही कम्प्युटरको ज्ञान आएको थियो । कम्प्युटरमा अनलाइनमा म केही भिजेको पनि थिएँ । मैले पहिला खोलेको याहुको मेल अहिले पनि चलाउँछु, जुन अहिले फेसबुकको प्रयोगका लागि मात्र प्रयोग हुँदै आएको छ । त्यसपछि मैले माई स्पेसलगायतका भेटेजति सामाजिक सञ्जालहरुको सदस्य बन्दै गएँ, कति सञ्जालका खाताका पासवर्डहरु अहिले मेरो दिमागमा छैनन् पनि । यहाँ मैले यी सबै उल्लेख गरेको किन पनि भने अनलाइन कसरी विस्तार भइरहेको छ भन्ने कुराको बोधका निम्ति हो ।
म अहिले सामाजिक सञ्जालको नियमित प्रयोगकर्ता नै भन्छु आफूलाई । पछिल्लो समयमा फेसबुक र ट्वीटरमा अधिक झुम्मिने मैले यसको प्रयोगसँगै केही सकारात्मक र केही नकारात्मक पाटाहरु भेटिरहेको हुन्छु दिनानुदिन । मलाई थाहा छ, धेरै पहिलेदेखि नै मैले सुनेको हुँ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलार्ई खुर्पाको बिँड’, मलाई यस्तै लाग्छन्, यी सामाजिक सञ्जालहरु पनि । आजभोलि कति सजिलोसम्म भएको छ भने हामीलाई कसैको जन्मदिन परेको होस्, उसको घरसम्म पुगेर जन्मदिनको कामना व्यक्त गरिरहनु पर्ने अवस्था छैन, न त फोन वा एसएमएस नै गरेर पैसा सक्नुप¥यो । बस् बस्यो अनलाइनमा, चाहेजति शुभकामनाका शब्दगुच्छाहरु अर्पण ग¥यो । त्यतिमात्र होइन, कस्ता गुलाफ पठाउने हो वा ग्रिटिङ कार्डहरु, सब छानी–छानी पठाउन पाइन्छ । मलाई कस्तो समस्याबाट बचाएको छ फेसबुकले भने त्यो पनि सुनाऊँ । मेरी एक जना साथीको जन्मदिन मैले बिहानै कामना गर्नुपर्ने तर गरिनँ । सबै कुरा कहाँ सम्झिइन्छ र ! भुलेछु जन्मदिन भनेर नै दिउँसो फोन गरेँ, उनले उठाइन् । फेसबुकमा हेरेको त उसलाई कामना गर्नेहरुको लर्काे, ला अब फसाद भएन ! कारण यो पो रहेछ । अनि त मैले जन्मदिनको शुभकामनाका शब्दहरु अनलाइनबाट नै सापटी लिएँ र टाँसिदिएँ उसको भित्तालाई रंगीन बनाएर, बल्ल पो उसले फोन गरी धन्यवाद भन्दै ।
हो, आजभोलि अनलाइनमा कतिसम्म हुन्छ भने जन्मदिनको शुभकामना मात्र होइन, कहीँकतै रमाइलो भयो भने हामी त्यो रमाइलोमा नै सामेल हुनुपर्दैन, खालि एकैछिन अनलाइनमा बसे हुन्छ । युट्युवमा भेटिन्छन् चलचित्रहरु । कसैलाई मन पर्दैन भने गालीका वर्षाहरु इराक युद्धमा अमेरिकाले इराकी जनतामाथि वर्षाएका भन्दा पनि जोडले वर्षिन्छन् । नेपालमा यसको बढी नै प्रयोग भएको छ । यो भन्न खोजेको पनि होइन कि मैले राम्रो भन्नलाई प्रयोग नै भएको छैन तर पनि यसको प्रयोगमा सावधानी अपनाउनु पर्ने आवश्यकता खड्किएको चाहिँ अवश्य हो ।
सबै कुरा र सबै वस्तु आफैँमा सुन्दर र कुरुप भन्ने पनि हुँदैनन्, खालि यसको प्रयोग सुन्दर तरिका वा कुरुप तरिका कस्तो प्रकारले भएको छ, त्यसले नै यसको सुन्दरताको परिचय दिन्छ । विगतका वर्षदेखि फेसबुक वा सामाजिक सञ्जालमा मैले पाएको अधिक विषय भनेको नेपाली राजनेताहरुप्रतिको व्यङ्ग्य र गाली हो, जुन प्रधानमन्त्री बाबुराम भट्टराईले देशवासीका नाममा गरेको सम्बोधनमा समेत समेटेका थिए । अर्काे पाटो के पनि हो भने म कहाँ, कुन अवश्थामा छु भनेर मैले मात्र होइन, मेरा आफन्तहरुले सामाजिक सञ्जालको प्रयोगबाट बताएका छन् ।
मेरो आफ्नै घटना दोहो¥याऊँ । म सडक दुर्घटनामा करिब एक वर्षअगाडि परेको थिएँ, जुन फेसबुकको मेरो भित्तामा मेरा एक शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरेर कोरे । मैले घरमा यो कुरालाई जनाएको थिइनँ, मेरो दाइले मेरो भित्तो हेरेपछि थाहा पाएर मलाई फोन आयो । कस्तो छ तँलाई ? मैले सहजै जवाफ दिएँ । तँ त दुर्घटनामा परेको रहेछस्, घर किन थाहा नदिएको ? मैले फेरि अर्काे सहज जवाफ दिएँ, सामान्य हो केही भएको छैन । सामाजिक सञ्जालका कारणले अब केही पनि लुक्न सक्ने विषय रहेन भन्ने कुरा प्रस्टिएको छ । अब आफ्नो व्यक्तिगत जीवन केही रहेन, सब सार्वजनिक मह¤व राख्ने भए यहाँ । मैले के गर्दैछु ? भन्ने कुराको जानकार संसार हुने भएपछि म अब एक्लो जीवन भइनँ, संसार भयो । एक पटक मलाई याद छ, एक जना नामुद पत्रकारले भनेको एउटा अन्तर्वार्तामा– जबसम्म उसको मात्र वशमा यो विषय रहन्छ, त्यो उसको व्यक्तिगत जीवन रहन्छ तर अब त यो सार्वजनिक भयो, मैले थाहा पाएँ । म मार्फत अरुले थाहा पाए, अनि कसरी यो उसको व्यक्तिगत जीवन हो भनेर हामी बस्ने ? यसले सारा संंसारलाई नै प्रभाव पारेको छ ।
अर्काे यस्तै घटना, त्यो धेरै पुरानो पनि भएको छैन । नवलपरासीको गैँडाकोट अनलाइनमा निकै चर्र्चित वन्यो । कारण थियो, ‘किस प्रतियोगिता’ । केही उछृङ्खल युवायुवतीको हर्कत अनलाइनमा आयो । यहाँको एक विद्यालयको नाममात्र पानीमा मिलाएन अझ त्यसले नेपालकै नाममा बद्नामीको धब्बा दिएर गयो । यस्ता अनेकाँै घटना छन्, जो मैले पनि थाहा पाएको छु । सामाजिक सञ्जालको प्रयोग गर्ने सबैलाई ज्ञात भएकै हुनुपर्छ । एउटा पत्रकार भैखाएको नाताले पनि म अनलाइनमा अधिक रहन्छु, किनकि मैले मेरो स्वार्थलाई पनि हेरेको छु । कैयाँै पटक मैले सामाजिक सञ्जालबाट नै मेरा समाचारका विषयहरु प्राप्त गरेको छु । यो फाइदा मलाई अनलाइनले दिएको हो भन्न म किन पछि पर्ने ? यसको सकारात्मक पाटोलाई मैले ओझेलमा पार्ने छैन तर पनि यसको प्रयोगलाई सामाजिकीकरण भने अवश्य गर्नुपर्दछ । एक पटक फेसबुकमा यस्तो पनि आयो, कसैले कुनै लिङ्ग मेरो भित्तामा शेयर ग¥यो, मैले हेर्नासाथ मेरा सबै मित्रहरुलाई अश्लील तस्बिरहरु शेयर हुने । एक जना नचिनेकी महिलाले मलाई फेसबुकमा मित्रताका लागि हात अगाडि बढाइन्, मैले उनका बारेमा बुझ्ने कोसिस गरँे । मेरा धेरै साथी उनीसँग साथी बनेका रहेछन् । होला कोही मलाई पनि चिनेको तर मैले नचिनेको भनेर स्वीकार गरिनँ । त्यसको केही समयपछि मलाई काठमाडौँबाट फोन आयो, उसले सोधी– विधुरजी हो ? मैले सहजै जवाफ दिएँ । म... उसले परिचय दिई । अँ भन्नुस् तपाई भर्खरै फेसबुकमा साथी बन्नुभएको छ । मेरो मुखबाट ए मात्रको जवाफ निस्कन नपाउँदै मलाई उसले सोधी– तपाईंले मलाई चिन्नुहुन्छ ? मेरो सहजै उत्तर थियो– नाइँ । यो मेरो नाममा खोलिएको फेक एकाउन्ट हो । मलाई कसैले मेरो तस्बिर राखेर ब्ल्याकमेल गर्दैछ, साथीको सूचीबाट हटाइदिनू है भन्दै रूँदै उसले भनी । कस्तो जमाना आयो !
अर्काे समस्या सामाजिक सञ्जालमा आफूले प्रयोग गर्ने पासवर्ड पारदर्शी हुनु पनि देखिएको छ । अझ यो समस्या भर्खरका किशोरकिशोरीमा बढी नै  छ । आफ्नो मनले खाएको भन्दैमा यस्ता संवेदनशील पासवर्डहरु सहजै खोलिदिँदा पछि सम्बन्धमा नकारात्मक असर पर्दा समस्या उत्पन्न होला भन्ने सोच्दै सोचेको पाइँदैन । यस्तै उदाहरण पनि छ मसँग । मेरी एक जना मिल्ने साथीले अहिले फेसबुक नै चलाउन छाडेकी छ, कारण यही हो पासवर्ड लिक । उसको पासवर्ड आफ्नो प्रेमीलाई दिएकी रहिछ । पछि सम्बन्धमा दरार आउँदा उसको प्रेमीले पासवर्ड नै परिवर्तन गरिदियो र अश्लीलताले भरिदियो फेसबुकको भित्ता, अनि कसम खाएकी छ उसले कहिल्यै पनि फेसबुक चलाउँदिनँ भनेर । यस्ता समस्या अरु छैनन् भन्न सक्ने अवस्था नै छैन । हामीले हरेक विषयलाई सामान्य रुपमा लिँदा यो समस्या उत्पन्न भएको हो ।
यहाँ संसार छ तर त्यो संसारलाई सुन्दर बगैँचा बनाउने कि कुरुप ल्यान्डफिल्ड साइट, त्यो हाम्रै हातमा छ । सामाजिक सञ्जालले धेरैलाई खुसी दिएको छ, कतिलाई दुःख पनि । हामीले सुनेका छौँ, यसकै सहाराले वर्षाैंदेखि हराएको बुढेसकालको सहाराको लाठी भेटिएको छ भने कतिका सम्बन्धहरु यसैले चुडाइँदिएको पनि छ । सामान्य रुपमा भन्नुपर्दा सकारात्मक र नकारात्मक पाटाहरु कसमा हुँदैनन् र ? एउटा औषधिमा पनि साइड–इफेक्ट त हुन्छ नै तर पनि यसलाई हामीलाई औषधिको रुपमा लिनुपर्छ । पेनकिलर खाएपछि मानिसको दुःखाइ कम हुन्छ तर त्यही पेनकिलरलाई गलत तरिकाले प्रयोग गरियो भने मानिस कुलतमा फस्छ । हामी कुलतमा फस्ने कि समस्याको समाधानतर्फ लाग्दै सुन्दरताको खोजी गर्ने, त्यो हामै्र हातमा छ ।
नेपालमा यसका प्रयोगकर्ताहरु बढिरहेको सन्दर्भमा समस्या के पनि हो भने व्यवस्थित साइबर कानुन बन्न सकेको छैन । बनेका कानुन पनि कार्यान्वयनमा आउन सकेका छैनन् । अब हामीले यसको प्रयोग रोक्नु त उचित छैन तर पनि प्रयोगमा भने सचेतता हुनु जरूरी छ । हामीले पहिले नै कानुनी अस्पतालको खोजी किन गर्ने ? हाम्रा घरआँगनमा अझ भनौँ, हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा नै सामान्य प्राथमिक वा घरेलु उपचारहरु छन् भने तिनको प्रयोग हामीले किन नगर्ने ? 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी