Saturday, April 28, 2012

पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप सेवा

भरतपुर । भरतपुर क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सर गराउने भाइरसको संक्रमण रोक्न किशोरीहरुलाई खोप लगाउने अभियान सुरू गरेको छ । बजार मूल्य ३० हजार रुपैयाँ पर्ने सो खोप हाललाई निःशुल्क उपलब्ध हुन्छ ।
महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सर विश्वका प्रमुख क्यान्सर रोगमध्येमा पर्छ । भरतपुर क्यान्सर अस्पतालमा सन् २०१० मा उपचारका लागि आएका क्यान्सरका बिरामीमध्ये पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या दोस्रो स्थानमा थियो ।
‘महिलाहरुमा ठूलो समस्या देखिएकाले नियन्त्रणका लागि खोप अभियान सुरू गरेका हौं । गत वर्ष दुई हजार जनालाई खोप लगायौं’, भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.लक्ष्मीनारायण सिंहले भन्नुभयो ।
अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी भोला सिवाकोटीका अनुसार यो वर्ष तीन हजार जनालाई खोप दिने योजना छ । विद्यालयमा शिविर राखेर ११ देखि १३ वर्षसम्मका छात्राहरुलाई यो खोप दिने गरिएको छ ।
गत वर्ष भरतपुर नागरपालिकाका ३६ र खैरहनी गाविसका ६ वटा गरी कुल ४२ वटा विद्यालयका दुई हजार जनालाई ‘गर्दासिल’ भनिने पाठेघरको मुखको क्यान्सर गराउने भाइरसलाई रोक्ने खोप दिइएको थियो । छ महिनाभित्र तीन पटक लगाएपछि खोपको मात्रा पूरा हुन्छ ।
नेपाल अष्ट्रेलियन सर्भिकल (पाठेघर) क्यान्सर फाउण्डेशन (एनसीसीएफ) ले अष्ट्रेलियन क्यान्सर फाउण्डेशन र अमेरिकाको ‘गर्दासिल’ पहुँच कार्यक्रमबाट सहयोग स्वरुप प्राप्त गरेकाले खोप निःशुल्क दिइएको हो । नत्र भने तीन पटक लगाउने खोपलाई ३० हजार रुपैयाँ पर्छ ।
(एनसीसीएफ) ले तीन वर्षअघि नेपालमा यो खोप सेवा सुरू गरेको हो । नेपालभर हालसम्म १४ हजारले गर्दासिल लगाइसकेको (एनसीसीएफ) ले जानकारी दिएको छ । यो वर्ष चितवनसहित मकवानपुर, सर्लाही, महोत्तरी र सोलुखुम्बूका आठ हजारलाई खोप दिइँदैछ ।
‘त्यसमध्ये चितवनका मात्रै तीन हजार जनालाई दिन लागेका छौं’, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी सिवाकोटीले जानकारी दिनुभयो । विद्यालयमा ५० जनाभन्दा बढीको समूह तयार भएमा खोपको शिविर संचालन हुनेछ ।
विश्वमा सन् २००६ देखि नै किशोरीहरुले यो खोप लिन सुरू गरेका हुन् । महिलाको पाठेघरमा अस्वाभाविक रुपमा जीवकोषहरु बढ्दा क्यान्सर हुने गरेको छ । ह्युमन पोपिलोमा भाइरस (एचपीभी) ले गर्दा त्यसरी जीवकोषहरु बढेका हुन् ।
गर्दासिल खोपले एचपीभीको संक्रमण रोक्ने गर्छ । ‘निःशुल्क लगाइने भएकाले कसैले नराम्रो गर्ने पो हो कि भन्ने आशंका गरेका छन् । तर यो परीक्षणका लागि ल्याइएको होइन । विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको विकसित देशहरुमा प्रयोगमा आएको खोप हो’, सिवाकोटीले भन्नुभयो ।
विश्वमा ७० प्रतिशत पाठेघरको क्यान्सर एचपीभी १६ र १८ समूहका कारण हुने गरेको छ । नेपालमा यो समूहको कारण ८० प्रतिशतसम्म पाठेघरको क्यान्सर भएको छ । गर्दासिल खोप तीन पटक लगाएपछि एचपीभी १६ र १८ समूहका कारण हुने क्यान्सरबाट सुरक्षित भइन्छ ।
क्यान्सरको उपचार हुने नेपालको सुविधा सम्पन्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१० मा पाठेघरको मुखको क्यान्सर भएर ५०५ जना बिरामी उपचारका लागि आएका थिए । पहिलो नम्बरमा फोक्सोको क्यान्सर हुनेको संख्या छ भने दोस्रोमा यो छ ।
फोक्सोको क्यान्सर भएर आउने बिरामीहरु ५५३ रहेका छन् । पहिलो अवस्थामा पत्ता लागेर तत्काल उपचार भए पाठेघरको मुखको क्यान्सर निको हुन्छ । तर अन्तिम अवस्थामा उपचारका लागि आउने गरेकाले धेरैलाई जोगाउन नसकेको चिकित्सकहरु बताउँछन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी