Wednesday, April 25, 2012

विविध कार्यक्रम गरी औलो दिवस मनाइयो

विविध कार्यक्रम गरी औलो दिवस मनाइयो
भरतपुर ।  विश्व औलो दिवस, ‘उपलब्धि जोगाउँदै जीवन रक्षा गर्न औलोमा लगानी गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी बुधबार मनाइएको छ ।
दिवसको अवसरमा विभिन्न संघसंस्थाले जनचेतनामूलक ¥याली, गोष्ठीलगायतका कार्यक्रम गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००७ अप्रिल २५ देखि विश्व औलो दिवस मनाउन थालिएको हो ।
नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेका छन्  । नेपालको तराई क्षेत्रका १३ जिल्ला औलोको उच्च जोखिममा छन्  ।
सङ्क्रमित एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइले लाग्ने यो रोगबाट गर्भवती र पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । औलो रोगको मुख्य लक्षण एक दिन बिराएर कामज्वरो आउनु हो ।
स्वास्थ्य मन्त्रालयले सन् २०१६ सम्म हालको औलो रोग सर्नेे दर ९० प्रतिशतले घटाउने र सन् २०२६ सम्म नेपाललाई औलो उन्मूलन राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ । नेपालमा खुला सिमानाबाट आयातित औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभावी प्रयोग र आवश्यक कानुनको अभाव औलो उन्मूलनका प्रमुख चुनौती रहेका छन् ।
यसै दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गरी जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा औलो रोगीको संख्या घट्दै गएको जानकारी गराएको छ । जनचेतना र लामखुट्टे नियन्त्रणको अभियान प्रभावकारी भएपछि चितवनमा औलो रोगको संक्रमण कम गर्न सकिएको हो ।
औलो दिवसका अवसरमै बुधबार भरतपुरमा जनचेतनामूलक ¥यालीसमेत आयोजना गरियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी