Monday, April 30, 2012

चिउरी कम फल्न थालेपछि चेपाङहरु चिन्तित

भरतपुर । चेपाङहरु बिहेमा समेत छोरीलाई दाइजो दिँदा चिउरीको बोट दिने गर्छन् । उनीहरुका लागि पैसा कमाउने मुख्य माध्यम हो चिउरीको बोट । तर अचेल चिउरीको बोटमा फल लाग्न निकै कम भएको छ । जस्ले गर्दा चेपाङहरु चिन्तित छन् ।
चेपाङहरुले चिउरीको बीयाँ बेचेर आम्दानी गर्छन् । बोटमा पूmल राम्रोसँग लागे पनि फल नलाग्ने समस्या देखिएको छ । चिउरीको बियाँ पेलेर घिउ निकाल्न र साबुन बनाउन प्रयोग हुन्छ । गत वर्ष एक पाथी चिउरीको बीयाँ ८५ रुपैयाँमा बिक्री भएको थियो ।
‘एउटा रूखमा पहिले पहिले ५० पाथीसम्म चिउरीको बीयाँ निस्कन्थ्यो । अहिले मुस्किलले पनि १० पाथी हुँदैन’ चितवनको सिद्धि गाविस वडा नं. ६ का सेलबहादुर चेपाङले भने । चितवन जिल्ला वन कार्यालयको योजना शाखामा कार्यरत सहायक वन अधिकृत सवनम पाठक चेपाङका लागि चिउरी भनेको धानजस्तै हो भन्छिन् ।
‘आम्दानी लिने मुख्य बाली नै चिउरी हो । अहिले चिउरी फुल्न त फुल्छ तर फल भने निकै कम लाग्न थालेको छ’, पाठकले भनिन् । एक घरले सरदर १० वटासम्म चिउरीका बोट हुर्काउँछ । रोपेको १५ वर्षपछि फल्न थाल्ने चिउरी ७० वर्षसम्म फल्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो चार वर्षयता फल नलाग्ने समस्या विकराल बन्दै आएको छ ।
समुन्द्र सतहबाट एक हजारदेखि १५ सय मिटर उचाईको पहाडी क्षेत्रमा चिउरी हुर्कन र फल्न सक्छ । चितवनको सिद्धि, कोराक, लोथरजस्ता पहाडी क्षेत्रमा चिउरीको बाक्लै वन छ । फागुनमा पूmल्ने चिउरी भदौमा पाक्छ । लप्सीजत्रो तर चेप्टो आकारको चिउरीको फल पाकेपछि बीयाँ निकालेर बेच्ने गरिन्छ ।
‘पहिला त भदौमा पाक्दथ्यो । अहिले साउनमै पाक्न थालेको छ । बीयाँ पहिलाको जस्तो राम्रो र पोटिलो हुन छाड्यो’, सिद्धि मजवाङका काजी चेपाङले थप समस्या सुनाए । चिउरीको बोट चेपाङको सामाजिक जीवनसँग जोडिएको छ । कुनैकुनै पहाडी भेगमा बिहे गरेर जाने छोरीलाई चिउरीको बोट दाइजोको रुपमा दिने चलन पनि चेपाङहरुमा छ ।
‘चेपाङको जीवनसँग यसरी जोडिएको चिउरीमा फल लाग्न कम भएपछि हामीलाई निकै पीर लागेको छ तर के भएर यसो भएको हो कसैले भनिदिँदैन’, नेपाल चेपाङ संघ चितवनका सचिव भीम चेपाङले भने । चितवनका पहाडी क्षेत्रमा बस्ने चेपाङको समस्या समाधानमा राज्यले चाँडै चासो राखेर सुनुवाइ गर्ने प्रचलन छैन ।
‘मैले आफैँ वन विभागलाई चिउरी फल्न कम भएको विषयमा मौखिक कुरा त राखेको हो तर फल्न किन कम भयो भनेर कसैले औपचारिक अनुसन्धान गरेको छैन’, सहायक जिल्ला वन अधिकृत पाठकको भनाइ छ ।
चितवनमा समस्या देखिए पनि मकवानपुरको पहाडी भेगमा पहिलाको जस्तै फूल र फल लागिरहेको पाठकको भनाइ छ । ‘चिउरी पूmलेपछि रातको समयमा चमेरा आएर रस खाने गर्दथ्यो । अहिले चमेरा पनि पहिलाको जस्तो छैन । निकै कम भएर गएको छ । सायद चमेरा घटेर पनि यस्तो भएको हो कि’ काजी चेपाङको भनाइ छ ।
चितवनको पहाडी क्षेत्रमा करिब २० हजार चेपाङ बसोबास गर्छन् । उनीहरु मध्ये लगभग आधा चिउरी फल्ने उच्च पहाडी क्षेत्रमा बस्छन् । झण्डै १५ सय घरधुरीले चिउरीको बोट हुर्काएका छन् । एउटा घरधुरीले १० वटा चिउरी हुर्काको अनुमानको आधारमा पनि १५ हजार चिउरीको बोटमा कम फल लाग्ने समस्या उत्पन्न भएको चेपाङ संघको भनाइ छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी