Thursday, April 26, 2012

सदरमुकामबाट हुने सरकारी सेवा माडीमै

 माडी । माडी गर्दीकी कोपिला महतोका लागि बिहीबार अविस्मरणीय रह्यो । गाउँबाट झण्डै ३० किलोमिटर टाढा भएपनि सदरमुकाम भरतपुर पुग्न त्यत्ति सहज छैन । खोला र वनको बाटोमा गाडी पनि कमै चल्छन् । तर उनले सदरमुकामबाट पाउने सेवा गाउँमै पाइन् ।
जिल्ला प्रशासन कार्यालयले यो पटक माडी बसन्तपुरमा राखेको घुम्ती सेवा शिविरमा कोपिलाको नागरिकता बन्यो । त्यसैले भरतपुर धाउनुपर्ने झन्झट हट्यो । शिविरको उद्घाटन नै प्रमुख जिल्ला अधिकारी गाणेशराज कार्कीले उनैलाई नागरिकता दिएर गर्नुभयो ।
चैत्र महिनामा चितवनको विकट पहाडी गाविसका बासिन्दालाई सेवा दिन जिल्ला प्रशासनले कोराकमा शिविर राखेको थियो । यस पटक यातायातका दृष्टिले विकट मानिएको माडीमा शिविर अयोजना भएकोे हो ।
शुक्रबार पनि चल्ने माडीको शिविरमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट नागरिकता वितरण भएको छ । त्यस्तै महिला विकास कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ ।
पशुसेवा कार्यालयका प्रमुखदेखि चिकित्सक प्राविधिकहरु माडीवासीलाई गाईभैँसीको स्याहारसुसारका कुरा सिकाउन र रोगी पशुको उपचारमा तल्लीन छन् । कृषिसेवा कार्यालयका अधिकारीहरु बालीनालीमा आएका समस्या समाधान गर्न खटिरहेका छन् ।
जनस्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले सरसफाइ र स्वच्छ पानी प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले उन्नत मकैको बीउ वितरण ग¥यो ।
‘हामीले विद्यार्थीलाई सरसफाइबारे चेतना जगाउन पोष्टर बाँडेका छौं । हात धुने साबुनसमेत दिएका छौं’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिकृष्ण पौडेलले भन्नुभयो । माडीका चारै गाविसका बासिन्दा सेवा लिन बिहानैदेखि भेला भएका थिए ।
‘अपाङ्गता भएकालाई यहीँ परिचयपत्र दिने कार्यले हामीलाई सारै हर्षित बनाएको छ’, अपाङ्ग जागरण समाज बघौडाका अध्यक्ष भोजराज अर्यालले भन्नुभयो । समाजले गरेको सर्वेक्षणमा माडीमा अपाङ्गता भएकाहरु एक हजारको हाराहारीमा छन् ।
‘धेरै जनासँग परिचयपत्र छैन’, अर्यालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर महिला विकास कार्यालयले परिचयपत्र वितरण गर्छ । सोही परिचयपत्रको आधारमा गाविसले भत्ता दिनुका साथै विभिन्न सरकारी निकाय र यातायात भाडामा छुट पाइन्छ ।
‘सामान्य व्यक्तिलाई त माडीबाट भरतपुर पुग्न निकै सास्ती छ । हामीजस्ता अपाङ्गता भएकालाई झनै अफ्ठेरो छ’, अर्यालले थप्नुभयो, ‘परिचयपत्र नहुँदा पाउने सुविधाबाट वञ्चित भएका थियौं । आफ्नै गाउँठाउँमा सेवा लिन पाउँदा ठूलो राहत महसुस भयो ।
विकट क्षेत्रमा रहेका विपन्न, अशक्तहरुलाई सुविधा दिन शिविर गाउँमा राखेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति विकास कोइराला, एमालेका नेता विजय सुवेदी, राप्रपाका प्रतिनिधि विष्णु वाग्लेले पनि मन्तब्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी