Wednesday, April 25, 2012

नेपाली काँग्रेस चितवनमा चरम विवाद , एक अर्काे पक्षबीच आरोप प्रत्यारोप

  भरतपुर । ‘सभापतिज्यू तपाइँ सर्वमान्य नेता बन्ने हो भने पार्टी सभापतिबाट राजीनामा दिएर पार्टीलाई निकास दिनुस्’, काँग्रेस चितवनका सचिव देवेन्द्र गुरुङले नारायणी कला मन्दिरमा बुधबार आयोजित कार्यक्रमममा बोल्दै गर्दा आफ्नै सभापति विकास कोइरालालाई भन्दै हुनुहुन्थ्यो, ‘तपाइँले पार्टीलाई एक बनाएर लैजान सक्नु भएन । अब पार्टी बलियो बनाउने हो भने तपाइँको राजीनामाको विकल्प छैन । स्वतःफुर्त राजीनामा दिनूस् । पार्टीको अवरोध नबन्नुस् ।’
काँग्रेस चितवनभित्र विवाद चर्कदै गएका बेला अहिले काँग्रेसले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न थालेका छन् । सभापति कोइरालाभन्दा फरक मत राख्नेहरुले काँग्रेस चितवनको व्यानर राखेर नारायणी कला मन्दिरमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल तरुण दल चितवनका अध्यक्ष भएकै बेला हत्या भएका शिव पौडेललाई मरणोपरान्त सम्मान तथा जेलमुक्त भएका तरुण नेता कार्यकर्ताहरुको स्वागतमा काँग्रेसले सो कार्यक्रम आयोजना गरेको हो । तर सो कार्यक्रममा सभापति कोइरालासहित उहाँ निकटका काँग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थिएन ।
यसअघि बैशाख ११ गते परेको लोकतन्त्र दिवसको अवसरमा सभापति कोइरालानिकट काँग्रेस चितवनको आयोजनामा द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका काँग्रेस कार्यकर्ताहरुको परिवारलाई सम्मान कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सचिव गुरुङसहित फरक मत राख्नेहरुको सहभागिता रहेको थिएन ।
तर दुबै कार्यक्रममा बोल्ने काँग्रेस नेता कार्यकर्ताहरुले काँग्रेस मिल्नुको विकल्प नभएको बताउँदै गर्दा कार्यक्रममा पक्ष विपक्षमा लाग्नेहरुले भने एक अर्कोलाई आरोप प्रत्यारोप गर्न पनि पछि परेका थिएनन् ।
‘काँग्रेसलाई बलियो बनाउने हो भने पहिला पार्टीभित्रको विवाद मिलाउनु पर्छ’, दुबै कार्यक्रममा सहभागी हुनुभएका प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठले भन्नुभयो । उहाँले समस्याको समाधान खोज्नका लागि पहिला सबैले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
श्रेष्ठ बुधबारको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो भने सोमबारको कार्यक्रममा विशेष अतिथि हुनुहुन्थ्यो । काँग्रेसले अहिले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । एक पक्षले अर्काे पक्षलाई कार्यक्रममा निम्तो दिएको भए पनि कार्यक्रममा नआएको प्रतिक्रिया पनि दिने गरेका छन् ।
काँग्रेसभित्रको विवादका कारण लामो समयदेखि जिल्ला कार्यसमितिले बिस्तार पाउन सकेको छैन भने विभागहरु पनि पार्टीले निर्माण गर्न र जिम्मेवारी दिन सकेको छैन । यतिसम्म कि विवादकै कारण काँग्रेसको जिल्ला समितिको बैठकसमेत बस्न नसकेको अवस्था छ ।
‘एउटै पार्टी दुई कार्यनीति लिएको माओवादीले त आफ्नो कार्यक्रम लिएर एकै दिन दुईवटा कार्यक्रम गरेका हुन् तर काँग्रेसले एउटै नीति लिएर पनि कुर्चीमोहले आफ्नै ढङ्बाट अगाडि बढेका हुन्’, काँग्रेसनिकट एक प्राध्यापकले चितवन पोष्टसँग भने, ‘जित्नेहरुमा अहम्को मोह र हार्नेहरुले हार स्वीकार गर्न नसक्दा अहिले पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेको हो ।’
जिल्लाको पार्टी संस्थापन पक्ष पनि १२ आंै महाधिवेशनमा हार नस्वीकार्ने पक्षबाटै पार्टी नेतृत्वलाई असफल बनाउन खेल खेलिएको टिप्पणी गरिरहेको छ । सोमबारको कार्यक्रममा बोल्ने संस्थापन पक्षका जिल्लास्तरीय नेता कार्यकर्ताले पनि यो कुरालाई जोड दिइरहेका थिए ।
कार्यक्रममा बोल्नेक्रममा सभापति कोइरालाले त आफूले के गल्ती गरेका कारण पार्टीभित्र विवाद बढेको हो भन्ने सम्बन्धमा अनभिज्ञता प्रकट गर्दै हुनुहुन्थ्यो ।
‘मैले गल्ती के गरेँ त्यो थाहा पाउनु पर्छ’, कोइरालाले भन्नुभएको थियो । पार्टीभित्रको विवाद आ–आफ्नो ढङ्गको होला । आफ्नै परिभाषाहरु पनि होलान् तर सामान्य काँग्रेस कार्यकर्ताहरु भने पार्टीभित्रको विवाद मिलाउन माग गर्छन् । भन्छन्, ‘पार्टी बचाउने हो भने अब झगडा हैन, मिलेर अगाडि बढ्नुस् । विवाद र झगडा हैन, कार्यकर्ताको भावनाअनुसार चल्नुस् ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी