Wednesday, April 25, 2012

गैँडाकोट प्रहरीद्वारा पाँच हजार अवैध मदिरा नष्ट


गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले विभिन्न समयमा बरामद गरेको करिब पाँच हजार लिटरभन्दा बढी परिमाणको मदिरा नष्ट गरेको छ ।
कार्यालय परिसरमा स्थानीय समाजसेवी तथा पत्रकारहरुको माझमा सो परिमाण बराबरको मदिरा नष्ट गरिएको हो । १५ दिनभित्रमा बरामद गरिएको ३० देखि ५० लिटर परिमाणका १४८ ग्यालिन मदिरा नष्ट गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी गराउनुभयो ।
उहाँका अनुसार गैँडाकोट क्षेत्रबाट विभिन्न समयमा चितवन जिल्लाका विभिन्न स्थानमा निकासीका लागि लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो । गैँडाकोट तथा मुकुन्दपुर गाविसका विभिन्न स्थानबाट मदिरा मरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
‘अवैध रुपमा उत्पादन गरी निकासीका लागि लैजाँदै गर्दा मदिरा नियन्त्रणमा लिइएको हो’, उहाँले भन्नुभयो । स्थानीयस्तरमा मदिराको उत्पादन र बिक्रीवितरण बढेपछि नियन्त्रणमा लिन अभियान नै सञ्चालन गरेको उहाँको भनाइ थियो ।
गैँडाकोट गाविसको ढोडेनीमा अधिकांश मदिरा उत्पादन हुने गरेको बताउँदै त्यसलाई नियन्त्रणमा लिन अभियानलाई अझ सशक्त रुपमा अगाडि लैजाने पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मदिरा नियन्त्रण गर्न स्थानीयको सहयोग आवश्यक छ, तर पनि स्थानीय राजनीतिक दल तथा नागरिक समाजको साथ पाएका छैनौँ ।’
यसैबीच गँैडाकोट गाविसदेखि चितवनका विभिन्न स्थान तथा तनहूँको देवघाट क्षेत्रमा समेत मदिराको निकासी भइरहेको बताउँदै तनहूँतिरको निकासीलाई पनि नियन्त्रणमा लिइने प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । कतिपय स्थानीयवासी मदिरा उत्पादन र बिक्रीमा नै आश्रित भएकाले पनि कमी आउन नसकेको उहाँको भनाइ थियो ।
‘कतिपय परिवार त वैकल्पिक रोजगारको व्यवस्था गरिदिन माग गर्दै पनि आएका छन्, हामीले सरकारी निकायसँग माग राख्नुस् भनेर फर्काउने गरेका छौँ’, पाण्डेयले भन्नुभयो । त्यस्तै प्रहरीले गैँडाकोट क्षेत्रमा मापसे नियन्त्रण अभियानलाई पनि सशक्त ढङ्गले अगाडि बढाएको कार्यालयले जनाएको छ ।
अभियानअन्तर्गत अहिलेसम्ममा कार्यालयले २५ हजार राजस्व संकलन गरेको जनाएको छ । विभिन्न मितिमा मापसे नियन्त्रण अभियानअन्तर्गत गरिएको चेकजाँचका क्रममा २५ जना कारबाहस्मा परेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय भरतपुरले पनि १४० लिटर अवैध मदिरा नियन्त्रणमा लिई बुधबार नै नष्ट गरेको छ । कार्यालयले मंगलबार नारायणगढ तथा भरतपुरका विभिन्न होटलबाट सो परिमाणको मदिरा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताउनुभयो ।
अवैधरुपमा बिक्रीवितरण गर्ने मदिरा कुनै पनि हालतमा नियन्त्रण गरिछाड्ने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी