Thursday, May 31, 2012

अधुरै रह्यो चौरासी दान

 धनगढी- जेठा छोराको हातबाट चौरासी दान गराउने सपना साँचेका कालबहादुर बम यतिबेला शोकाकुल छन्। 'चौरासी दान गर्न धनगढी आउँछु, त्यसपछि मसँगै काठमाडौंमै बस्नुहोला,' उनले चार दिनअघि जेठा छोराले फोनमा भनेको सम्झे, 'अपराधीले मेरो छोरा मारिदियो।'
८४ वर्षमा टेकेका बम आफ्ना जेठा छोरा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको पीडाले धनगढी-३ विशाल नगरस्थित घरमा रोएर बिलौना गरिरहेका छन्।
'मंसिरमा चौरासी दान गर्न पहाड बैतडीबाट पनि भाइहरुलाई धनगढी बोलाउनू र म पनि आउछुँ भनेर,' उनले सुनाए, 'हामी दुवै (आमा) सँग कुरा गरेको थियो।'
८२ वर्षीय आमा मानमती बम घोप्टो परेर रोइरहेकी थिइन्। 'कसैको आँखामा हाले पनि नबिझाउने मेरो छोरा दुश्मनले मारिदियो,' मानमती भक्कानिइन्, 'अब म कसरी बाँचू?' कोही वृद्ध दम्पतीलाई सम्हाल्न सकिरहेको थिएन।
बिहीबार दिउँसो १२ बजेतिर नातिको मुखबाट छोरालाई गोली लागेको वृद्ध दम्पतीले सुने। टिभी भएको कोठामा गए। टिभी खोलेर हेर्दाहेर्दै छोराको निधन भएको अप्रिय खबर सुने।
खबर सुनेर रुन थालेका वृद्ध दम्पतीको आँसु साँझसम्म थामिएन। 'जेठो सज्जन थियो। सधैं बिहान पूजापाठ गर्थ्यो, नुहाएर मात्र खाना खान्थ्यो,' बमले भने, मन्दिरमा पूजाआजा गरेर फर्कने बेला मारिदियो। देवताले पनि हेर्दा रहेनछन्।'
यसअघि घरमा कुनै पनि किसिमको धम्की नआएको उनीहरुले बताए। 'बेला बेला सन्चो बिसन्चो बुझ्न फोन गरिराख्थ्यो,' उनीहरुले भने, 'गत पुसमा धनगढी आएर ४, ५ दिन बसेको थियो।'
वृद्ध दम्पती अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न शुक्रबार काठमाडांै जाने तयारीमा छ।
बैतडी कोटिला-४ को बम परिवार २०६१ सालमा धनगढी बसाइँ आएको हो। पहाडको घरमा रणबहादुरका भाइ बस्दै आएका हुन्।
कालबहादुरका ६ छोरामध्ये रणबहादुर जेठा हुन्। रणबहादुरले बैतडीकै डिलेश्वरीमा माविमा पढे। एसएलसीपछि काठमाडांैमा एमए र बिएल गरे।
घटनामा परेका राम गिरीसँग कृषि विकास बैंकमा काम गर्ने बेलादेखि नै राम्रो सम्बन्ध रहेको रणबहादुरका भतिजा योगेन्द्रबहादुरले बताए।

nagriknews

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी