Thursday, May 31, 2012

वैद्य पक्ष नयाँ पार्टी बनाउँदै

काठमाडौ, जेष्ठ १९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईसँग गम्भीर मतभेद भएपछि उपाध्यक्ष मोहन वैद्य पक्ष नयाँ पार्टी गठनको अन्तिम चरणमा पुगेको छ । दाहाल र भट्टराई संसदीय बाटोमा गएको आरोप लगाउँदै वैद्य पक्षले 'क्रान्तिकारी नयाँ पार्टी' बनाउन लागेको हो ।
असार पहिलो साता राष्ट्रिय भेलाबाट वैद्य पक्षले पार्टी सम्भवतः नयाँ माओवादी पार्टी घोषणा गर्नेछन् । ललितपुरको कुपन्डोलस्थित सम्पर्क कार्यालयमा बिहीबार वैद्य पक्षले आफ्ना केन्द्रीय समितिको बैठक गरी नयाँ बाटो तय गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा वैद्यले धारणा राख्दै पुरानो पार्टी मरिसकेको उल्लेख गर्दै नयाँ पार्टी गठन गर्ने जानकारी दिएका हुन् । 'पुरानो पार्टी मरिसकेको अवस्थामा नयाँ पार्टी जन्मने अवस्थामा पुग्यो,' वैद्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'प्रचण्ड र बाबुराम संसदीय बाटोमा फँसिसक्नु भएको छ ।
उहाँहरूसँग विचार र राजनीति नमिलेपछि नयाँ ढंगले जान आवश्यक छ ।' १४७ सदस्यीय केन्द्रीय समितिमा वैद्य पक्षका ४३ केन्द्रीय सदस्य र केही सल्लाहकारको बैठकले दाहाल र भट्टराईको कार्यदिशा र नेतृत्व असफल भएको निष्कर्ष निकालेको छ । संस्थापनको सम्मानजनक शान्ति प्रक्रिया र जनमुखी संविधान बनाउने कार्यदिशा असफल भएकाले विकल्प खोज्नुपर्ने निर्णय गरेको छ । पोलिटब्युरो सदस्य पम्फा भुसालले मूल नेतृत्व असफल भएको बताइन् । 'शान्ति र संविधानको कार्यदिशा असफल भएकाले गम्भीर समीक्षाको विषय भएको छ,' उनले भनिन्, 'मूल नेतृत्व पनि असफल भएको छ ।' संस्थापनसँग राजनीतिक विचार, कार्यदिशा र संयुक्त मोर्चा निर्माणका विषयमा फरक परेको भन्दै नयाँ पार्टीको आवश्यकता परेको वैद्य पक्षको भनाइ छ । वैद्य पक्षले  सर्वपक्षीय सम्मेलन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संस्थापनको बैठक स्थगित
वैद्य पक्षको कुपन्डोलमा बैठक बसिरहेका बेला संस्थापनको बैठक अचानक स्थगित भएको छ । वैद्य पक्षका निर्णय आउन ढिलाइ भएपछि बस्ने संस्थापनको बैठक स्थगित भएको हो । संस्थापनले शुक्रबार पुनः केन्द्रीय समितिको बैठक बोलाएको छ । वैद्य पक्षको निर्णयलाई ध्यानमा राखी संस्थापनले रणनीति बनाउने भएको छ । बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच लाजिम्पाटमा कुराकानी भए पनि बिनानिष्कर्ष टुंगिएको थियो । दाहालले विगतको समीक्षा गरी आगामी कार्यदिशाबारे छलफल गरी एकतामा जोड दिए पनि वैद्यले अस्वीकार गरेको स्रोतले जनाएको छ ।

वैद्य पक्षका केन्द्रीय सदस्यहरू
मोहन वैद्य उपाध्यक्ष, रामबहादुर थापा महासचिव, सीपी गजुरेल सचिव, स्थायी समिति सदस्यद्वय देव गुरुङ, नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्यहरू हितमान शाक्य, नारायण शर्मा, हरिभक्त कँडेल, पम्फा भुसाल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द बाँस्तोला, इन्द्रमोन सिग्देल, केन्द्रीय सदस्यहरू हर्कबहादुर शाही, सन्तोष बुढामगर, पूर्ण घर्ती, श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, जोखबहादुर महरा, ईश्वरी दाहाल, जयपुरी घर्ती, यशोदा सुवेदी, अमृता थापा मगर, मायाप्रसाद शर्मा, सरला रेग्मी, उमा भुजेल, सुरेश आले मगर, हरिकुमार अधिकारी, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, पवनमान श्रेष्ठ, दिलीप प्रजापति, अनिल शर्मा विरही, कुमार दाहाल, कृष्णदेव सिंह, पदम राई, सावित्रीकुमार काफ्ले, दिनेश शर्मा, भरत बम, कृष्णध्वज शर्मा, रेखा शर्मा, महेश्वर दाहाल, ईश्वरी भट्टराई, किसन शर्मा, राम आचार्य, ओमप्रकाश पुन र बाबुराम नेपाली छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी