Thursday, May 31, 2012

माओवादी चितवनमा चर्कियो गुटगत विवाद


भरतपुर । एकीकृत नेकपा माओवादी चितवनमा फेरि एक पटक गुटगत विवाद चर्किएको छ । बेलाबेलामा विवादका कारण चर्चामा आउने माओवादी चितवनमा यसपटक भने गत वैशाख १५ गते माओवादीले केन्द्रमा गठन गरेको पूर्वजनसेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ संयोजक रहने गरी पूर्वजनमुक्ति सेना संघ नेपालका कारण विवादमा आएको हो ।
माओवादी संस्थापननिकट मानिएको संघले बुधबार माओवादी चितवनको पार्टी कार्यालय कृष्णपुरमा राखेको सम्पर्क कार्यालयको व्यानरलाई माओवादी वैद्य समूहनिकटका चितवन इञ्चार्ज अनिल शर्मा ‘विरही’को निर्देशनमा राति फालिएपछि उक्त विवाद बाहिर आएको हो । पार्टीको कामका लागि काठमाडौंमा रहेका विरहीसँग यसबारेमा बुझ्न खोज्दा केही बताउन चाहनुभएन ।
वैद्य निकट मानिएका माओवादी चितवनका कार्यालय सचिव विपीनले संगठन विवादित भएका कारणले व्यानर फालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अन्तरसंघर्षमा रहेका कारणले यस अवस्थामा कुनैपनि विवादित संगठनका व्यानरहरु नराख्ने निर्णयका साथ टाँगिएको व्यानर फालिएको हो ।’
पार्टी संस्थापन पक्ष निकटहरुको मात्र संघमा आवद्धता रहेको र धेरै साथीहरु यससँगभन्दा बाहिर रहेको उहाँले बताउनुभयो । व्यानर पार्टी जिल्ला इन्चार्ज विरहीको निर्देशनमा फालिएको उहाँको भनाइ थियो । पार्टीका कार्यकर्ताहरु कार्यालयमा निर्वाध आउन पाउनेसमेत उहाँले बताउनुभयो ।
यता, माओवादीको संस्थापन पक्षनिकट चितवनका सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’ले भने संगठनको वैधानिकताको निर्णय जिल्लाको इन्चार्जले नभई केन्द्रले गर्ने बताउनुभयो । चितवन पोष्टसँगको टेलिफोन सम्पर्कमा उहाँले भन्नुभयो, ‘केन्द्रीय अध्यक्षको उपस्थितिमा घोषणा भएको संगठनको वैधानिकताको प्रश्न जिल्लाले गर्ने होइन, केन्द्रले नै यसको वैधानिकतालाई हेर्छ ।’
वैद्य पक्षले पूर्वजनमुक्ति सेना संघ नेपालको व्यानर फालेर नाङ्गो दादागिरि देखाएको अविनाशको आरोप थियो । उहाँले थप्नुभयो, ‘यो राजनीतिक संस्कार नभएकाले गर्ने कार्य हो, उहाँहरु मुठभेडको बाटो रोज्न खोज्दै हुनुहुन्छ, त्यसका लागि हामी पनि तयार छाँै ।’
यसअगाडि पार्टी कार्यालयमा उपस्थित नभएको स्वीकार्दै अविनाशले अब भने उपस्थिति बाक्लो बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम नै हुँदैनथ्यो त्यति जानु नै पर्दैनथ्यो, अब भने सशक्त रुपले प्रस्तुत हुन्छौं ।’
यता, बुधबार राखिएको व्यानर फालिएपछि संघले पुनः संघको सम्पर्क कार्यालय लेखिएको व्यानर राखेको छ । उनीहरुले पार्टी कार्यालय कृष्णपुरमा बिहीबार आफ्ना कार्यकर्ताको बाक्लो उपस्थितिमा व्यानर राखेका हुन् ।
व्यानर राखेपछि आयोजित कोणसभामा बोल्दै संघका केन्द्रीय सदस्य ईश्वर सापकोटा ‘सुमन’ले केन्द्रीय कार्यक्रमअनुसार व्यानर राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक जिल्लामा सम्पर्क कार्यालय राख्ने निर्णयअनुरुप व्यानर राखिएको हो ।’
यसलाई पुनः फाल्ने काम गरे गम्भीर परिणाम निम्तिने उहाँले चेतावनीसमेत दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी