Monday, June 18, 2012

माओवादी फुट्यो, बैद्यको नेतृत्वमा नेकपा, माओवादी गठन

काठमाडौं । विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी औपचारिक रुपमा फुटेको छ ।
उपाध्यक्ष मोहन बैद्य किरण समूहले नयाँ पार्टी गठनको घोषणा गरेको छ । राजधानीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनको प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको हो । यसलगतै वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले संस्थापन पक्षसँग सम्वन्ध विच्छेद भएको घोषणा गर्नु भएको थियो ।
बैद्य पक्षले नयाँ पार्टीको नाम नेकपा, माओवादी राखेको छ भने पार्टीको नेतृत्व बैद्यले नै गर्ने एक सहभागीले बताएका छन् । अहिले औपचारिक रुपमा पार्टीको स्वरुपलाई अन्तिम रुप दिन छलफल भइरहेको छ । श्रोतका अनुसार एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिमा रहेका ४४ जनाको बैठक बसिरहेको छ । बैठकलाई ७५ जनाको केन्द्रीय समिति बनाउने म्याण्डेट दिइएको छ ।
लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा गलत भएको ठहर गर्दै भेलाले जनविद्रोहसम्मको क्रान्तिकारी कार्यदिशा तय गर्ने निर्णय गरेको छ । पार्टीको वर्तमान नेतृत्व वनसंशोधनबादमा फसेकाले नयाँ पार्टी गठन गर्नु परेको बैद्य पक्षको भनाई छ ।
भेलामा सहभागीहरुले नयाँ पार्टी गठन गर्ने नेतृत्वको समर्थन गरेका थिए । उनीहरुले नेतृत्वले अघि सारेको कार्यदिशा प्रष्ट नभएको भन्दै विद्रोहको प्रष्ट कार्यदिशा ल्याउन समेत माग गरेका छन् । ‘अहिलेको नेतृत्व नवसंशोधनबादमा फसेकाले आत्मासमर्पण गर्ने हैन, नयाँ पार्टी गठन गरेर जानुपर्छ भन्ने अधिकांशको सुझाव छ’ भेलामा सहभागी एक नेताले भने-’हामीले बिद्रोहको प्रष्ट कार्यदिशा ल्याउन पनि भनेका छौं ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी