Sunday, September 30, 2012

पत्रकार ऐन कार्यान्वयन नभए महासंघले आन्दोलन गर्ने
नारायणगढ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडियाप्रति नेपाल पत्रकार महासंघ कडा रुपमा प्रस्तुत हुने महासंघका महासचिव ओम शर्माले बताउनु भएको छ । आइतबार नारायणगढमा भएको छलफल कार्यक्रममा उहाँले सो चेतावनी दिनु भएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका मिडिया संचालकहरुसँग राखेको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ऐन कार्यान्वयन नगरे श्रमजीवीहरुले तालाबन्दी गर्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो ।
‘ऐनमा धेरै कुरा व्यवस्था भएको छ तर तत्कालका लागि नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र बिदाको व्यवस्था संचालकहरुले अनिवार्य लागू गरेको हुनुपर्छ’ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले भन्नुभयो ।
यस विषयमा समितिले चाडै नै अनुगमन थाल्ने र कार्यान्वयन नगरेका मिडियाको नामावली सार्वजनिक गरेर कारबाहीको सिफारिससमेत गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा चितवनका दैनिक पत्रिका, एफएम स्टेशन र टेलिभिजनका सञ्चालकहरु सहभागी थिए ।
कार्यक्रममा संचालकहरुले कार्यान्वयन गर्न तयार भएको बताउँदै समानुपातिक रुपमा विज्ञापन पाउने वातावरण बने सहज हुने धारणा राख्नु भएको थियो । महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमेशकुमार पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।


क्रान्तिकारी पत्रकारमा अधिकारी

भरतपुर । क्रान्तिकारी पत्रकार संघ चितवनको प्रथम जिल्ला सम्मेलनले शान्ता अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । भरतपुरमा आइतबार सम्पन्न अधिवेशनले चयन गरेको नयाँ समितिको उपाध्यक्षमा विष्णु दवाडी र वीरबहादुर सिंजाली, सचिवमा रवि भट्ट, सहसचिवमा अजिता अधिकारी र कोषाध्यक्षमा सूर्य पाठक रहनुभएको छ ।
समितिको दुई जना सदस्य पछि चयन गरिने बताइएको छ । यस्तै, अधिवेशनले आठ जना केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । यसअघि, कैलालीमा पनि क्रान्तिकारी पत्रकारको नेतृत्वमा महिला चयन हुनुभएको थियो । सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुको हक र ऐन कार्यन्वयन गर्नका लागि क्रान्तिकारी पत्रकार संघले सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
‘अझ पनि सञ्चर संस्थामा कार्यरत पत्रकारहरुले न्यूनतम पारिश्रमिक प्राप्त गर्न सकिरहेका छैनन्’, न्यूनतम पारिश्रमिक निर्धारण समितिका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्यले भन्नुभयो, ‘देशका ठूला सञ्चार गृहहरुलेसमेत न्यूनतम पारिश्रमिक लागू गरेका छैनन् ।’ ऐन कार्यान्वयन नभए संचार गृहका मजदुरहरुसँग सहकार्य गरेर आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।
मोफसलमा भन्दा राजधानीका सञ्चारकर्मीहरु झन् पीडित भएको उहाँको भनाइ थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्माले श्रमजीवी पत्रकारहरुलाई क्षमतावान बनाउनका लागि पत्रकार महासंघले देशभर तालिम संचालन गर्न लागेको जानकारी दिनुभयो । ‘अहिले सञ्चालकहरु पारिश्रमिकको कुरा गर्दा पत्रकारहरुको योग्यताको कुरा गर्छन्’, उहाँले भन्नुभयो, ‘पत्रकारहरुले आँफैले आफ्नो क्षमता बढाउन आवश्यक छ ।’
उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले प्रेस स्वतन्त्रता, व्यावसायिक सुरक्षा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक अर्याल, एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष खिलाबहादुर भण्डारी, प्रेस युनियन चितवनका अध्यक्ष बसन्त पराजुली, प्र्रेस चौतारी अध्यक्ष शालिग्राम नेपाल, चितवन गैंडाकोट रेडियो प्रसारक संघका अध्यक्ष भोजराज कौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तीलचन्द्र भट्टराईलगायतल बोल्नुभएको थियो ।
सम्मेलन संघका सम्मेलन आयोजक समितिका संयोजक सुरेशचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी