Wednesday, September 26, 2012

ज्वरोले मर्नेको संख्या तेह्र पुग्यो बाह्र हजार बढी प्रभावित, माडीमा स्वास्थ्यकर्मीको टोली

विधुर ढकाल / बसन्त पराजुली
भरतपुर । भाइरल ज्वरोको कारण चितवनमा मर्नेहरुको संख्या १३ पुगेको छ । त्यस्तै ज्वरोबाट करिब १२ हजारभन्दा बढी प्रभावित भएका छन् । मंगलबार माडी गर्दीका एकै परिवारका दुई दिदीबहिनी र नवलपरासी देउरालीकी एक युवतीको मृत्यु भएसँगै मर्नेहरुको संख्या १३ पुगेको हो ।
मंगलबार बिहान भरतपुर अस्पतालमा माडी–८ गर्दीकी १९ वर्षीया लेखा रेग्मी र दिउँसो उपचारका लागि भरतपुर अस्पतालबाट काठमाडौं लगिएकी उनीकी बहिनी १७ वर्षीया मेनका रेग्मी र चितवन मेडिकल कलेज भरतपुरमा देउराली–८ नवलपरासीकी १८ वर्षीया चिनमाया रजालीको मृत्यु भएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
यता, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले भने मृत्यु हुनेहरुको संख्या आठ पुगेको जनाएको छ । जसमध्ये भरतपुर अस्पतालमा दुई, चितवन मेडिकल कलेजमा छ जनाको मृत्यु भएको कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले जानकारी दिनुभयो । यो तथ्याङ्कमा काठमाडौंमा उपचारका क्रममा मृत्यु भएकी मेनुकालाई समावेश गरिएको छैन ।
त्यस्तै उहाँका अनुसार स्कुल अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज)बाट कुनै पनि बिरामीको मृत्यु भएको जानकारीमा आएको छैन । सम्बन्धित अस्पतालहरुले सही सूचना नदिँदा यकिन तथ्याङ्क भन्न कठिन भएको भेक्टर कन्ट्रोलर केसीले बताउनुभयो ।
पुरानो मेडिकल कलेजका फिजिसियन डा. शंकर लौडारीका अनुसार अस्पतालमा उपचारका लागि आएका चार जनाको मृत्यु भएको छ । ‘जनस्वास्थ्य कार्यालयलाई दिएको तथ्याङ्क मेडिकल वार्डको भएको र अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा यस अवधिमा चार जनाको मृत्यु भएको छ’, डा. लौडारीले भन्नुभयो ।
यसरी मृत्यु हुनेहरु अधिकांश जिल्लाबाहिरका बिरामीहरु रहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । मृत्यु भएका बिरामीहरुमा समयमा नै अस्पताल नआएका कारण उनीहरुको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।
‘ज्वरो आएको लामो समयसम्म गाउँघरका मेडिकलहरुमा औषधि चलाउँछन् अनि अन्तिम भएपछि अस्पतालमा आउँछन्’, चितवन मेडिकल कलेजका फिजिसियन डा. अरुण सेढाईंले भन्नुभयो, ‘अन्तिम अवस्थामा हामीले हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिँदैन ।’ ज्वरोका बिरामीहरुको उच्च ज्वोरोसँगै निमोनियाका कारण शरीरका अंगहरुले काम गर्न छाडेर मृत्यु भएको डा. सेडाईंले बताउनुभयो ।
असारयता, अस्पतालमा बिरामीहरुको चाप बढिरहेको तथ्याङ्कले देखाएको छ । चितवनका ठूला अस्पतालसहित निजी अस्पतालहरुमा गत असारयता १२ हजार १४५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार असार महिनामा दुई हजार १७२, साउन महिनामा तीन हजार २८६ जना र भाद्र महिनामा छ हजार ६८७ जनाको स्वास्थ्य परीक्षण भएको छ । यो तथ्याङ्कले पनि ज्वरोका बिरामीहरुको संख्यामा वृद्धि हुँदै गइरहेको देखाउँछ ।
भाद्र महिनाको अन्त्यतिर केही नियन्त्रणमा आएको ज्वरो असोजको पहिलो हप्तामा परेको अविरल वर्षासँगै वृद्धि भएको जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक जयराम दुवाडीले बताउनुभयो ।
यता, एकै परिवारका दुई दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको चितवनको माडी क्षेत्रमा स्वास्थ्य सहायकको नेतृत्वमा तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली गएको छ । बुधबारबाटै माडी गर्दी गाविसको ७ र ८ नम्बर वडाका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण कार्य सुरू गरेको छ ।
कार्यालयका स्वास्थ्य सहायक निर्मल घिमिरेको नेतृत्वमा प्रयोगशाला प्रविधिज्ञ भीमनाथ घिमिरे र अहेव गोविन्द पौडेलसहितको टोली माडी पुगेर बिरामीहरुको अवस्थाका बारेमा अध्ययन गरिरहेको जनस्वास्थ्य कार्यालयका निमित्त प्रशासक दुवाडीले जानकारी दिनुभयो ।
गर्दी गाविसका यी दुई वडामा ज्वरोको प्रकोप उच्च रहेको गुनासोका आधारमा कार्यालयले टोली त्यसतर्फ पठाएको हो । मंगलबार मृत्युभएका रेग्मी दिदीबहिनी ८ नं. वडाका हुन भने मृतक अर्का एक पुरूष ७ नं. वडाका हुन् ।
टोलीसँग डेङ्गु, मलेरियालगायतका रोगको परीक्षणका लागि किट रहेको जनाइएको छ । टोली शुक्रबार साँझसम्म माडीमा रहने छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी