Wednesday, October 17, 2012

डिजिटल बन्दैछ प्रेम

विधुर ‘प्रिय सिर्जन’मेरी बूढी हजुरआमा मलाई भन्ने गर्थिन्
बाबु, प्रेम गरेर गरेको बिहे तँ सफल हुन्छ भन्ने नठान्
मेरो बिहे नि वाबु, तलाई थाहा छ
उनको मायालु काखमा लठ्ठिएर म सुनिरहेको हुन्थेँ
प्रेम त बाबु बिहेपछि आफैँ हुन्छ
मेरी आमा मलाई भन्ने गर्छिन्
बाबु, तिम्रो बा र म
एकै बिहेपछि प्रेममा बाँधिएका
पहिले न त उहाँले मलाई चिन्नुहुन्थ्यो
न त मैले नै उहाँलाई देखेकी थिएँ ।

प्रेम हुन बाबु पहिला मिलन हुनुपर्छ
अनि सम्झौता पनि

आठ वर्षको हुँदा बिहे भएका मेरा आमाबुबा
आज आफ्नो नाति खेलाउने उमेरका भइसके
आफैँमा केटाकेटी खेल खेल्दै झांगिएको उनीहरुको प्रेम
उनीहरुकै प्रेमका परिणामहरु हामी आज भन्छौँ
प्रेमपछि बिहे हुन्छ
बिहेपछि हुने कुराहरु पनि
हामी भन्छौँ, बिहेअगाडि नै जायज छ ।

आजभोलि हाम्रो प्रेम फेसबुक र र ट्वीटरबाट झांगिन्छ
तिनै फेसबुक र ट्वीटरबाटै बांगिन्छ र टाढिन्छ
र पनि भन्छौँ, बिहेअगाडि प्रेम हुनुपर्छ,
सायद यो हामीले बुझ्न सकेनौँ कि प्रेमको
लागि सम्झौता हुनुपर्छ
वा बुझ्न चाहेनौँ कि
विनासम्झौताको सम्बन्ध कहाँ हुन्छ र ?
म दोधारमा छु ।

हाम्रो प्रेम गर्ने शैली नै उत्तराधुनिक भयो कि ?
खै, यो कस्तो प्रेम हो !
प्रेममा त जीवन खोज्नुपर्ने हो
जीवनको अर्काे नाम नै प्रेम हो
तर हामी प्रेमलाई मृत्युसँग दाँजिरहेका छाँै,
तिम्रा लागि म मर्न पनि तयार छु
थाहा छैन मरेर उसलाई कसरी माया गर्छु !
प्रेम ज्योति हो, प्रकाश हो
हामी प्रेम गर्ने नाममा अन्धकारलाई अँगाल्न चाहन्छौँ ।
भन्छौँ, तिम्रा लागि आकाशको जून टिपिदिन्छु
अरे, खै के हो ! हामीले बुझ्न नसकेको कि के हो ?
आकाशको जून झारेर हामी सधैँ आँैसीमा किन बस्न चाहेको !


अझ हामी भन्छौँ समय बदलियो
अरे, समय बदलिएको कि हाम्रो सोच
हामी बदलिएको कि यो जमाना
सोच्दैछु, आज प्रेम पनि बदलिएको छ
प्रेमको परिभाषा नै बदलिएको छ,
आज डिस्को र बारमा झांगिन थालेको छ प्रेम
फेसबुक र च्याटमा टाँगिन थालेको छ प्रेम
समयसँगै सायद प्रेमको परिभाषा नै डिजिटल बन्दैछ
सायद हामी प्रेम गर्नेहरु पनि डिजिटल बन्दैछाँै कि
प्रेमलाई बदलेर !



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी