Saturday, November 24, 2012

खोज : मानव तस्करीका माफिया





१०८ नेपाली कामदारलाई लिविया लगेर अलपत्र पार्ने धवलागिरि म्यानपावरका तेजप्रकाश पुन हङकङ बसेर मानव तस्करीको सञ्जाल चलाइरहेका छन्। जेबी पुन मगर बाबुराम विश्वकर्मा हङकङबाट फर्केर
धवलागिरि इन्टरनेशनल म्यानपावर सञ्चालक तेजप्रकाश पुन नाताले मेरा ससुरा हुन्। उनले मसहित ३५ जनालाई जनही रु. लाख ८० हजार लिएर जुलाइ २००७ मा मकाउ पुर्याए। त्यहाँ मासिक हजार मकाउ डलरमा निर्माण कम्पनीमा काम गर्नुपर्छ भनिएको थियो। मकाउमा मैले एक वर्ष लुकेर काम गरें। त्यसपछि भिसा समस्याका कारण हामी १२ जनालाई चीनको ग्वाङ्जाउ लगेर एउटा कोठामा तीन महिना राखियो। फेरि मकाउ फर्काएर तीन महिना काम गराएपछि लिविया लैजाने भन्दै ३१ डिसेम्बर २००८ मा नेपाल ल्याइयो। नेपालमा पुनकी श्रीमती टीकादेवी गुरुङले लिवियाका लागि भन्दै थप रु. ३० हजार लिइन्। मासिक ५०० अमेरिकी डलरमा काम गर्ने सम्झ्ाौतापत्रमा १९ मे २००९ मा हस्ताक्षर भयो। तर, लिवियामा ३०० अमेरिकी डलर मात्र भनियो। भनेको काम खाने सुविधा नभएपछि काम गरेको पैसा दिनुस् घर फर्किन्छु भन्दा तेजप्रकाशले आफूलाई अपहरण गर्न खोजेको आरोप लगाई मसहित २३ जनालाई प्रहरी खोरमा हाले। प्रहरीले चरम यातना दियो।
तेजप्रकाश पुन टीकादेवी गुरुङ (पुन) को नाममा ११ वैशाख २०६० मा कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा दर्ता (नं. २३४९५) भएको धवलागिरि इन्टरनेशनल म्यानपावर प्रालिको फन्दामा परेका भैरहवाका डोलेन्द्रबहादुर खत्रीको माथिको बयानलेे लिवियाबाट भर्खरै उद्धार गरिएका १०८ नेपालीको कथा-व्यथा बताउँछ।
हङकङलाई अखडा बनाएर सन् १९९५ देखि मानव तस्करी गर्दै आएका केशबहादुर गुरुङ (आइडी नं. पी ४९६४२९-) राधिका गुरुङ (आइडी नं. पी ३९११८८-) नै तेजप्रकाश पुन टीकादेवी गुरुङ हुन्। शुरुमा हङकङ मकाउमा मात्र नेपाली कामदार पठाएका यो दम्पती सन् १९९७ मा हङकङमा गुर्खाज कन्स्ट्रक्सन लिमिटेड (दर्ता नं. ७९३१९१) खोलेपछि मानव तस्करीको अन्तर्राष्ट्रिय सञ्जालमा पसेका हुन्। यिनीहरूमाथि हङकङ अध्यागमन विभागको निगरानी बढेपछि २००८ देखि यो दम्पतीको कारोबार अफ्रिकी देश लिवियातिर सरेको हो।
नक्कली नागरिकता, विवाह दर्ता पासपोर्टको आधारमा मानव तस्करी गरेको प्रमाण फेला पारेपछि १० डिसेम्बर १९९८ मा तेजप्रकाशलाई हङकङ अध्यागमनका तत्कालीन निर्देशक टम होङ चुङले हङकङ छाड्न आदेश जारी गरेका थिए। त्यतिवेला तेजप्रकाश अध्यागमनबीच हङकङका चार वटै अदालतमा लामो समय चलेको कानुनी लडाइँ चर्चित छ।
नटवरलालको उदय
म्याग्दीको ताकम- मा जन्मिएका मेजरमान खत्री दायाँबायाँ बुझने भएपछि तेजप्रकाश खत्री भए। त्यसपछि तेजबहादुर खत्री क्षेत्री बनेका तिनै मेजरमान अहिलेका चर्चित नटवरलाल तेजप्रकाश पुन हुन्। आठ कक्षामा पुग्दा मेजरमानबाट तेजप्रकाश खत्री भएका उनले एसएलसी परीक्षाको फर्ममा आफ्नो नाम तेजबहादुर खत्री क्षेत्री (रजिस्टे्रशन नं. २५००२) लेखे। प्रकाश मावि बेनीबाट २०३६ सालमा एसएलसीको टेष्ट परीक्षा दिएका उनको जन्ममिति स्कूल रेकर्डमा मङ्सिर २०१८ छ। उनले हङकङ पस्न प्रयोग गरेका तीन वटा पासपोर्टमा भने तीभन्दा पछाडिका फरक जन्ममितिहरू छन्। तेजबहादुर खत्री क्षेत्रीलाई पहिलो पटकको टेष्ट परीक्षामा पाँच विषय लागेको उनका पुराना शिक्षकहरू सम्झ्न्छन्। दोस्रो टेष्टमा चिट चोर्न नपाएको झ्ोंकमा उत्तरपुस्तिका च्यातेर परीक्षा हलबाट बाहिरिएका उनी त्यसपछि कहिल्यै स्कूल फर्केनन्।
गाउँलेहरूले त्यसपछि उनी ब्रिटिश लाहुरे भएको सुने। असोज २०३६ मा म्याग्दी जिप्रकाबाट तेजप्रकाश पुनको नाममा नागरिकता निकालेपछि उनी सन् १९८१ मा बेलायती सेनामा भर्ती भएका थिए (आर्मी नम्बर २११६५०४७) सन् १९९४ मा सिपाही दर्जाबाट अवकाश पाएका उनको नेपाली नागरिकताको प्रमाणपत्र (दर्ता नं. १५२) मा बुबाको नाम नासु दलबहादुर पुन छ। जबकि नापी शाखा बेनीको नापी किताबको पाना नं. २७२७ मा बेनी- स्थित कित्ता नं. २८३ को आना दाममा बनेको चारतले घरको स्वामित्व अहिले पनि प्रकाशका बुबा स्व. दलबहादुर केसी (खत्री)को नाममा छ।


नक्कली कागजात बनाउँदै हङकङमा मानव तस्करी गरेको आशङ्कामा सन् २००० मा प्रहरीले उनको चिम्सासुइस्थित कार्यालयमा छापा मार्दा खाली नेपाली राहदानी, नक्कली कागजात बनाउने मेशिन छापहरू बरामद गरेको थियो। त्यसवेला उनले नेपालीलाई हङकङमा प्राप्त अनअराइभल भिसा सुविधाको सक्दो दुरुपयोग गरेका थिए। परिणाम, जून २००५ देखि हङकङ अध्यागमनले नेपालीहरूलाई सबैखाले प्रवेशाज्ञा बन्द गरिदियो। त्यसपछि मकाउलाई खेलखोर बनाएका तेजप्रकाशको धन्दा जुलाई २०१० देखि त्यहाँ पनि बन्द छ। मकाउ अध्यागमनले पनि नेपालीलाई भिसा बन्द गरेको छ।
शाही शासनकालमा दरबारको विश्वासपात्र भएका तेजप्रकाश पुनको पहुँच नेपालका सबै दलका नेतासम्म छ। शक्तिकेन्द्रलाई रिझ्ाउन खप्पिस उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले वीरेन्द्र-ऐश्वर्य पदक गोर्खा दक्षिणबाहु चौथोबाट सम्मानित गरेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएन)को अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान कोषाध्यक्ष रहेका उनी अहिले पनि एनआरएन लिवियाका प्रमुख सल्लाहकार म्याग्दी भरसिज नेप्लीज एशोसिएसन (मोना) का अन्तर्राष्ट्रिय संयोजक हुन्।
खुराफातको सुरुआत
तेजप्रकाशले आफू ब्रिटिश लाहुरे भए पनि हङकङमा कारोबार थाल्न आइडी होल्डर महिलालाई प्रयोग गरेका छन्। यसनिम्ति उनले कास्कीको घान्द्रुक- का आफू जस्तै पूर्व लाहुरे तेजमान गुरुङ (घोताने साहिँला) की श्रीमती टीकादेवीसँग दोस्रो विवाह गरे। कास्की घाचोक- को ठेगानामा २०३४ सालमा ८०६ नम्बरको नागरिकता लिएकी टीकादेवीसँग राधिका गुरुङको नाममा हङकङ आइडी छ। यसरी तेजप्रकाश पुन राधिकाको पति केशबहादुर गुरुङ बनेर तेस्रो प्रयासमा हङकङ छिरेका थिए।

पुनको म्याग्दीस्थित महल राजधानीको बङ्गला(तल)

मानव तस्करीमा तेजप्रकाशको सहयात्री बनेकी राधिका अहिले हङकङको यूमातेईस्थित पब्लिक स्क्वायर स्ट्रिटमा रहेको आफ्नै फ्ल्याट (फ्लोर १९, ब्लक , प्रोस्परस गार्डेन ) मा बस्छिन्। उनी हङकङ नमोबुद्ध आमा समूहकी उपाध्यक्षको रूपमा धार्मिक/सामाजिक कार्यमा पनि लागेकी छन्। राधिकाको पहिलो पतिबाट २३ वर्षकी एक तेजप्रकाशबाट वर्षकी अर्की छोरी छन्। तेजप्रकाशकी जेठी पत्नी १९ वर्षीय छोरा भने बेलायतमा छन्।
तेजप्रकाशले मानव तस्करीबाट मनग्गे सम्पत्ति जोडेका छन्। काठमाडौं महाराजगञ्जको लोसालमा २६ आना जग्गामा बनेको रुपहाउस उनैको हो। गुर्खाज कन्स्ट्रक्सन लिमिटेडमा केशबहादुर राधिकाको नाममा ५०/५० हजार हङकङ डलर शेयर छ। नेपालमा तेजप्रकाश टीकादेवीकोे नाममा दर्ता धवलागिरि इन्टरनेशनल म्यानपावरको अधिकृत पूँजी रु.४० लाख चालु पूँजी रु.३० लाख छ।
तर, तेजप्रकाशको लिविया प्रोजेक्ट भने असफल भएको छ। तेजप्रकाशले सन् २००८ मा १२०० सय आवासगृह बनाउने ठेक्का पाएको डीएसी कम्पनीले छानेको इन्डोनेसियाली कम्पनी सिकेजीबाट गुर्खा कन्स्ट्रक्सनमार्फत निःशुल्क भिसा टिकटमा १८० जना दक्ष जनशक्ति लिविया पठाउने मेसो मिलाएका थिए। यस अनुसार तेजप्रकाश टीकादेवीले प्रतिव्यक्ति रु. लाख ३० हजारदेखि रु. लाख ७० हजारसम्म असुलेर हङकङबाट २५ बाँकी नेपालबाट गरी १०८ कामदार लिविया लगे।
लिवियाबाट फर्किएका म्याग्दीका मौसम रोकाका अनुसार त्यहाँ मासिक ५०० अमेरिकी डलर दिइने सम्झ्ौता गरेर ३०० डलर पनि दिइएन। यसरी, लिवियामा सात महिनादेखि बिचल्लीमा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काइएको छ। तेजप्रकाश पुन भने कहाँ छन्, कसैलाई थाह छैन।
लज्जाजनक स्थिति
नेपाललाई विश्वले मानव तस्करीको स्रोत देशको रूपमा चित्रण गर्न थालेको छ। अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले २०१० जूनमा सार्वजनिक गरेको ट्राफिकिङ इन पर्सन को रिपोर्टमा नेपाललाई मानव तस्करीको हिसाबले अति जोखिमपूर्ण देशको सूचीमा राखेको छ। उक्त रिपोर्टमा भनिएको , “शुरुमा इच्छापूर्वक गए पनि काम गर्ने देशमा पुगेपछि कामदारलाई थोरै रकममा श्रम गर्न बाध्य पारिएको छ। त्यस्ता कामदार स्वतन्त्र रूपमा हिँडडुल गर्नबाट बञ्चित छन्, शारीरिक यातना धम्की सहन बाध्य छन्। खान सुत्न पाइरहेका छैनन्।
मलेसिया, हङकङ दक्षिणकोरियामा नेपाली महिलालाई वेश्यावृत्तिमा समेत संलग्न गराइएको प्रतिवेदनमा उल्लेख छ।
साथमा देव पचभैया, म्याग्दीमा
(खोज पत्रकारिता केन्द्र)

घाँस खाएर बाँचियो
लालबहादुर क्षेत्री, (४०) कास्की, घान्द्रुक-
खाने-बस्ने सुविधासहित रु.२५ हजार मासिक तलबमा बहराइन जाने तयारीमा रहेको वेला धवलागिरि म्यानपावरकी टीकादेवी गुरुङ उनकी भतिजी कमला गुरुङसँग भेट हुनपुग्यो। मैले आफ्नो घर घान्द्रुक भनेपछि उनीहरूले माइती गाउँका रहेछौ, बहराइन होइन लिविया जानुपर्छ, काम राम्रो , धेरै तलब पाइन्छ भन्न थाले। मैले पासपोर्ट अर्को म्यानपावरमा दिइसकेको छु भन्दा हामी निकालिदिन्छौं धन्दा मान्नुपर्दैन भने। उनीहरूले धेरै फकाएपछि लिविया जान तयार भएँ। बूढा बाउलाई खेतीपाती गाईभैंसीको हेरचाह गर्न भ्याईनभ्याई थियो। श्रीमती प्यारालाइसिस भएकी आमाको सेवामा थिइन्।
सयकडा तीनको ब्याजमा रु. लाख बोकेर पोखराबाट धवलागिरि म्यानपावर आउँदा कमला टीका उतै गएका रहेछन्। २६ साउन २०६५ मा फेरि पोखरा नै पुगेर रु. लाख पुस २०६५ मा रु.३० हजार टीकादेवीलाई दिएँ। पैसा दिएको एक वर्षसम्म झ्ुलाए। हाम्रो टिकट भिसाको सबै खर्च सिकेजी कम्पनीले व्यहोरेको कुरा चाहिँ लिविया पुगेपछि मात्र थाहा पाइयो। त्यहाँ खान नपाएर गाईभैंसीले खाने झ्ार खाएर एकहप्ता बाँचियो। बल्लबल्ल नेपाल फर्किएँ तर साहुको रु.८० हजार तिर्न बाँकी नै छ। सास्ती सम्झ्िँदै जाँदा रिस मात्रै उठ्छ।


राक्षसबाट उम्किएँ
सूर्य लिम्बू
सङ्खुवासभा
लिवियामा कामै दिइएन। १५ दिन मात्र काम पाइन्थ्यो। प्रकाशले राति सुटुक्क पर्खाल नघाएर अलवयेल कम्पनीमा लगेर १५ दिन काम गराउँथ्यो। त्यसरी नगरे पासपोर्ट दिन्न भन्थ्यो। पासपोर्ट सिकेजीले नै राखेको थियो। पछि कम्पनी प्रकाशबीच के ठाकठुक पर्यो, त्यहाँ पनि काम गर्न दिएन। हामीलाई पैसा चाहिँदैन घर फर्काइदेऊ भन्दा मुखै देखाउँथेन। मैले कतारबाट भाइसँग अनि तुलबहादुर तामाङ नोर्बु भोटेले घरबाट एक-एक हजार दिनार मगाएर घर फर्कने टिकट काट्न दिएको पैसा समेत पचाइदियो। अहिले यहाँ आइपुग्दा राक्षसैबाट उम्केजस्तो भएको छ।


हङकङ अध्यागमनको टाउकोदुखाइ




नम्बर २११६५०४७ राइफलम्यान तेजप्रकाश पुनले बेलायती सेनाबाट अवकाशपछि अक्टोबर १९६१ जन्ममितिको सोही नामको नेपाली पासपोर्टबाट फेब्रुअरी १९९४ मा हङकङ गएर इम्प्लायमेन्ट भिसाका निम्ति आवेदन गरे पनि आवश्यक कागजपत्र नपुगेको भन्दै अध्यागमनले भिसा दिएन।
१८ अक्टोबर १९९४ मा फेरि हङकङ जाँदा उनीसँग तेजप्रकाश पुनकै नामको २६ डिसेम्बर १९६१ जन्ममिति लेखिएको पासपोर्ट थियो। यसपटक उनले हङकङमा व्यापारिक भिसाका लागि आवेदन दिए जुन जनवरी १९९५ मा अस्वीकृत भयो। ड्ड उनी २१ मार्च १९९५ मा तेस्रोपटक केशबहादुर गुरुङको नामको नयाँ पासपोर्ट लिएर हङकङ छिरे। यसपटक भने उनले हङकङ आइडी भएकी राधिका गुरुङको पतिको रूपमा जून १९९५ मा १२ महिनाको डिपेन्डेन्ट भिसा पाए। अध्यागमनमा पुनले पेश गरेको विवाह दर्ता प्रमाणपत्रमा राधिकासँग नोभेम्बर १९९४ मा दोस्रो विवाह गरेको देखिन्छ। उनको पहिलो विवाह १९९२ मा भएको हो। अध्यागमनले जुलाई १९९६ मा तीन वर्ष अर्थात् जनवरी १९९९ सम्मका लागि पुनको भिसा बढायो।

२८ अक्टोबर १९९७ मा नेपाल फर्किएका उनी नोभेम्बर १९९७ मा पविता घिमिरेलाई लिएर ब्याङ्कक हुँदै हङकङ छिर्न लाग्दा हङकङ विमानस्थलमा पक्राउ परे। अध्यागमन अधिकारीले पविता घिमिरेलाई केरकार गरेर केशबहादुर गुरुङले मोटो रकम लिएर हङकङ ल्याएको थाह पाए। पविताले केशबहादुरले आफूसँग नक्कली विवाह गरेको बयान पनि दिइन्।
जनवरी १९९७ मा हङकङ अध्यागमन विभागको नियन्त्रणमा परेकी रामकुमारी गुरुङले हजार हङकङ डलर (करिब ६० हजार नेपाली रुपैयाँ) लिएर आफू नगेन्द्र गुरुङको नक्कली विवाह गराई हङकङ बस्ने चाँजोपाँचो मिलाउने एजेन्ट केशबहादुर गुरुङ भएको बयान दिइन्।
फेब्रुअरी १९९७ मा भिजिट भिसामा हङकङ छिरेर डिपेन्डेन्ट भिसा अप्लाई गरेकी मीनाकुमारी गुरुङको कागजात नक्कली देखिएपछि अध्यागमनले उनलाई केरकार गर्यो। त्यसक्रममा मीनाकुमारीले एउटा दलालले पैसा लिएर सबै कागज बनाइदिएको बताइन्। त्यसपछि अध्यागमनले १२ जना दलालको फोटो देखाउँदा मीनाले केशबहादुर गुरुङ अर्थात् तेजप्रकाश पुनलाई चिनाइन्।
स्रोतः हङकङ अध्यागमनले केशबहादुर गुरुङविरुद्धको मुद्दामा अदालतमा पेश गरेको दस्तावेज।
@copyright himal khabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी