Sunday, February 10, 2013

नवलपरासीमा नयाँ लघुवित्त संस्था सञ्चालनमा

स्थानीयलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’
विधुर ढकाल
गैँडाकोट । नवलपरासी जिल्लाको रजहरमा आइतबार मात्र राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको विजय विकास लघुवित्त संस्था लिमिटेड यहाँका स्थानीयलाई भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ । स्थानीय बासिन्दालाई व्यावसायिक बनाएर गरिबी न्यूनीकरणमा योगदान बनाउने लक्ष्य लिएको संस्थाले नवलपरासीमा आफ्नो वित्तीय कारोबार गर्न नपाउने भएपछि यस्तो भएको हो ।


नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी सेवा आरम्भ गरेको संस्थाले नवलपरासी मात्र नभई आफ्नो सेवा आरम्भको अवसरमा लुम्बिनी तथा नारायणी अञ्चलमा समेत सेवा प्रवाह गर्न नपाउने भएको हो । राष्ट्र बैंकले संस्थालाई धौलागिरी अञ्चलका तीन र गण्डकी अञ्चलको एक जिल्लामा सेवा प्रवाह गर्ने अनुमति दिएको संस्थाका महाप्रबन्धक नारायण सापकोटाले जानकारी दिनुभयो ।

‘हामीले सुरूमा धौलागिरि अञ्चलको बाग्लुङ, पर्वत, म्याग्दी तथा गण्डकी अञ्चलको लमजुङमा आफ्नो सेवा प्रवाहका रुपमा अनुमति पाएका छौँ’, उहाँले भन्नुभयो, ‘आगामी पाँच वर्षमा २० वटा जिल्लामा सेवा बिस्तार गर्ने लक्ष्य लिएका छौँ ।’ कार्यक्षेत्र एक स्थानमा रहेको संस्थाले अर्काे स्थानमा कार्यालय स्थापना गर्दा प्रभावकारी नहुने हो की ? भन्ने चितवन पोष्टको जिज्ञासामा महाप्रबन्धक सापकोटाले भन्नुभयो, ‘त्यस्तो लाग्न सक्छ तर हाम्रो नाता नवलपरासीसँग गहिरो छ, हामीले हाम्रो सेवालाई चाँडै नै यहाँ पनि बिस्तार गर्छाैँ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. खतिवडाले सहरी तथा तराईका जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने संस्था धेरै भएकोले यहाँको लागि इजाजत नदिएको जानकारी दिनुभयो । ‘वित्तीय संस्थाहरु धेरै छन्, तर उत्तरतिरका जिल्लाहरुमा यसको पहुँच कम छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर नै पहाडी जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने स्वीकृति दिइएको हो ।’

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय कारोबार सञ्चालनको अनुमति प्राप्त गरेको संस्थाको जारी पुँजी १४ करोड रहेको छ भने चुक्ता पुँजी नौ करोड ८० लाख रहेको छ । १८४ व्यक्तिगत र दुई संस्थागत गरी कुल १८६ जना सेयर सदस्य रहेको संस्थाले साधारण, आकस्मिक, मौसमी वैदेशिक रोजगारी, शैक्षिक तथा लघुउद्यम कर्जा प्रवाह गर्ने जानकारी महाप्रबन्धक सापकोटाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी