Wednesday, February 13, 2013

हाम्रो प्रेमका बारेमा इतिहासकारहरुले ठेली तयार पार्नेछन्

च्याटमा भेटिएकी भर्चुअल प्रेमिका,
प्रेमदिवसको अवसरमा लाखलाख शुभकामना स्वीकार ल..!
हाम्रो भेटको पहिलो वर्ष नाघ्यो आजको यो दिनसँगै । हाम्रो भेट हुँदा त्यो दिन म च्याटमा मस्त थिएँ । तिमी पनि अनलाइनमा रमिरहेकी रहिछ्यौ । फेसबुकमा नोटिसिफिकेसन आउँदा म झुक्किँए । तिमीले मलाई साथी बनाएकी रहिछ्यौ । मैले पनि स्वीकार गरेँ । त्यतिले मात्र पुगेन, ट्वीटरमा पनि मलाई फलो गरिछ्यौ । मैले पनि फलो ब्याक गरेँ । यो वर्षदिनको यात्रा कति चाँडो बितेछ ! न त हाम्रो भेट नै भएको हो, न त प्रत्यक्ष कुराकानी नै । खाली अनलाइनमा टुटेफुटेका रोमन अक्षरहरुको साक्षात्कारले झांगिएको हाम्रो स्नेह आज अर्काे भ्यालेन्टाइन डेसम्म आइपुगेको छ । तिमीलाई शुभकामना यो दिनको साथै, हाम्रो सम्बन्धको वर्षगाँठको पनि ।

कसरी होला भेट, त्यो थाहा छैन तर पनि हाम्रो सम्बन्धले पार गरेको यो दूरी अझै पर पुग्नेछ भन्ने आज आएको अर्काे भ्यालेन्टाइनले मलाई आश जगाएको छ । तिमीलाई पनि यो महसुस भएको होला । फेसबुकको च्याटबाट भएको वार्तालापले नपुगेर आज यो पत्र कोर्दैछु, अन्यथा नलिनू ल...! सायद, प्रेम प्रकट गर्न फेसबुक च्याटले पुगेन होला । ट्वीटरमा मेन्सिँदा पनि १४० अक्षरले मनका सारा भाव व्यक्त भएनन् होला, र त यो पत्र कोर्ने कष्ट गर्दैछु ।

सायद प्रेमपत्र कोर्नुको मज्जा बेग्लै भएर पनि होला र यो पनि होला मनका सबै कुरा निर्धक्क व्यक्त गर्न पनि सकिन्छ भनेर । थाहा छैन, तर पनि कोर्दैछु । पत्रको जवाफ अवश्य पनि पाउने छु । भन्छन्, प्रेमदिवसमा राखिएको प्रस्ताव अस्वीकृत हुँदैन, तर पनि मनमा धक राखेरै पनि पत्र कोर्ने जमर्काे गरेको छु ।

अनलाइनमा तिमीले मलाई सम्बोधन गर्ने शब्द सोच्छु र कल्पना गर्छु, यही त हो नि माया ! सायद, तिमी र मबीचमा अहिलेसम्म अघोषित रुपमा प्रेमको सफर भइरहेको छ । यही सफरलाई एउटा परिभाषाको दायरामा पु¥याउने प्रयास हो । हुन त, म को हुँ ? मेरो पूर्ण परिचय तिमीलाई सायदै थाहा होला । मलाई पनि तिमी को हौ ? तिम्रो वास्तविकता मलाई पनि सायदै थाहा छ । तर, पनि अहिलेसम्म हामी एकअर्काबीच भर्चुअल प्रेमी र प्रेमिकाका रुपमा फेसबुकको च्याटमा रह्यौँ । ट्वीटरको प्राइभेट म्यासेजमा रह्यौँ । तिमीसँग कति बातचित हुँदा च्याटमा न तिमीले मेरो सम्पर्क नम्बर नै माग्यौ, न मैले नै तिम्रो मागेँ । न तिमीले म कस्तो छु जान्न नै चाह्यौ, न मैले नै । तर, पनि हामीबीचको यो सम्बन्ध कति नजिकको भयो भन्ने फेसबुकमा गरिएका कमेन्टले पनि झल्काउँछ । ट्वीटरमा मेन्सिएका ट्वीटले पनि जनाउँछ, हाम्रो सामिप्यता ।

सायद, यो एक वर्षमा त्यस्तो कुनै दिन होला, जुन दिन तिम्रो र मेरो च्याट नभएको होस् ! तिमी भन्ने गथ्र्यौ तिमीसँग च्याट नगरी मलाई निद्रादेवीले पनि माया गर्दिनन् । मलाई पनि त त्यस्तै हुन्छ । कुनै दिन लोडसेडिङले हाम्रो भेट हुन दिएन भने र कुनै दिन इन्टरनेट स्लो भएर कुरा हुन पाएन भने कस्तो हुन्थ्यो तिमी र मलाई ? यहाँ के वर्णन गर्नु छ र ! समयमा तिमीसँग बातचित गर्न नपाउँदा कहिले विद्युत् प्राधिकरणलाई सराप्ने तिमी अनि कहिले म नेपाल टेलिकमलाई सराप्ने गथ्र्यौं नि होइन ? सायद यसलाई नै माया भन्ने गरिन्छ होला ! कस्तो सम्बन्धको सुरूवात भएको हो हाम्रो, कसरी र कुन प्रसंगमा भेट भो अनलाइनमा र कसरी सम्बन्ध बढ्यो, त्यो अहिले पनि म सम्झना गरिरहेको छु । तिमी अल्टर भन्दै सम्बोधन गर्दा मायालु पाराले म फुरूङ्ग ! तिमी मलाई जिस्काइरहेकी हुन्थ्यौँ, म त्यसै मख्ख परिरहेको हुन्थेँ ।

सायद हामीबीचको सम्बन्ध तिम्रो र मेरो भेट भएको भए यति धेरै झाङ्गिने र यति प्रगाढ पनि हुने थिएन होला, अहिले जुन सामिप्यता हाम्रो सम्बन्धले पाएको छ । सायद हाम्रो भूगोलको दूरी टाढा होला, हामी जुन र जस्तो दुनियाँबाट सम्पर्कमा छौँ, तर हाम्रो सम्बन्धको प्रगाढता ल्याइदिने यो सामाजिक सञ्जाललाई धन्यवाद दिनैपर्छ । फेरि यो व्यवस्था नभएको भए हाम्रो दुनियाँ जसरी एक वर्षभन्दा अगाडि फरक थियो, त्यस्तै फरक अहिले पनि हुने थियो । यो भर्चुअल दुनियाँमा तिम्रो र मेरो सम्बन्ध एक भर्चुअल प्रेमी र प्रेमिकाका रुपमा स्थापित भएको छ । त्यही सम्बन्धको विधिवत् रुपमा उद्घाटन गर्न चाहेको छु, म । तिम्रो सामु न त म यतिबेला कुनै गुलाबको साक्षात् थुँगा नै चढाउन सक्छु, खाली चढाउन सक्छु त अनलाइनकै भर्चुअल गुलाब अर्थात् मायाका चुम्बनहरु । यो भर्चुअल सम्बन्धले अजरता पाउने छ भन्ने आशा छ । सम्बन्धको अजरताका लागि तिमीसँगै जीवनभरको यो भर्चुअल सम्बन्धका लागि प्रस्ताव राख्दैछु, स्वीकार ल...!

सायद, मैले चाहेँ भने र तिमीले पनि चाह्यौ भने हाम्रो भर्चुअल प्रेम रियल प्रेममा बदलिन पनि सक्छ, तर पनि म चाहन्नँ कि हाम्रो माया रियल होस् । तिमीले पनि त्यस्तै चाहेकी छौ । हाम्रो माया भर्चुअलिटीमा नै पवित्र छ । सायद, हाम्रो मायालाई रियालिटीतर्फको गोरेटोमा डो¥याउन खोज्यौ भने अहिलेको पवित्रता हामीले गुमाउँदै जान्छौँ होला र हाम्रो सम्बन्धको प्रगाढता पनि घट्दै जान्छ होला ! त्यसैले पनि म चाहन्नँ, हाम्रो मायाले यो प्रगाढता गुमाओस्, पवित्रता गुमाओस् अनि तिम्रो पनि चाहना त्यही हो । तिमीले पनि सुनेकी छौ र मैले पनि नसुनेको कहाँ हो र ! हिजो भर्चुअल दुनियाँमा भेटिएका नवयुवायुवतीहरु आज रियल प्रेमको रंगमञ्चमा मञ्चिन पुग्छन् । यौनको समागमबाट तिर्खा मेटाएपछि रियल प्रेम भन्नेहरु नै प्रेम धोखा हो, प्रेम कसैले पनि नगर भन्दै दर्शन छाँट्दै हिड्छन्, पवित्र प्रेमको खिल्ली उडाउँदै । त्यसैले, हामी त्यस्तो गर्न सक्दैनौँ, किनकि हाम्रो पवित्र प्रेम भर्चुअलमा नै रमाइरहेको छ ।

तिमी र म आज यो दिवसको दिन कसम खाऊँ कि हाम्रो प्रेम आजको दुनियाँका लागि एउटा पवित्र प्रेमको उदाहरण हुनेछ र भोलिका प्रेमीप्रेमिकाहरुलाई नमुना हुनेछ । हाम्रो प्रेमका बारेमा इतिहासकारहरुले इतिहासका ठेली तयार पार्न सकून् । साहित्यकारहरुले लाखौँ सिर्जना कोर्न सकून् । प्राध्यापकहरु थेसिसका विषयहरु छनोट गर्न सकून् । त्यसैले त मेरी भर्चुअल प्रेमिका, तिमीलाई यो प्रेमदिवसको अवसरमा भर्चुअल प्रेमका लागि यो प्रेमपत्र भेटीका रुपमा चढाउने प्रयास गर्दैछु, अवश्य पनि मेरो साथ तिमीले दिनेछौ ।

दुनियाँमा प्रेम कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण बन्नु छ हामीले आज, किनकि आज संसारबाट प्रेम नै अपहरणमा परेको छ । अपहरणमा परेको प्रेम फिर्ताका लागि आज यौनको फिरौती मागिरहेको बेला हामी पनि यसको अपहरणमा संलग्न हुनेछैनौँ । प्रेम अहिले यौनका रुपमा परिभाषित भइरहेको बेला यो परिभाषालाई बदल्ने हाम्रो काँधमा जिम्मेवारी आइपुगेको छ । म तयार छु यसका लागि र तिमी पनि तयार छौ, हैन ? सुन्दरताको परिभाषा रुपलाई दिइरहेका बेला हामी भने भावनालाई दिने प्रण गरौँ । तिमी र म भावनात्मक प्रेमको भर्चुअल संसारमा नवीन प्रेमीप्रेमिकाका रुपमा उदय हुनेछौँ ।

मेरी भर्चुअल प्रेमिका, हाम्रो प्रेम सुखान्त र ऐतिहासिक हुनेछ । आजको यो प्रेमदिवसले यो प्रेरणा हामीलाई प्रदान गर्नेछ । सायद, यसका जन्मदाता पादरी भ्यालेन्टाइन पनि हाम्रो प्रेमदेखि प्रसन्न हुनेछन्, किनकि यहाँ रियल प्रेमका नाममा धोखाबाजी भइरहेको छ ।

हाम्रो मित्रताको वर्षगाँठमा नवीन भ्यालेन्टाइनका अवसरमा भर्चुअल प्रेमका लागि भर्चुअल प्रेम–प्रस्ताव राख्दछु– आई लब यु, माई भर्चुअल लब थ्रु दी कर्नर अफ दी भर्चुअल हार्ट ।

ल त, बिदा लिन्छु है । हाम्रो भेट हरेक दिनजसो फेरि पनि भर्चुअल संसारमा अनलाइन च्याटमा हुनेछ । टाटा, बाई ! 

उही तिम्रो भर्चुअल प्रेमी
अल्टर कान्छो ।

1 comment:

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी