Friday, April 26, 2013

पोल्ट्रीमा बैंकको अर्ब बढिको लगानी

बर्डफ्लुको मारमा किसान ः क्षतिपूति न्यून  
नारायणगढ । पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा पछिल्लो केही सातायता कुखुरापालक किसान तथा व्यवसायीलाई बर्डफ्लुले ठूलो क्षति पु¥याएको छ । पाँच जना किसानलाई प्रत्यक्ष रुपमा क्षति पु¥याएको बर्डफ्लुले यहाँका बाँकी किसानलाई समेत चिन्तित बनाएको छ ।

अर्बाैंको लगानी रहेको चितवनको यस व्यवसायमा बैंकहरुको मात्र एक अर्ब रुपैयाँभन्दा माथिको ऋण लगानी रहेको छ । त्योभन्दा बढी किसानहरुले आफ्नै पुँजी लगाएका छन् ।


चितवनको पोल्टी क्षेत्रमा कृषि विकास बैंकको मात्र करिब पचास करोड रुपैयाँ बराबरको ऋण लगानी रहेको छ । त्यतिकै हाराहारीमा अन्य निजी बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गरेका छन् ।


कृषि विकास बैंकको भरतपुर शाखाबाट मात्र किसानहरुले चैत मसान्तसम्ममा १८ करोड ७३ लाख २२ हजार रुपैयाँ ऋण लिएका छन् । जुन विशुद्ध पोल्ट्री व्यवसायका लागि भनेर प्रवाह गरिएको ऋण हो । यो ऋण लगानी कार्यालयको कुल लगानीको ३३ प्रतिशतभन्दा बढी हो । कार्र्यालयबाट ५६ करोड ५२ लाख १४ हजार रुपैयाँ ऋण प्रवाह भएको बैंकको तथ्याङ्क शाखाका लीलाबहादुर अधिकारीले जानकारी दिनुभयो ।


त्यस्तै कृषि विकास बैंकको पर्सा शाखाबाट ४८ करोड ८३ लाख ७९ हजार रुपैयाँमध्ये १४ करोड एक लाख आठ हजार रुपैयाँ पोल्ट्रीमा ऋण लगानी भएको छ । हाकिमचोक शाखाबाट कुल ४५ करोड ४१ लाख ८१ हजार रुपैयाँमध्ये आठ करोड १७ लाख ३३ हजार रुपैयाँ र गुञ्जनगर शाखाबाट कुल लगानी २१ करोड ८० लाख ६० हजार रुपैयाँमध्ये पाँच करोड ३१ लाख २६ हजार रुपैयाँ पोल्ट्रीमा ऋण लगानी गरिएको छ ।


बैंकको माडी र नारायणगढ शाखाबाट करिब ३५/३५ लाख रुपैयाँ पोल्ट्रीमा लगानी भएको छ । तर टाँडी शाखाबाट पोल्ट्रीमा कुनै पनि लगानी भएको छैन ।


यता, कुल ग्राहस्थ्य उत्पादनमा ३७ दशमलव ४३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बंैकहरुको लगानी कम भएको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०६९ मा वित्तीय संस्थाहरुको कृषि क्षेत्रको लगानी तीन प्रतिशतमात्र रहेको भन्दै यसलाई बढाउन निर्देशन दिएको छ ।


सोहीअनुरुप सञ्चालनमा रहेका बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउँदै गएका छन् । केन्द्रीय बैंकको निर्देशनबमोजिम राष्ट्रिय वाणिज्य बैंकले समेत यो क्षेत्रमा हात हालेको छ । चितवनमा फष्टाएको पोल्ट्रीमा लगानी गर्ने नीति लिएको वाणिज्य बैंक पछिल्लो समयमा बर्डफ्लु देखा परेपछि झस्किएको छ ।


‘अहिलेसम्म हाम्रो लगानी पोल्ट्रीमा खासै छैन, अब बढाउँदै लैजाने सोचमा थियौं’, बैंकका भरतपुर शाखा प्रबन्धक सीताराम अधिकारीले भन्नुभयो, ‘पछिल्लो समयमा देखिएको बर्डफ्लुले गर्दा अन्यौलमा छौँ ।’ बंैकले करिब दुई करोड २५ लाख रुपैयाँको हाराहारीमा पोल्ट्री क्षेत्रमा लगानी ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो ।


त्यस्तै पछिल्लो क्रममा ग्लोबल बैंक, आईएमई फाइनान्सियल लि. र लर्डबुद्ध फाइनान्स लि. गाभिएर बनेको ग्लोबल आईएमई बैंकको नारायणगढ शाखाबाट करिब पाँच करोड रुपैयाँको हाराहारीमा पोल्ट्रीमा लगानी गरेको बैंकको भरतपुर शाखाका भुपेन्द्र ढकालले जानकारी दिनुभयो ।


त्यस्तै चितवनको पोल्ट्रीमा कामना विकास बैंकले करिब दुई करोड रुपैयाँ, एक्सिस बैंकले दुई करोड र सिद्धार्थ बैंकले एक करोड पचास हजार रुपैयाँ ऋण लगानी गरेका छन् । चितवनमा केन्द्रीय कार्यालय रहेका विभिन्न बैंक तथा वित्तीय संस्थासँगै यहाँ शाखा कार्यालय भएका बैंकहरुले समेत कृषि क्षेत्रको ऋण लगानी प्रमुख रुपमा पोल्ट्रीलाई नै लिएका छन् ।


यहाँ सञ्चालनमा रहेका अधिकांश बैंकहरुको लगानी करोडभन्दा माथि रहेको छ । त्यस्तै गाँउगाँउमा खुलेका सहकारी संस्थाहरुले समेत पोल्ट्रीका क्षेत्रमा ऋण लगानी गरेका छन् । यसरी बैंक तथा वित्तीय संस्थाहरुको ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका किसानहरुले व्यवसायमा घाटा आउँदा वा क्षति हुँदासमेत बैंकहरुबाट खासै सहुलियत पाउँदैनन् । न त सरकारबाट नै पर्याप्त मात्रामा क्षतिपूर्तिको व्यवस्था हुन सकेको छ ।


सरकारले बर्डफ्लु नियन्त्रण टोलीले मारेर नष्ट गरेको परिमाणका आधारमा प्रतिकुखुरा १३० रुपैयाँ, दाना प्रतिकिलो १० रुपैयाँ र अण्डा प्रतिगोटा ३ रुपैयाँमात्र दिने गरेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले जानकारी दिनुभयो । टोलीले मारेर नष्ट गरेको बाहेक बर्डफ्लुकै कारण मरेका कुखुराको क्षतिपूर्ति दिने प्रावधान छैन ।


पछिल्लो एक महिनाको अवधिमा चितवनमा लगातार पाँचवटा पोल्ट्री फर्ममा बर्डफ्लु देखा प¥यो । त्यसबाट यहाँका किसानले करोडौँको क्षति ब्यहोर्नु प¥यो ।


३७ हजार ८०१ वटा संक्रमित कुखुरा  नष्ट
जिल्ला पशुसेवा कार्यालय तथा पंक्षी रोग अन्वेषण प्रयोगशालाको प्रविधिक टोलीले ३७ हजार ८०१ वटा संक्रमित कुखुरा मारेर नष्ट गरेको पशुसेवा कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । त्यति नै संख्यामा कुखुराहरु बर्डफ्लुका कारण पहिल्यै मरेको पीडित किसानहरुले बताएका छन् ।

टोलीले सबैभन्दा भरतपुर–९ की लक्ष्मी राणाको पोल्टी फर्मका २६ हजार ३२५ कुखुरा मारेको हो । उनको फर्ममा ५२ हजार कुखुरा रहेकोमा बाँकी यसअघि नै बर्डफ्लुका कारण मरेका थिए । योसँगै टोलीले भरतपुर–९ कै चित्रबहादुर श्रेष्ठको फर्मका दुई हजार ८७६, मंगलपुर–७ का राजेन्द्र हमालको फर्मका ३२५, मंगलपुरकै रामबाबु थपलियाको फर्मका तीन हजार १७५ र भरतपुर–८ गौरीगञ्जका प्रताप थापाको दुई हजार २०० कुखुरा मारेको छ ।


टोलीले तीन लाख १८ हजार ७४१ वटा अण्डा र १०७ टन दाना नष्ट गरेको पशुसेवा कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । सबैभन्दा बढी राणाको फर्मबाट तीन लाख १५ हजार अण्डा र १०० टन दाना नष्ट गरेको हो ।


पटकपटक चितवनका व्यवसायीहरुले बर्डफ्लुको संक्रमण लुकाउने गरेको चर्चा चल्ने गर्छ । करोडौँको लगानी एकैपटक नष्ट हुँदा किसानले उचित क्षतिपूर्ति नपाउँदासम्म बर्डफ्लु यसरी नै लुकिरहने एक व्यवसायीले बताए ।  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी