Friday, April 27, 2012

जातीय आधारमा संघीता हुन नहुने

नारायणगढ । मुलुकमा जातीय आधारमा संघीय प्रदेशको निर्माण गर्न नहुने सभासद् एकनाथ ढकालले बताउनुभएको छ । शुक्रबार एक कार्यक्रममा सहभागी हुन नारायणगढ आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल बहुभाषिक बहुजातीय मुलुक भएकाले जातीय आधारमा संघीयता बनाउन नहुने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘नेपाल बहुभाषिक बहुजातीय मुलुक हो, यसलाई जातीय आधारमा विभाजन गरे विखण्डन आउने खतरा हुन सक्छ, त्यसैले बहुसांस्कृतिक पहिचानसहितका संघीय एकाइको निर्माण गर्नु पर्दछ ।’
यसको मतलब जातिलाई पहिचान नदिने नभई संघीय प्रदेशमा बहुसंख्यक जातिहरुलाई निश्चित जनसंख्या र ऐतिहासिक आधारमा पहिचानसहितको स्वयत्तता दिनुपर्ने उहाँको भनाइ थियो । केन्द्र शासित प्रदेशसहित सात प्रदेशको निर्माण उपयुक्त हुने नेपाल परिवार दलका अध्यक्षसमेत रहनुभएका ढकालले बताउनुभयो ।
एकअर्काे प्रसंगमा जेठ १४ मा संविधान जारी हुने कुरामा कुनै शंका नभएको उहाँको भनाइ थियो । ‘विभिन्न किसिमका सर्वदलीय बैठक बसेर संविधान निर्माणका विषयमा सहमति गराउने कामहरु अगाडि बढिरहेकोले जेठ १४ मा संविधान जारी हुने पक्का भएको छ’, उहाँले दावी गर्दै भन्नुभयो ।
संविधानसभा गठन हुँदा २५ वटा राजनीतिक पार्टीका विभिन्न विचारहरु संविधानसभामा पुगेको र सबैको विचारलाई मिलाएर लैजान सजिलो पनि नभएको उहाँले बताउनुभयो । त्यसैले पनि संविधान निमार्णमा चार वर्ष लागेको उहाँको भनाइ थियो ।
यसैबीच अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा शुक्रबार नारायणगढमा ‘काम र परिवारमा सन्तुलनको आवश्यकता’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष ढकालले पछिल्लो समयमा पारिवारिक विखण्डन बढ्दै गएकोले देश बलियो र व्यवस्थित बन्न नसकेको बताउनुभयो ।
युनिभर्सल पिस फेडेरेशन जिल्ला परिषद् चितवनले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका ढकालले परिवार बलियो नभए राष्ट्र बलियो हुन नसक्ने भन्दै व्यक्तिको काम र परिवारमा सन्तुलन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दयाराम कँडेललगायतले बोल्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको कार्यक्रम फेडेरेसन चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी