Friday, April 27, 2012

शुल्कवृद्धिविरुद्ध प्रिन्सिपलको कक्षमा ताला

भरतपुर । निजी विद्यालयमा गरिएको शुल्कवृद्धिको विरोधमा निजी विद्यालयका लेखा शाखामा तालाबन्दी गरेका चितवनका चार विद्यार्थी संगठनहरुले शुक्रबार विद्यालयका प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
नयाँ शैक्षिकसत्रदेखि विद्यार्थी भर्ना तथा मासिक शुल्कमा भारी वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रेको संयुक्त विद्यार्थी संघर्ष समिति चरणवद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनअनुसार शुक्रबार भरतपुरको स्मलहेभन, सनराइज, वाल्मिकि शिक्षा सदन, लिटिल फ्लावरलगायत ३० वटा निजी विद्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।
विद्यार्थीले उठाएको मागका विषयमा बोर्डिङ स्कूलका सञ्चालकले बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज भट्टले बताउनुभयो । विद्यार्थीको आन्दोलनको सुनुवाई नभए सम्पूर्ण विद्यालय नै बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिने चेतावनी उहाँले दिनुभयो ।
निजी विद्यालयमा काम गर्ने शिक्षकहरुले सरकारी सेवा सुविधासरह आफूले तलब वृद्धि पाउनु पर्ने भन्दै गरेको आन्दोलनका क्रममा नयाँ शैक्षिकसत्रपछि शुल्कवृद्धि गरेरमात्र शिक्षकलाई बढेको तलब दिने सहमति भएको थियो । त्यही सहमतिलाई आधार बनाइ निजी विद्यालयले मनपरि शुल्कवृद्धि गर्दा आन्दोलनमा उत्रनुपरेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
शिक्षक र विद्यार्थीको दोहोरो आन्दोलन भएपछि बोर्डिङ स्कुल सञ्चालक चेपुवामा परेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी