Friday, April 27, 2012

चितवनका युवा लाग्दैछन् गाईपालनमा

भरतपुर । गाईभैँसी पाल्नु युवाहरुको काम होइन भनिन्थ्यो । पढेलेखेकाले त झन् गोठतर्फ हेर्नसमेत मान्दैनन् भन्ने मान्यता थियो । तर यो कुरा अचेल पुरानो हुँदैछ । चितवनमा पछिल्लो समय पढेलेखेका युवाहरुले पनि गाई पालेर इज्जत र नगद आर्जन गर्न थालेका छन् ।
चितवन भरतपुर नगरपालिकाको प्रेमबस्तीका आनन्द निउरेले स्थानीय प्रेमबस्ती माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसबाट अंगे्रजी विषय लिएर बीए पास गरेका आनन्द अचेल गाईपालनमा चितवनमा कहलिएका व्यक्ति हुन् ।
‘बिहान ४ बजे उठेर गाईको गोठमा जान्छु । दाना पानी दिने र दूध दुहुने काम गर्दा ८ बज्छ’, ३९ वर्षीय निउरेले भने । उनको गोठमा साना ठूला गरेर ३४ वटा गाई छन् । जसमध्ये १४ वटा गाई दूधालु नै छन् ।
झण्डै १० वर्षअघि गाईपालन सुरू गरेका निउरेले तीन वर्षयता गाईको संख्या ह्वात्तै बढाएका हुन् । चितवनमा व्यावसायिक रुपमा गाई पाल्नेहरुको संख्या योबीचमा नै बढेको हो । व्यावसायिक गाईपालकहरु संगठित पनि भएका छन् ।
गत कात्तिकमा गठन भएको व्यावसायिक दुग्ध उत्पादक कृषक समाजको अध्यक्ष पनि निउरे नै हुन् । समाजमा हाल ९४ जना संगठित भएका छन् । जसमा ५० जनाभन्दा बढी गाईपालक ४० वर्षभन्दा कम उमेरमा युवाहरु नै रहेका छन् भन्छन् उनी ।
‘हामीले १० भन्दा बढी गाईभैँसी पालेकाहरुलाई मात्र समेटेका छौं । यसरी व्यवस्थित रुपमा व्यावसायिक दृष्टिले गाई पाल्नेमा युवाहरुको बाक्लै उपस्थिति देखिएको छ’, निउरेले जानकारी दिए । समाजमा आवद्ध ३४ जनाले १० देखि १५ वटासम्म गाई पालेका छन् ।
त्यस्तै १५ वटाभन्दामाथि पाल्ने ४० जना र ३० वटाभन्दा बढी गाई पाल्ने व्यक्तिहरु २० जना रहेका छन् । सबैभन्दा बढी गाई पाल्ने खेमराज तिमिल्सिना रहेका छन् । पटिहानीको ब्रह्मपुरीमा उनको ७४ वटा गाई छन् ।
‘सबैभन्दा बढी गाई पाल्ने तिमिल्सिनाजी पनि ४० वर्ष वरपरकै हुनुहुन्छ । अझ उहाँले गाई पालेको त वर्षांै भइसक्यो’, समाजका अध्यक्ष निउरेले भने । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.विष्णुकुमार श्रेष्ठ दूध उत्पादनमा साह्रै उत्साहजन रुपमा युवा संलग्नता बढेको बताउँछन् ।
‘जानेबुझेको युवाले हात हालेमा यो व्यवसाय व्यवस्थित रुपमा अगाडि बढ्छ’, प्रमुख श्रेष्ठले भने । युवा संलग्न भएका गाईका गोठहरु अत्याधुनिक छन्, फोहरमैला छैन । यसले गुणस्तर र स्वस्थ दूध उत्पादनमा टेवा पुग्ने श्रेष्ठले बताए ।
विदेश गएर फर्केका युवाहरु यसमा लागेका छन् । उनीहरुको प्रेरणाले विदेश जान ठिक्क परेका युवाहरुसमेत गाईपालनमा हात हाल्न थालेका छन् । विदेश गएर धेरै मिहेनत पसिना बगाएर प्राप्त गरेको कमाइभन्दा गाईपालनबाट हुने आम्दानी धेरै भएको निउरेको अनुभव छ ।
‘घर गाउँमै बसेर कमाउने अवसर हो यो । फेरि हामीले दूधजस्तो अमृत उत्पादन गरेर बजारको माग पूरा गरेका हौं । यो कामले आत्मसन्तुष्टि पनि दिन्छ’, निउरेले भने । नेपालमा चार÷पाँच वर्षयता दूधको खपत बढपछि गाईभैँसी पाल्नेहरु पनि बढेका हुन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी