Saturday, April 28, 2012

‘जातीय विभेद फैलाउने संविधान अमान्य’

नवलपरासी । ब्राह्मण समाज नेपालका केन्द्रीय महासचिव रोमणिप्रसाद पाठकले राष्ट्रको सार्वभौम अखण्डतामाथि प्रहार गर्ने र जातीय विभेद फैलाउने संविधान बने त्यस्तो संविधान च्यातिने र जलाइने चेतावनी दिनुभएको छ ।
‘नेपाल राज्यको पुनर्सरचना गर्दा कुनै पनि जात वा जातीय विशेषाधिकारका नाममा नभई भूगोलका आधारमा हिमाल, पहाड र तराईलाई समेटेको संघीय राज्यमात्र ब्राह्मण, क्षेत्री, दसनामीलगायतका छवटा जातीय संगठनमा रहेका ५५ प्रतिशत नागरिकलाई मान्य हुनेछ’, पाठकले भन्नुभयो ।
नवलपरासीको अग्यौली–९ डण्डामा शुक्रबार आयोजित ब्राह्मणहरुको बृहत् गाउँ सभालाई सम्बोधन गर्दै पाठकले सो बताउनुभएको हो । सो अवसरमा समाजका केन्द्रीय कोषाध्यक्ष पुष्पराज तिमल्सिनाले जातीय राज्यको निर्माणले जातीय विभेद निम्त्याउने हँुदा देशलाई नाइजेरिया, इथियोपिया र सुडानको हालतमा पुग्न नदिन पनि मिश्रित प्रणालीमा आधारित संघीय राज्य निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सभाकी अर्का वक्ता समाजकी केन्द्रीय सदस्य शारदा पौडेलले राज्यले विभेद गरी अन्य जाति भनी सूचीकृत गरिएका ब्राह्मण, क्षेत्री, दसनामीलगायतका संगठित शक्तिहरुले आन्दोलन गरेरै आफ्नो आदिवासी अधिकार स्थापित गर्ने बताउनुभयो ।
सभामा ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य एवम् नवलपरासी जिल्ला अध्यक्ष ज्ञानेश्वर ज्ञवाली, छत्रराज बगाले, क्षेत्री समाजका केन्द्रीय सदस्य डीबी अधिकारी, जिल्ला अध्यक्ष मानबहादुर थापा, उपप्राध्यापक मनोहर पराजुली, प्रेम बस्याल, केशर बानियालगायतले मन्तव्य राखेका थिए ।
कोल्हुवा, तम्सरिया, कुमारवर्ती, देउरालीलगायतका विभिन्न गाउँबस्तीबाट भजन कीर्तनसहित आएका झाँकीहरुले सजिएको ब्राह्मण सभा ब्राह्मण समाज अग्यौलीका अध्यक्ष दामोदर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी