Tuesday, April 24, 2012

‘प्लाष्टिकले मानव स्वास्थ्यमा गम्भीर समस्या’

गत वर्ष भएको चितवन बन्दको क्रममा नारायणगढ बजारमा थुप्रिएको फोहोर । फोहोरको थुप्रोमा अधिकांश प्लाष्टिकजन्य वस्तुहरु छन् ।


 भरतपुर । प्लाष्टिक निर्माणका लागि प्रयोगमा ल्याइने रासायनिक तत्व क्रोमियम र कप्परले मानिसलाई क्यान्सरसम्म हुने भएकाले प्लाष्टिक जथाभावी फाल्न नहुने बताइएको छ ।
भरतपुर नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले जथाभावी फालिएका प्लाष्टिकहरुलाई व्यवस्थित ढङ्गबाट नष्ट गर्न आग्रहसमेत गरेका थिए । 
वातावरणीय इन्जिनियर शालिग्राम पौडेलले जथाभावी फालिएका प्लाष्टिकले ढलहरु पुरिने, जीवजन्तुले खाने गरेकाले गम्भीर असर पर्ने बताउनुभयो । ‘प्लाष्टिक नकुहिने वस्तु हो, यसले गम्भीर असर गर्छ । बिरुवाको जरामा प¥यो भने यसले बिरुवा हुर्कन रोकी मारिदिन्छ’, उहाँले भन्नुभयो, ‘जीवजन्तु र प्रकृति सबैलाई असर गर्ने भएकाले पनि प्लाष्टिकको जथाभावी प्रयोग रोक्नु पर्छ ।’
फोहोर व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि क्रियाशील मेघनाथ अधिकारीले गम्भीर समस्या हुने सवालमा सामुदायिक स्तरबाट बहस हुन नसकेको बताउनुभयो । ‘प्लाष्टिकले जीव तथा जैविक क्षेत्रमा नकरात्मक प्रभाव पार्छ’,उहाँले भन्नुभयो, ‘यो फाल्दा पनि समस्या नै छ, पोल्दा वा गाड्दा पनि समस्या छ ।’
अत्यावश्यक अवस्थामा प्रयोग गर्ने र त्यसलाई पुनः प्रयोग वा प्रशोधन गर्ने गरेमा पनि प्लाष्टिकजन्य फोहोर नियन्त्रण गर्न सकिने उहाँको तर्क छ ।
भरतपुर नगरपालिकामा मात्रै हरेक दिन २० टन घरेलु फोहोर निस्कन्छ । जसमध्ये ७० प्रतिशत कुहिने खालका छन् भने ३० प्रतिशत नकुहिने खालका छन् । नकुहिने फोहोरमध्येमा पनि झण्डै साढे आठ प्रतिशत प्लाष्टिकजन्य फोहोर रहेको भरतपुर नगरपालिकाले जनाएको छ ।  
प्लाष्टिकको झोला नियमन तथा नियन्त्रण गर्नका लागि २०६८ मै निर्देशिका बनेर कार्यान्वयनमा आएको छ, तर चितवनमा यो लागू भएको छैन । यो ऐन लागू नहँुदा अहिले जथाभावी रुपमा फालिएका र प्रयोगमा ल्याइएका प्लाष्टिकले वातवरणीय प्रभाव त पारेको छ नै यसले मानवीय स्वास्थ्यमा पनि गम्भीर असर गरेको छ । 
ऐनले पनि प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा नियन्त्रणको जिम्मेवारी स्थानीय निकायलाई छ, तर भरतपुर नगरपालिकाले यसको कार्यान्वयन गर्न सकेको छैन । नगरपालिकामा सरसफाइ तथा वातावरण कार्यक्रम हेर्ने इञ्जिनियर विराट घिमिरेले दण्ड लगाएर मात्रै नियन्त्रण गर्नेतर्फ नगरपालिका नलागेको बताउनुभयो ।
‘नगरवासीले आफँै आफ्नो बानीमा सुधार ल्याएर प्लाष्टिक प्रयोगमा कमी ल्याए भने मात्रै पनि समस्याको समाधान त निस्कने छ नि !’ उहाँले भन्नुभयो । प्लाष्टिक व्यवसायी संघका अध्यक्ष राजेन्द्र ओलीले प्लाष्टिक समस्याभन्दा पनि यसको व्यवस्थापन समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्लाष्टिकको ‘मिसयुज’ घटाऊ र ‘रियुज’ बढाऊ ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी