Tuesday, April 24, 2012

पहिचान सुनिश्चितताको माग गर्दै प्रशासनमा

भरतपुर । राज्य पुनर्संरचना एवम् संविधान निर्माण गर्दा आफूहरुको पहिचान सुनिश्चितताको माग गर्दै मंगलबार दुई छुट्टाछुट्टै समुदायले जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका छन् । उनीहरुले धर्ना दिँदा जिल्ला प्रशासन कार्यालय चितवनमा काम गर्न आएका सर्वसाधारणले कठिनाइ भोग्नु परेको थियो ।
संविधान जारी हुने मिति जेठ १४ नजिकिँदै गर्दा आफ्ना मागलाई संविधानमा सुनिश्चितताका लागि विभिन्न समुदायहरु आन्दोलित भइरहँदा चितवनका ब्राह्मण तथा मुस्लिम समुदाय पनि आन्दोलित भएका हुन् । उनीहरुले मंगलबार छुट्टाछुट्टै रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै कार्यालयमार्फत नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउन गएका ब्राह्मण समाज चितवनका प्रतिनिधिले अपरान्ह १२ बजेदेखि दुई बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । त्यसलगत्तै गेटबाहिर धर्नाका लागि कुरेर बसेका मुस्लिम समुदायका प्रतिनिधिहरुले धर्ना दिँदा सेवाग्राहीहरु कठिनाई बेहोर्न बाध्य भएका हुन् ।
माडीबाट नागरिकताको प्रतिलिपि बनाउन आएका कुमार थापाले भने, ‘जनतालाई कति दुःख दिन जानेका हुन्, यिनीहरुले आफ्नो काम पनि गर्दैनन् अरुलाई पनि गर्न दिँदैनन् ।’ उनीजस्ता कार्यालयमा काम गराउन आएका धेरैको भनाइ उस्तै थियो ।
यता, संविधान निर्माणमा आफ्ना माग सुनुवाइ नभएपछि बाध्य भएर यस्तो गर्नु परेको आन्दोलनरत पक्षहरुको भनाइ छ । अझ यी दुबै पक्षहरुले आन्दोलनलाई चक्काजाम र बन्दसम्म लैजाने घोषणासमेत गरिसकेका छन् ।
ब्राह्मण समाजले बहुसंख्यक खस ब्राह्मणलाई अन्यमा राखेर विभेद गरेकोले आदिवासीको रुपमा सूचीकृत गर्नुपर्ने तथा जातीय आधारमा संघीय एकाइ निर्माण गर्न नहुने भन्दै आन्दोलन गरिरहेको छ ।
त्यस्तै मुस्लिम समुदायले मुस्लिमलाई सरकारले मधेसी मुस्लिम र पहाडिया मुस्लिमलाई अन्यमा राखेको भन्दै दुबैलाई एकै रुपमा राख्नुपर्ने माग गरेको छ ।
सो अवसरमा ब्राह्मण समाज नेपाल चितवनका अध्यक्ष काशीनाथ पौडेल तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति चितवनका संयोजक सलिम महम्मद सेखले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी