Tuesday, April 24, 2012

शैक्षिकसत्र सुरू ः पाठ्यपुस्तक छैन


बसन्त पराजुली, २०६९ वैशाख ११
भरतपुर । चितवन र यस आसपासका जिल्लाहरुमा जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयतर्फ विभिन्न विषयका पाठ्यपुस्तकहरु पर्याप्त उपलब्ध नगराउँदा विद्यार्थीहरु समस्यामा परेका छन् । शैक्षिकसत्र सुरू भइसक्दा पनि विद्यार्थीको हातमा समयमा किताब नआइपुग्दा विद्यार्थी मर्कामा परेका हुन् । 
‘पढाइ सुरू भइसक्यो अझै पूरै किताब छैन’, नारायणी उमाविमा कक्षा नौ पढ्दै गरेका एक विद्यार्थीले चितवन पोष्टसँग गुनासो गरे, ‘किताब नभएपछि स्कुलमा पनि पढ्न समस्या हुँदो रहेछ ।’
मुख्यतया अहिले कक्षा ३ को सामाजिक र अंग्रेजी, कक्षा ४ को नेपाली, कक्षा ६ को सामाजिक, जनसंख्या, अंग्रेजी र विज्ञान, कक्षा ७ को नेपाली र गणित, कक्षा ९ को सामाजिक, अनिवार्य गणित, विज्ञान, स्वास्थ्य र कक्षा १० को अंग्रेजी विषयका पुस्तकहरु बजारमा पर्याप्त रुपमा उपलब्ध हुन सकेका छैनन् ।
‘मुख्य विषयको नै पुस्तक पाइएनँ’, चितवन उमाविको कक्षा ९ की एक छात्राले भनिन् । शैक्षिकसत्र सुरू भई विद्यालयहरुमा पठनपाठन सञ्चालन भइसक्दा पनि विद्यार्थीहरुले पुस्तकहरु पाउन नसकेका हुन् । चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले पुस्तकको अभाव हटाउन पहल भइरहेको बताउनुभयो । 
सामुदायिक विद्यालयका पुस्तकहरु जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्ने र साझा प्रकाशनले वितरण गर्दै आएका छन् । साझा प्रकाशनको क्षेत्रीय कार्यालय भरतपुरमा मागअनुसारको पुस्तक नआउँदा चितवनसहित रुपन्देही, पाल्पा, मकवानपुर, पर्सा, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाची, बारा, रौतहट, गोरखालगायतका क्षेत्रका विद्यार्थीहरु प्रभावित भएका छन् ।
‘हामीले पनि पहल गरिरहेका छौं’, साझा प्रकाशन क्षेत्रीय कार्यालयका प्रमुख बाबुराम पराजुलीले भन्नुभयो, ‘पाठ्यपुस्तक नै नआएपछि हामीले कसरी पु¥याउने ।’ साझा प्रकाशकनको भरतपुरस्थित क्षेत्रीय कार्यालयले गत वर्ष एउटा किताब ६५ हजार थान बिक्री गरेको थियो । 
यो वर्ष पनि त्यै हाराहारीमा खपत हुने अनुमान सो कार्यालयको छ । तर अहिले त्योभन्दा ज्यादै न्यून किताब आएकाले पनि समस्या भएको हो । कार्यालयका अनुसार सो कार्यालयमा सबैभन्दा बढी कक्षा ९ को नेपाली किताब ३२ हजार १५० र सबैभन्दा कम कक्षा ९ कै अनिवार्य गणित विषयको पुस्तक नौ हजार १५० मात्रै आएको छ । 
अहिले सामुदायिक विद्यालयहरुले जनक शिक्षा सामग्रीको अनिवार्य ६ वटा र दुईवटा ऐच्छिकका लागि ११ वटा ऐच्छिक विषयको पुस्तक चितवन पठाएको छ तर त्यो मागभन्दा धेरै कम देखिएको छ । जनक शिक्षा सामग्रीले भने यो पुस्तक सहज हुन अझै एक हप्ता लाग्न सक्ने बताएको छ । 
पुस्तक प्रकाशनको काम भइरहेकाले ढिलाइ भएको जनक शिक्षाले जनाएको छ । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी