Tuesday, April 24, 2012

भाइको हत्याराको खोजीमा द्वन्द्वपीडित अधिकारी


विधुर ढकाल, २०६९ वैशाख ११


नारायणगढ । आफ्नो गृहजिल्लाका कार्यकर्तालाई महिनामा एक पटक गृहजिल्लै पुगेर भेट्ने प्रतिबद्धता गरेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रुपमा देशको बागडोर समालिरहेका बेला तिनै भट्टराईको गृहजिल्ला गोरखाका एक जना भने न्यायको खोजीमा चितवनका सरकारी कार्यालय तथा न्यायालयहरुमा भौतारी रहेका छन् ।
गोरखा जिल्ला फुलजेल गाविस वडा नं. ४ चमतीका नुरप्रसाद अधिकारी आफ्ना १७ वर्षे भाइका हत्यारालाई कारबाहीको माग गर्दै चितवनका सरकारी निकायका ढोका ढक्ढक्याइरहेका छन् । उनले न्याय पाउने झिनो आशाका साथ आफ्नो लडाइँमा साथ दिन सोमबार पत्रकारहरुलाई गुहार्दै थिए । 
२०६१ जेठ २४ गते गोरखाबाट आफ्ना वृद्धवृद्धा हजुरबुबा हजुरआमा भेट्न  हिँडेका उनका भाइ कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको रत्ननगर बकुलहरचोकदेखि अपहरण गरी चरम यातना पश्चात् पुनः बकुलहरमा ल्याई हत्या गरेको उनको आरोप छ ।
तिनै भाइका हत्यारालाई कारबाहीको माग गर्दै हिँडेका नुरप्रसादले न्याय पाउने आशा देखेका थिए । आफ्नै जिल्लाका व्यक्ति प्रधानमन्त्री बन्दा उनको आशा केही पलाए पनि जब उनलाई सिंहदरबारमा नै रोक लगाइयो, उनका सारा आशा खरानी भएको उनको गुनासो छ । 
गोरखाको आफ्नो जायजेथा पनि लुटिएपछि उनी काठमाडांैमा विस्तापित जीवन बिताउन बाध्य भए । वृद्धवृद्धा व्यवस्थापन गुठीबाट पनि आमाबुबा विस्तापित हुनु परेको कारण गुठीका सञ्चालक प्रधानमन्त्री डा.भट्टराई पत्नी हिसिलाकी साथी भएको उनको थप आरोप छ । ‘बुबा आमालाई पनि आश्रमबाट निकालियो, म बस्ने डेराको साहूलाई पनि धम्की आएर डेरा छाड्नु प¥यो’, उनले दुखेसो पोखे । 
आफ्नो भाइका हत्यारालाई कारबाही नभएसम्म चितवनबाट नफर्कने बताउँदै उनले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा बालुवाटार गएको थिएँ, इन्सपेक्टर हरिबहादुर बस्नेतले तपार्इं मसँग हिँड्नुस् भने, चार दिनसम्म आफ्नै मेसमा राम्रोसँग ख्वाए ।’ पछि हनुमानढोका लगेर २५ दिन थुनामा राखियो उनको भनाइ थियो । 
राष्ट्रिय मानवअधिकार आयोगले अधिकारी परिवारलाई तीन लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गरेपनि राहत नपाएको उनको भनाइ छ । न्यायको खोजीमा भौतारिएका उनी झुस्स लामो कपाल बढेको दारी लिएर चितवनका सरकारी कार्यालयमा पुग्दा भाइका हत्याराले कार्यालय प्रमुखकै सामु अपराध स्वीकारे पनि कारबाहीको कुनै पहल नभएको उनको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयमा २०६८ साल चैत्र १८ गते निवेदन दिएका उनलाई माथिको आदेश छैन भन्दै फर्काइने गरिएको छ । त्यस्तै फागुनको १९ गते नै बाँकी जीउधनको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनको भनाइ छ । राज्यको नागरिकसरहको व्यवहार नभएको भन्दै आफूले नागरिकतासमेत गृहमन्त्रीलाई बुझाएको उनको भनाइ छ ।  

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी