Tuesday, April 24, 2012

स्व. पौडेलसहित १२ जनाको मुद्दा फिर्ता


भरतपुर । हत्याको अभियोग लागेका नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलसहित १२ जनाको मुद्दा फिर्ता भएको छ । सरकारको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले आइतबार सो मुद्दा फिर्ता लिने निर्णय गरेको हो । 
गत वर्षको भदौ १० गते कविलास गाविसको केराबारीमा संजय लामाको गोली हानी हत्या भएको अभियोगमा उनीहरुमाथि मुद्दा दायर गरिएको थियो । फागुन ११ गतेको सरकारको निर्णयअनुसार कानुन मन्त्रालयले महान्यायाधीवक्ताको कार्यालय हुँदै जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत एक महिनाअघि नै अदालतमा उनीहरुको मुद्दा फिर्ताको निवेदन दर्ता गराएको  थियो । 
हत्यापछि पौडेलसहित १२ जनालाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो । थुनामा रहेकैबेला पौडेलको मंसिर २० गते कारागारभित्रै आक्रमण हँुदा त्यसको केही दिनमा काठमाडांैमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । 
पौडेलको मृत्युपश्चात् काँग्रेसले उनलाई सहिद घोषणा गर्न र मुद्दा फिर्ता लिन माग गरेको थियो । सो मागअनुसार नै सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । पौडेलबाहेकका अन्यलाई पौडेलमाथिको आक्रमणपछि चितवन कारागारबाट केन्द्रीय कारागारमा पुर्पक्षका लागि राखिएको छ । सम्भवत उनीहरु प्रक्रिया पु¥याएर सोमवार सार्वजनिक विदा परेकाले मंगलबार छुट्ने सम्भावना रहेको छ । 
मुद्दा फिर्तासँगै तरुण दलका भरतपुर नगर समितिका उपाध्याक्ष प्रमिश राई, साजन गुरुङ, यमबहादुर कार्की, चन्द्रबहादुर तामाङ, राजकुमार लामा, अनिल परियार छुट्ने अवस्थामा छन् । राजु गुरुङ, कुमार गुरुङ, सुरेन्द्र गुरुङ, रिजन कौडेल, धनबहादुर गुरुङको पनि मुद्दा फिर्ता भएको छ । उनीहरुमाथि मुद्दा दायर भएपनि अदालतमा हाजिर नभई फरार अवस्थामा छन् । 
विरोधमा चक्काजाम
यसैबीच संजय लामा हत्याका आरोपीहरुमाथि लागेको मुद्दा राज्यले फिर्ता लिएको भन्दै युवा संघका कार्यकर्ताहरुले आइतबार चितवनका विभिन्न ठाउँमा दुई घन्टा चक्का जाम गरेका छन् । 
शिव पौडेललगायत १२ जनामाथि लागेको मुद्दा राज्यबाट फिर्ता भएको विरोध गर्दै युवासंघले नारायणगढ तथा केन्द्रीय बस टर्मिनललगायतका क्षेत्रहरुमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म चक्काजाम गरेको हो ।
राज्यले प्रजातन्त्र दिवसको अवसरमा संजय लामाको हत्याका आरोपीसहित ३६७ जनालाई कैदबाट मुक्त गराएको थियो । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी