Monday, April 30, 2012

स्थानीय कृषि उत्पादनले बजार नपाएको गुनासो

भरतपुर । स्थानीय कृषि उत्पादनले बजार नपाउँदा किसानले उत्पादन गरेको कृषि उत्पादन त्यत्तिकै खेर गइरहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । कृषि उत्पादलाई स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने उनीहरुको जोड थियो ।
सोमबार जिल्ला कृषि कार्यालयमा पर्यावरणीय सेवा केन्द्र भरतपुरको आयोजनामा सम्पन्न ‘प्राङ्गारिक उत्पादनको बजारीकरणमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन सिद्धिका कृषक काजी प्रजाले स्थानीय उत्पादनले बजार नपाएको बताउँदै भन्नुभयो, ‘हामीले उत्पादन गरेको तरकारी तथा दालहरुले समेत बजार पाउँदैन, पाए पनि सस्तो मूल्यमा बिक्री गर्नु पर्दछ ।’
किसानले भन्दा पनि व्यापारीले उत्पादनको मूल्य तोक्ने गरेको उहाँको भनाइ थियो । ‘बर्षा याममा तरकारीको उत्पादन हुने गरे पनि कयर खोलमा आउने बाढिका कारण गाँउमै उत्पादन कुहुने गरेको छ’, प्रजाले भन्नुभयो ।
यता, भरतपुर ठिमुराका जडीबुटी कृषक ‘झारपात ओझा’ भनेर चिनिने यज्ञप्रसाद ओझाले जडीबुटी तथा अर्गानिक खेतीलाई राहुटेको जस्तो व्यवहार गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘जडीबुटी र प्राङ्गारिक खेतीको विकासका लागि उचित नीति नै छैन । सरकार नै यसप्रति उदासीन छ, यहाँ बोलेरमात्र केही हुनेबाला छैन ।’
जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक दीपकराज पौडेलले स्थानीय कयरखोलामा पुल निर्माण गर्न सकेमात्र पनि सिद्धिको उत्पादनलाई बजारमा पु¥याउन सहज हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यावरणीय सेवा केन्द्रका निर्देशक बसन्त रानाभाटले सिद्धिको चिउरी उत्पादन वार्षिक एक हजार बोरा, पिँडालु चार टन, अम्रिसो दुई टनलगायत रहेको भएपनि राम्रो बजार नभएको प्रष्ट पार्नुभयोे । उहाँले कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेमा यसले स्थानीयको आयस्तर पनि उकास्ने बताउनुभयो ।
नेपाल अदुवाको उत्पादनमा विश्वको चौथो स्थानमा भए पनि उत्पादित अदुवाले बजार नपाएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले बताउनुभयो । नेपालसँग उत्पादन क्षमता भएर पनि बजार र प्रशोधनका निम्ति पूर्वाधार नहुँदा पछाडि पर्नुपरेको धारणा राख्नुभएको थियो ।
नेपालमा अझ पनि व्यावसायिक रुपमा कृषिको विकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘नेपालमा अधिकांश कृषि पेसामा आश्रित छन्, ३१ लाख हेक्टर कृषि क्षेत्र रहेकोमा आठ लाख हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक कृषि खेती हुने गरेको छ ।’
कार्यक्रममा चितवन जिल्लाका सिद्धि र शक्तिखोर गाविसका कृषकलाई स्थानीयस्तरमा नै प्राङ्गारिक कृषि उत्पादनमा प्रेरित गर्नको निम्ति प्रक्टिकल एक्सन र हिमालयन बायोडायनामिक डेभलप्मेट ट्रष्टले विगत तीन महिनादेखि सञ्चालन गरिरहेको दिगो एकीकृत कृषि प्रणाली परियोजनाको बारेमा प्रकाश पारिएको थियो ।
ट्रष्टका निर्देशक श्याम हाडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका संयोजक ऋषिकेश ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेशकुमार पौडेल दातृ संस्था बीएमजेड डब्लूएचएच जर्मनीका प्रतिनिधि पिटर इफेनवर्गरलगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी