Thursday, May 31, 2012

एमालेका ३६ नेता पार्टी छाड्न तयार


nagriknews काठमाडौं, जेठ १९ - संविधानबिनै संविधानसभा विघटन हुनुमा पार्टी नेतृत्वलाई जिम्मेवार ठहर्‍याउँदै एमालेका जनजाति र मधेसी नेताले पार्टी छाड्ने तयारी गरेका छन्। पार्टी उपाध्यक्ष अशोक राईले करिब तीन दर्जन जनजाति तथा मधेसी नेता र पूर्वसभासद्को राजीनामा जम्मा पारेर राखेका छन्। 
जातीय पहिचानसहितको संघीयताका पक्षधर जनजाति तथा मधेसी नेताले बिहीबार एमाले अध्यक्ष झलनाथ खनालसँग उनकै निवास डल्लुमा छलफल गरे। पार्टी नेतृत्वले गल्ती नसच्याए उपाध्यक्ष राईको नेतृत्वमा पोलिटब्युरो सदस्यहरू रामचन्द्र झा, पृथ्वी सुब्बा गुरूङ लगायत तीन दर्जनभन्दा बढी नेता तथा पूर्वसभासद्ले पार्टी छाड्ने तयारी गरेको एमाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।
राजीनामा बुझाउनेमा झा, गुरुङ, श्रेष्ठ, किरण गुरूङ, रकम चेम्जोङ, वीरबहादुर लामा, मंगलसिद्धि मानन्धर, दलबहादुर राना, गोपाल ठाकुर, रिजवान अन्सारी, डम्बरसिंह साम्बाहाम्फे, रणध्वज कन्दङ्वा, राजकुमार राई लगायत केन्द्रीय नेता छन्।
आदिवासी जनजाति तथा मधेसीका असन्तुष्टिबारे एमाले अध्यक्ष खनालसँग उनकै निवासमा छलफल भएको हो। यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै छलफल भइसकेको छ। जनजाति ककसमा मात्र एमालेका ४० सभासद् आबद्ध थिए। त्यसबाहेक मधेसी र पार्टीको केन्द्रीय कमिटीमा रहेका जनजाति पनि राजीनामा गर्ने निर्णयमा पुगेका छन्।
संविधान निर्माणका लागि भएका पछिल्लो चरणका वार्तामा जातीय पहिचानसहितको संघीयता एमाले नेतृत्वले अस्वीकार गरेकाले संविधानसभा विघटन भएको निष्कर्ष पार्टीका जनजाति तथा मधेसी नेताहरूको छ। आदिवासी जनजाति सभासद् सभा (ककस) को कार्यालय, घट्टेकुलोमा नयाँ पार्टी बनाउनेबारे बुधबार छलफल भएको थियो। एमालेको उच्च नेतृत्वमा रहेका अधिकांश जनजाति नेताहरूले बुधबार राजीनामा बुझाएको पूर्वसभासद् पासाङ शेर्पाले जानकारी दिए।
पोलिटब्युरो सदस्य रामचन्द्र झाका अनुसार संघीयता र राज्य पुनर्संरचनाबारे पार्टी नेतृत्वको भूमिकामाथि छलफल गर्न पोलिटब्युरोको बैठक बोलाइएको छ। 'राज्य पुनर्संरचना र संघीयताबारे एमाले नेतृत्व उदासीन देखिएको छ,' उनले भने, 'आफूले गरेको गल्तीप्रति नेतृत्व कसरी पेस हुन्छ, त्यसैअनुसार निर्णय गर्नेछौं।' आफूभित्रको कुनै व्यक्तिगत आकांक्षाका कारण मात्र असन्तुष्ट नभएको उनले बताए।
एमालेको उपत्यका समन्वय कमिटीका इन्चार्ज केन्द्रीय सदस्य श्रेष्ठका अनुसार सामूहिक राजीनामा गर्ने हिसाबले यो तयारी गरिएको हो। नेताहरूसँग यसबारे छलफल भइरहेको जानकारी दिँदै उनले भने, 'पार्टीले हाम्रो कुरा सम्बोधन नगरे राजीनामा गर्छांै, तर मैले राजीनामा गरिसकेँ भनेर फेसबुकमा आएको कुरा सही हैन, राजीनामा फेसबुकमार्फत् दिने पनि हैन।'
राज्य पुनर्संरचनाबारे देशै विभाजित भएको र नयाँ राजनीतिक शक्तिको उदय भइरहेको उल्लेख गर्दै श्रेष्ठले भने, 'एमालेको असफलतासँगै नयाँ शक्ति बनाउने कि भनेर छलफल गरेका हौं, तर हामीले दुःख गरेर एमाले बनाएकाले त्यत्ति सजिलै छाडिहाल्दिनँ।'
एमाले छाडेको हल्ला चलेका एमालेका पूर्व सभासद् तथा केन्द्रीय अनुशासन आयोग सदस्य मानन्धरले राजीनामा दिइसकेको नभए पनि तयारी गरेर बसेको बताए। 'एमाले छाडिसकेको छैन तर छोडाउने परिस्थिति बनेको छ,' उनले नागरिकसँग भने, 'राजीनामा तयार छ, कहिले दिने भन्ने मात्र हो।' परिस्थिति फेरिएन भने एमालेमा नरहने उनले बताए।
मानन्धरले एमालेका उपत्यका समन्वय कमिटीका इन्चार्ज श्रेष्ठसहित अरू धेरै नेताले राजीनामा तयार पारेर राखेको जानकारी दिए। शुक्रबारै 'फेसबुक'मार्फत् राजीनामा सार्वजनिक भएका श्रेष्ठसँग पटकपटकको प्रयासपछि पनि सम्पर्क हुन सकेन।
एमाले केन्द्रीय सदस्य वीरबहादुर लामा पार्टी फुट्ने सम्भावना स्वीकार गर्छन्। उनले 'संसारका श्रमिक एक हौं' भन्ने एमाले नेतृत्वले 'श्रमजीवी आदिवासी जनजातिलाई अन्याय गरेको' आरोप लगाए। 'यस्तै शैली हो भने एमाले बाहुन-क्षेत्रीको चोखो पार्टी बन्नसक्छ,' उनले भने।
एमाले छाडेका पासाङ शेर्पाले संविधान नबनी संविधानसभा विघटन हुनुमा नेतृत्व जिम्मेवार रहेको आरोप लगाए। 'एमालेभित्रका सबै जनजाति असन्तुष्ट छन्, साँच्चै पार्टी नसुध्रने हो भने जनजातिको शुद्ध पार्टी 'जनमुक्ति पार्टी' भएजस्तै एमाले बाहुन-क्षेत्रीमात्रको शुद्ध पार्टी बन्ने सम्भावना छ,' उनले भने।
एमालेभित्र विभाजनको रेखा तलसम्मै कोरिइसकेको छ। एमाले उपत्यका समन्वय कमिटीका सदस्य सानुराजा शाक्यले भने, 'लोकतान्त्रिक नेवा संघ र संघमा नभएका एमालेभित्रका नेवार साथीहरूले पनि हस्ताक्षर संंकलन गरिसकेका छन्। यसमा जिल्ला कमिटी र त्योभन्दा तलका कार्यकर्तासम्म छन्।'
एमाले केन्द्रीय सदस्य विजय सुब्बाले बुधबार एमाले छाडेको घोषणा गरिसकेका छन्। पूर्वसभासद् पासाङ शेर्पाले आफू आबद्ध रहेको मेची अञ्चल समन्वय कमिटीसमक्ष बुधबारै राजीनामा दिएका थिए।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी