Saturday, June 23, 2012

अन्तरसंघर्ष चल्दा लागूऔषध प्रयोगकर्ता बढ्दै

भरतपुर । समाजमा लागूऔषधको प्रयोग घटाउने र बढाउनेबीच अन्तरसंघर्ष चलिरहेको लागूऔषधका पूर्वप्रयोगकर्ता बताउँछन् । एकथरि लागूऔषधको प्रयोगलाई रोकथाम गरी शून्यमा पु¥याउन चाहन्छन् भने अर्काथरि लागूऔषधको प्रयोगलाई बढाइ अवैधरुपले सम्पत्ति आर्जन गर्न चाहने भएको उनीहरुको भनाइ छ । अहिले यिनीहरुबीचको संघर्ष चलिरहँदा लागूऔषधका प्रयोगकर्ताहरुको संख्या वृद्धि भइरहेको छ ।
चितवन जिल्लामा पनि लागूऔषध प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको भएपनि यसको यकिन तथ्याङ्क छैन । अन्तर्राष्ट्रिय लागूऔषध प्रयोग तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित ‘सुईद्वारा लागूपदार्थ प्रयोगकर्ताहरुसँग व्यवहार परिवर्तन सञ्चार कार्यक्रम’मा बोल्दै पूर्वप्रयोगकर्ता मनिश न्यौपानेले समाजमा नकारात्मक सोच भएका मानिसहरुले युवाहरुलाई कुलतमा फसाउने काम गरेको बताउनुभयो ।
‘हामी लागूपदार्थमा फसेकाहरुलाई यसबाट मुक्त पार्न लागिपरेका छौँ, यहाँ कोही कुलतमा फसाउन लागिपरेका छन् ।’, उहाँले भन्नुभयो, ‘उनीहरु र हामीबीच संघर्ष चलिरहेको छ ।’ चितवनमा १० वर्षमा चारदेखि पाँच सय जनाको हाराहरीमा लागूऔषधबाट मुक्त भएको उहाँको भनाइ छ ।
लागूऔषधको प्रयोग सामूहिक रुपमा हुने हुँदा यसबाट मुक्ति पनि समूहमा नै बसेर मिल्ने नमुना एकीकृत विकास परिषद्का कार्यक्रम संयोजक विनोदकान्त शर्मा बताउनुहुन्छ । ‘साथी र समूहले साथ दिनसक्यो भने सबैको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ’, उहाँले भन्नुभयो ।
लागूपदार्थ प्रयोग गर्दा प्रयोगकर्ताहरुले सावधानी नअपनाउँदा मृत्युसम्मको जोखिममा पर्ने अर्का पूर्वप्रयोगकर्ता बताउँछन् । सावधानी अपनाउनेतर्फ ध्यान नै नगएको डेढ महिनाअघिसम्म लागूपदार्थको प्रयोग गर्दै आएका उनको अनुभव छ । ‘खाली कसरी डोज पु¥याउने भन्ने सोच हुन्थ्यो, अचेत अवस्थामा प्रयोग गर्ने हुँदा मलाई कहिले पनि सेफ्टी अपनाउनेतर्फ ध्यान नै गएन’, उनले भने ।
कार्यक्रममा पुस महिनायता ६ सय जना लागूऔषध प्रयोगकर्तालाई नमुनाले परामर्श दिएको परामर्श संयोजक उज्ज्वल कोइरालाले जानकारी दिनुभयो । नमुनाले लागूऔषध प्रयोगकर्ताहरुलाई सुरक्षित यौन सम्पर्क र सुरक्षित सुई प्रयोग गर्न सिकाउने गरेको उहाँले बताउनुभयो ।
नमुनाले यस अवधिमा १८ हजार ९३५ सुई साटासाट गरेको र ११ हजार १२८ प्रति कण्डम वितरण गरेको कोइरालाले जानकारी दिनुभयो । सुईद्वारा लागूऔषध प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने कोइरालाले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा विभिन्न प्रकारका लागूपदार्थ प्रयोग गर्नेको संख्या २० करोड रहेको छ । नेपालमा गृहमन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले २०६३ मा लागूऔषधका कारण जोखिममा रहेको १४ जिल्लामा गरेको सर्वेक्षणले ४२ हजार ९५५ जना पुरूष र तीन हजार ३५५ जना महिला गरी ४६ हजार ३१० जना लागूपदार्थ प्रयोगकर्ताहरु रहेका देखाएको थियो । जसमध्ये चितवनमा २९१ जना महिला र एक हजार ८८० जना पुरूष गरी दुई हजार १७१ जना प्रयोगकर्ताहरु रहेका छन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा चितवनमा साताव्यापी रुपमा दिवस मनाइँदै आएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी