Friday, June 29, 2012

छुट्टाछुट्टै पहिरोले घर पुर्दा दस जनाको मृत्यु

तनहूँ । तनहूँको जामुने–१, ट्याक्की डाँडामा शुक्रबार बिहान पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बाग्लुङमा पनि पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
यता, जामुने–१ ट्याक्की डाँडाका साइबहादुर विकको घर पुरिँदा विककी २४ वर्षीया श्रीमती रुपा विक, आठ वर्षीया र ६ वर्षीया छोरी पूर्णिमा विक र देविया विक, बहिनी १५ वर्षीया सम्झना विक, छिमेकीहरु २० वर्षीया सुष्मा विक, दुई वर्षीया रेखा विक र १५ वर्षीया दुर्गा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइबहादुर भारतमा रोजगारी गर्दै आएका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव स्थानीय बासिन्दा र प्रहरीले निकालेको तनहुँका प्रहरीनायब उपरीक्षक गौतमराज कट्टेलले बताउनुभयो ।
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङ्मा गएराति तीन जनाको मृत्यु भएको छ ।
उता, बाग्लुङ जिल्लाको पश्चिम हटिया–३ बगरचौताराका टेकबहादुर खत्रीको घर पहिरोल पुरिँदा खत्रीकी ६४ वर्षीया श्रीमती पवित्रा खत्रीको र सोही घर डेरागरी बस्ने रेशकी २२ वर्षीया लक्ष्मी सुनार तीन वर्षीय छोरा सुदीप सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ्ले जनाएको छ ।
प्रहरी स्थानिय बासिन्दा र डोजरको सहयोगमा शव निकालिएको हटिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रप्रसाद शर्माले बताउनुभयो । बिहानदेखि उद्धार कार्यमा खटिएपनि दिउँसोमात्र तीनै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
उद्धारको लागि भिमगिठेमा रहेको नेपाली सेनाको रघुनाथ पौडेलको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हटिया बजारदेखि सियाला भन्ने स्थानका लागि लगिएको सडकको माटोसहित पहिरो खस्दा घर बगाएको थियो ।

गोहीको आक्रमणमा मृत्यु

यता, नवलपरासीको गुठी प्रसौनीमा गोहीको आक्रमणबाट एक बालकको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
घोलमा माछा मार्न गएको बेला गोहीको आक्रमणमा परी नर्सही गाविस–३  का ११ वर्षीय अक्लेसकुमार राजभरको ज्यान गएको हो । यस्तै, रवीन्द्र राजभर गम्भीर घाइते भएका छन् । रवीन्द्रलाई उपचारका लागि अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोलाबाट निस्किएको गोहीले दुवै जनालाई एक्कासि आक्रमण गर्दा घाइते भई उपचारका लागि लैजाँदै गर्दा बाटैमा अक्लेसको मृत्यु भएको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी