Monday, June 25, 2012

जलवायु परिवर्तनका दृष्टिले चितवन उच्च जाखिममा


नारायणगढ । जलवायु परिवर्तनमा जनचेतना अभिवृद्धि गर्न दुई दिने कार्यशाला नारायणगढमा सुरू भएको छ । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय जलवायु परिवर्तन महाशाखाको आयोजनामा सोमबारबाट सुरू भएको कार्यशालामा चितवन जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको बताइएको छ । 
कार्यक्रममा बोल्दै शाखाका उपसचिव अर्जुनकुमार थापाले चितवन बाढी जोखिमको दृष्टिमा नेपालकै दोस्रो जिल्ला भएको बताउनुभयो । जलवायु परिवर्तको कारणले बाढी पहिरोलगायतका अन्य प्राकृतिक प्रकोपको खतरा बढ्दै गएको थापाले जानकारी दिनुभयो । 
जलवायु परिवर्तनका कारण तापक्रममा बर्सेनि वृद्धि भइरहेको मौसमविद् सुमन सुवेदीले बताउनुभयो । नेपालमा वार्षिक रुपमा ०.०४ देखि ०.०६ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो । 
जलवायु परिवर्तनको प्रभाव तराई र शिवालिक क्षेत्रमा कम देखिए पनि हिमाली तथा उच्च हिमाली क्षेत्रमा बढी देखिने उहाँको भनाइ छ । जलवायु परिवर्तनको उच्च जोखिममा गरिब तथा पहाडी भूपरिवेष्टित राष्ट्रहरु रहेको मौसमविद् सुवेदीले बताउनुभयो ।
नेपालमा जलवायु परिवर्तनका कारण २० वटा हिमतालहरु फुट्ने जोखिममा रहेको बताउँदै छोरोल्पा लगायतका पाँचवटा हिमतालहरु उच्च जोखिममा रहेको सुवेदीले जानकारी दिनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा विकसित राष्ट्रहरुले अर्बाै डलर लगानी गरिरहेका कारण यसबाट नेपालजस्ता मुलुकले फाइदा लिन सक्नुपर्ने उहाँको भनाइ थियो । 
‘हामीले जलवायु परिवर्तनलाई सधँै नकारात्मकरुपमा लिँदै आएका छौँ, यसलाई सकारात्मक नजरले हेर्दै यसका फाइदालाई हेरी अगाडि बढ्नुपर्दछ’, मौसमविद् सुवेदीले भन्नुभयो ।
कार्यशालाको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले उद्घाटन गर्नुभएको थियो । स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा सुरू भएको कार्यक्रम आज मंगलबार सकिने छ । 
कार्यक्रममा चितवनका विभिन्न सरकारी निकायका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको छ । 
यसैबीच वर्षायाममा हुनसक्ने सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सरोकारवालाहरुलाई  सर्तक अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आग्रह गरेको छ । 
सोमबार बिहान भएको सर्वपक्षीय छलफलबाट सरकारी निकाय, गैरसरकारी संघसंस्था, सहयोगी संस्था, सञ्चारमाध्याम, सुरक्षा संयन्त्र सबैलाई सतर्क अवस्थामा रहन आग्रह गरिएको जिविसका सूचना अधिकृत बलराम लुइटेलले जानकारी दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा भएको छलफलमा जिल्लाका दलका नेताहरु, सञ्चारकर्मी र सरोकारवाला पक्षहरुको सहभागिता थियो । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी