Friday, June 15, 2012

खनिज उत्खनन्मा दक्षिण अफ्रिकाको चासो

काठमाडौं । दक्षिण अफ्रिाकाले नेपालमा खनिज तथा खनिजजन्य वस्तुको उत्खनन्मा सघाउन चासो देखाएको छ । नेपाल र दक्षिण अफ्रिकाबीच व्यापार प्रवद्र्धनबारे नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग शुक्रबार यहाँ भएको छलफलमा नेपालका लागि राजदूत जेफ्री डोडेजले द्विपक्षीय सहयोगका क्षेत्र पहिल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।
संवैधानिक रिक्तताको समयमा आफ्नो मुलुकका उद्यमी व्यवसायीले निर्वाह गरेको भूमिका नेपालका लागि सहयोगी हुन सक्ने विचार व्यक्त गर्दै उहाँले अफ्रिकी अनुभव आदानप्रदान गर्न उपयुक्त हुने उल्लेख गर्नुभयो । नेपालको उद्योग– वाणिज्य क्षेत्रको विकासका लागि व्यापार मेला तथा महोत्सवको आयोजना तथा पर्यटन प्रवद्र्धनका निम्ति आपसी सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयो ।
नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले विदेशी लगानी भित्र्याउन नेपाल सरकारले थालेका प्रयासबारे जानकारी गराउँदै खनिज पदार्थको उत्खनन्मा अफ्रिकी सीप एवम् दक्षताको उपयोग आवश्यक छ भन्नुभयो । दक्षिण अफ्रिकाबाट बर्सेनि ५० हजार पर्यटक भारत आउने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालको पर्यटन प्रवद्र्धनलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका कार्यबाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाल र दक्षिणअफ्रिकाबीचको न्यून व्यापारलाई बढाउन द्विपक्षीय उद्योग–वाणिज्य सङ्घबीच शीघ्र समझदारी एवम् सम्पर्क कायम गर्न आवश्यक गृहकार्य गरिने बताउनुभयो । सन् २०१० मा नौ सय ६१ अफ्रिकी पर्यटकले नेपालको भ्रमण गरेको बताइएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी