Sunday, July 1, 2012

स्पेन बन्यो युरो च्याम्पियन


किभ, असार १८ (एजेन्सी)- इटालीलाई ४-० ले पराजित गर्दै स्पेन युरो च्याम्पियनसिपको उपाधि रक्षा गर्ने पहिलो टिमको कीर्तिमान राखेको छ। लगातार दुई वटा युरो कप र विश्वकप गरी तीन प्रमुख उपाधि जित्‍ने कीर्तिमान पनि स्पेनले नै राख्‍न सफल भएको छ। यसैगरी युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ। 
स्पेनका लागि उपाधिको बाटो मध्यान्तर अघि भएका दुई गोलले कोरिसकेको थियो।  खेल सुरु भएको १४ मिनेट मै सिल्भाले पहिलो गोल गरेका थिए। मध्यान्तरभन्दा ४ मिनेट अघि जोर्डी आल्बाले थप एक गोल गरी अन्तर फराकिलो पारे।


मध्यान्तरपछिका दुई गोल अन्तिम १० मिनेटमा भएका थिए। फाब्रिगासलाई स्थानान्तरण गरी ल्याइएका टोरेसले ८४ औँ मिनेटमा गोल गरे भने त्यसको चार मिनेट मै अर्का स्थानापन्न खेलाडी जुआँ माताले अर्को एक गोल गरी जित सुनिश्चित बनाइदिए।


स्पेनको आक्रमणलाई रोक्न इटालीलाई ११ खेलाडी हुँदै गाह्रो परिरहेको थियो, ६४ मिनेटदेखि १० खेलाडीमात्रै हुँदा त असंभवै भयो। मैदानमा पसेको सात मिनेटमै मिडफिल्डर थियागो मोट्टा चोटग्रस्त भई बाहिरिँदा इटालीले आफ्नो सबै सब्स्टिच्युसन प्रयोग गरिसकेको थियो।


प्रतियोगितामै पहिलो पल्ट स्पेनले बलको अधिकांश 'पोसेसन' विपक्षी टिमलाई दिएको थियो मध्यान्तरअघि। तर पनि स्पेनको ट्रेडमार्क क्विक पास चैँ घातक र सटिक थियो। यसैको बलमा स्पेन मध्यान्तरअघि दुई गोलको अग्रता हासिल गर्न सफल भयो।


स्पेनको ४-० को यो जित युरो कपको इतिहासमा पहिलो हो। यसअघि तत्कालीन पश्चिम जर्मनीले सन् १९७२ मा सोभियत युनियनलाई ३-०ले पराजित गरेको थियो।

जितसँगै स्पेनले आफ्ना आलोचकहरुलाई पनि दरिलो जवाफ फर्काएको छ, जो भन्थे युरो र विश्व कप च्याम्पियन बोरिङ खेल खेल्न थाल्यो।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी