Sunday, July 1, 2012

सांघतिक आक्रमण नहोस् : एमाओवादी

एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्तामाथि सांघातिक हमलाहरु सुरु भएको जनाएको छ। पार्टीबाट छुट्टिएर गएको पक्ष (नेकपा-माओवादी)ले नियोजितरुपमा आफ्ना नेता-कार्यकर्तामाथि गोली प्रहार गरेको भन्दै स्थानीयस्तरमा कार्यकर्ता भिडाउने काम रोक्न आग्रह गरेको छ।

पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा प्रतिक्रियावादीको षड्यन्त्रमा सहभागी भएर आक्रमण नगर्न आग्रह गरिएको छ।
वक्तव्यको पूर्ण पाठ :

प्रेस वक्तव्य करिब दुई हप्ता पहिले अलग्गिएर छट्टै पार्टी घोषणा गरेका मोहन वैद्य समूहले हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)का स्थानीय नेता कार्यकर्तामाथि सांघातिक हमलाको शुरुआत गरेको छ। आज दिउँसो उक्त समूहले चितवन जिल्ला, चौबीसकोठीको पश्चिमपट्टि पर्ने त्रिचोकमा गरेको सांघातिक हमला र गोली प्रहारका क्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा एकीकृत माओवादी चितवन जिल्लाका सचिवालय सदस्य नारायण आचार्य, जिल्ला पार्टी सदस्य उत्तम गुरुङ र पार्टी सदस्य सूर्य तामाङ घाइते हुनुभएको छ।
विद्यार्थी नेता नारायण आचार्यको टाउकोमा रड प्रहारले गम्भीर चोट लागेको छ भने क. उत्तम गुरुङको तिघ्रामा र क. सूर्य तामाङ्गलाई खुट्टामा गोली लागेको छ। हाल उहाँहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
आज बिहान ९ बजेदेखि नै मोहन वैद्य पक्षधर फुटवादी समूहको एउटा जत्थाले हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को चितवन जिल्ला समितिको कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी तनाव र झडपको स्थिति सिर्जना गर्न खोजेपछि एकीकृत माओवादीका तर्फबाट हाम्रो पार्टीका जिल्ला नेताहरुबाट संयमतापूर्वक झडपलार्य पन्छाउने कोशिस भयो। र, पछि स्थानीय प्रहरीले समेत समन्वय गरेपछि तत्कालका लागि रक्तपातको स्थिति रोकियो।
तर पछि एक्कासी १२ः०० बजेतिर हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)का जिल्लास्तरीय नेता कार्याकर्ताहरू बाटोमा फर्कने क्रममा चौबीसकोटी पश्चिमपट्टीको त्रिचोकमा आइपुग्दा फुटवादीहरूको आक्रमणकारी समूहले एक्कासी रड र लाठा प्रहार गर्नुका साथै गोली समेत प्रहार गर्‍यो।
एकीकृत ने.क.पा.(माओवादी) उक्त झडप र आक्रमणलाई दुर्भाग्यपूर्ण ठान्दछ र त्यसको भर्त्सना गर्दछ। त्यसैगरी, पार्टी घाइते कमरेडहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। त्यसैगरी, पार्टी पक्षलाई संयमित हुन र फुटेर जानुभएका समूहका नेतृत्व कमरेडहरूलाई स्थानीय स्तरमा क्रान्तिकारीहरूलाई भिडाएर सिद्धयाउने प्रतिक्रियावादी षड्यन्त्रमा सहभागी हुन छाडेर समस्याको मैत्रीपूर्ण समाधान खोज्न पनि एकीकृत ने.क.पा.(माओवादी) हार्दिक अनुरोध गर्दछ।
१६ असार २०६९
दीनानाथ शर्मा
प्रवक्ता

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी