Tuesday, July 3, 2012

साँच्चै नै नेपाली चलचित्रको अपवाद


विधुर ढकाल , २०६९ आषाढ १९
चलचित्र ः अपवाद
कलाकारहरु ः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी निर्देशक ः सुवास कोइराला आफ्ना सन्तानहरुको माया अभिभावकहरुलाई भइरहेको हुन्छ तर पनि उनीहरुले आफ्नो इच्छाअनुसार सन्तानले गरोस् भन्ने चाहना राखिरहेका हुन्छन् । अभिभावकहरुले आफ्ना सन्तानहरु के होस् भनिरहेका हुन्छन् तर उनीहरुले यो सोचिरहेका हुँदैनन् कि आफ्ना सन्तान के बन्न चाहिरहेका हुन्छन् ! चलचित्र ‘अपवाद’ यी दुई पुस्ताहरुबीचको मतभिन्नताले निम्त्याउने दुर्घटनाको फेहरिस्त हो । अभिभावकहरु आफ्ना सन्तानहरु राम्रै काम गरुन् भन्ने चाहन्छन्, अझ कोही डाक्टर बनोस् त कोही इन्जिनियर बनोस् भन्ने सोचिरहेका हुन्छन् । भनसुन गरेरै भए पनि राम्रो ठाउँमा जागिर लगाइदिन चाहन्छन् तर उनीहरुका सन्तान वास्तवमा नै के बन्न चाहन्छन् र उनीहरुमा के खुबी छ भन्ने कुराको अभिभावकहरुलाई कमै मात्रामा चासो हुने गरेको हुन्छ । यस्तै कारणले एक अभिभावकले आफ्नो इच्छा बुझ्न नसक्दा, आफ्नो रूचिअनुसारको कार्यमा सहभागी हुन नपाउँदा भर्खर आफ्नो खुट्टामा उभिने उमेर पुगेका युवामा कस्तो प्रभाव पर्दछ भन्ने देखाउन चलचित्र ‘अपवाद’ सफल भएको छ । वास्तवमा नै चलचित्र ‘अपवाद’ आफैँमा एक अपवाद पनि हो कि यसले अन्य चलचित्रजस्तो दर्शकको मनलाई एकाग्र बनाइरहन सफल भएको छ । आफ्नो इच्छाअनुसार नहुँदा युवामा देखिने फ्रस्टेसनलाई सफल रुपमा प्रस्तुत गरिएको छ चलचित्रमा । कथावस्तु ः चलचित्र ‘अपवाद’ कथाको पात्र सुयोगको वरिपरि घुमेको छ । प्रमुख पात्र सुयोग (राजवल्लभ कोइराला) एक कुशल विद्यार्थी भइकन पनि एक सफल लेखकमा हुनुपर्ने गुणले युक्त नवप्रतिभा पनि हो । ऊ आफूलाई एक सफल साहित्यकारका रुपमा चिनाउन चाहन्छ तर उसका बाबु (रवि गिरी) भने उसलाई साहित्यकारभन्दा पनि जागिर खाएर आफ्नो बुढेसकालको सहारा बनिदेओस् भन्ने चाहना बोकेको हुन्छ । आफ्नो साहित्यकार बन्ने चाहनाले ओतप्रोत ऊ दिनरात साहित्य सिर्जनामा नै व्यतीत गर्दछ । उता उसकी साथी सुगन्धा (निशा अधिकारी) जसलाई ऊ प्रेम गर्छ तर भन्न सकिरहेको हुँदैन, उसले पनि जागिर खान सल्लाह दिन्छे । सबैतिरबाट आफ्नो रूचि साहित्यकार बन्ने भन्दा पनि जागिर खाने सल्लाह पाउँदा ऊ फ्रस्टेसनको सिकार बन्दछ । जागिर खानुभन्दा विदेश गएर पढाइलाई पूरा गरी उतै पैसा कमाउने सोचमा कन्सलटेन्सीलाई पैसा बुझाउँछ तर आफूले रोजेको कलेज कालोसूचीमा परी पैसा डुब्दा ऊ आत्महत्या गर्ने निष्कर्षमा पुगेको हुन्छ । आत्महत्याका लागि नदीमा फाल हानेको सुयोग नदीको छालसँगै किनारमा पुग्दछ तर मर्न नसकेकोमा पछुताउँछ । उसले त्यो एकान्तमा बिस्तारै स्वतन्त्र महसुस गर्दै एक अन्न मकैको बीउबाट आफैँ मकै फलाई जीवनको फल प्राप्त गर्दछ तर पनि ऊ यो खुसीमा परिवारबाट टाढा हुँदा खुसी हुँदैन । उता सुयोगले लेखेको आत्मकथा सुगन्धाको हातमा पर्छ । सुयोगको बाबुको साथ लिएर उसले आत्मकथा ‘अपवाद’ प्रकाशित गर्दछे, जसले बेस्ट सेलर अवार्ड पाउँछ । लन्डनको प्रकाशन गृहले अंग्रेजीमा अनुवाद गर्ने जनाइसकेको हुन्छ ‘अपवाद’लाई । के अपवादको लेखक सुयोगले यो खुसीमा सामेल हुन पाउला ? के पुस्तककी एक पात्र सुगन्धा वास्तविक जीवनमा सुयोगसँग प्रेमका गीत गाउन पाउली ? यी र यिनै प्रश्नको उत्तर पाउन एक पटक हेर्न कष्टै गर्नुपर्दछ ‘अपवाद’लाई । सबल पक्ष ः चलचित्रमा छायांकन दृश्य, गीत–संगीत, संवाद सम्पूर्ण रुपमा सबल देखिन्छ । कहीँकतै पनि स्थानको उल्लेख नगरिएको भए पनि चलचित्रको परिवेश सप्तकोशीको टापु हो भन्ने छुट्टाउन दर्शकलाई गाह्रो पर्दैन । पुस्तान्तरको समस्यालाई सबल रुपमा प्रस्तुत गर्न सक्नु नै चलचित्रको सबल पक्ष हो । लेखकजस्तो पेसा अँगाल्न चाहने युवाको कथा बोक्नु आफैँमा पनि ‘अपवाद’ हो र नजानिँदो पाराले सफल हुनु पनि अपवाद हो । त्यसैले पनि चलचित्र ‘अपवाद’ सफल छ भन्न सकिन्छ । दुर्वल पक्ष ः चलचित्रको कथावस्तु अंग्रेजी चलचित्र ‘कास्ट अवे’ बाट लिइएको पाइन्छ । चलचित्रमा आफ्नै मौलिकता नपाउँदा कास्ट अवे हेरेका दर्शकहरुलाई यसले नयाँ स्वाद दिन सकेको पाइँदैन । आफूलाई मौलिक कथाको चलचित्र बनाउने भन्ने निर्देशकहरुको बीचमा कोइरालाले यो चलचित्र कपी गरेको भनेर स्वीकार्नु पनि अपवाद नै हो । केही स्थानमा देखाउन खोजिएका दृश्यमा अशोभनीयता पाइन्छ । नदीमा बग्दै आएको सुयोगले आगो सल्काउन काठ घोटिरहेको चलचित्रमा देखाइएको छ । त्यति नै बेला फेरि चुरोट लाइटरले सल्काएको देखाइएको छ । भिजेको लाइटर कसरी जल्छ ? चुरोट पनि भिजेको हुनुपर्ने हो । केही स्थानमा पात्रका रूवाइ नाटकीय रहेको पाइन्छ । निष्कर्ष ः समग्रमा चलचित्र अपवाद नै हो नेपाली चलचित्रको भीडमा । यसले बोकेको चलचित्र कपी गरिएको भए पनि नेपाली चलचित्रले अहिलेसम्म बोकेको कथाभन्दा पृथक् नै पाउन सकिन्छ । यसलाई एक पटक चलचित्र भवनमा नै पुगेर हेर्न दर्शकहरु नारायणगढको इन्द्रदेवमा भने पुग्नुपर्दछ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी