Tuesday, July 3, 2012

दुई मित्रको कहालीलाग्दो प्रेमकथा

गोविन्द अर्याल , 


चलचित्र ः किन लाग्छ माया कलाकार ः राजवल्लभ , गरिमा पन्त, झरना थापा, शंकर लामिछाने, रवि गिरी निर्देशक ः गोपालचन्द्र लामिछाने साँच्चै प्रेम गर्छु भनेर गर्न मिल्ने हुँदो हो त कति जना प्रेम गर्दै हिँड्ने गर्थे होलान् र बसेको प्रेमलाई छाड्छु भन्दैमा छाड्न मिल्ने भए कतिले छाड्दै पनि हिँड्थे होलान् ! आजभोलि प्रेमको अर्थ बदलिएर आकर्षणका रुपमा चिनिँदै गर्दा चलचित्र ‘किन लाग्छ माया’ ले दुई मुटुबीचको चोखो मायालाई चलचित्रको पर्दामा उतारेको छ । त्यतिमात्र होइन, दुई मित्रबीचको प्रगाढ मायालाई पनि चलचित्रमा देखाउन खोजिएको छ । प्रेमका भिन्न पक्षहरुलाई सफल रुपमा प्रस्तुत गर्न सफल छ चलचित्र । कथावस्तु ः ‘किन लाग्छ माया’ चलचित्रको केन्द्रीय पात्र विशाल (राजवल्लभ कोइराला) ले जीवनमा भोग्नु परेका उतारचढावलाई देखाइएको छ चलचित्रमा । कुस्मा बजारको विशाल, युरोपमा पढेर आफ्ना बाबुको व्यवसायलाई अगाडि बढाउने क्रममा सीए पढेको उसले बाबुको व्यवसायको हिसाबकिताव दुरूस्त पाउँदैन । उसकहाँ काम गर्ने रवि गिरीले उसको सम्पत्ति हत्याउने प्रयासस्वरुप उसलाई अवैध यौनसम्पर्क र हत्याको झूटो अभियोगमा पाँच वर्ष जेल भोग्न बाध्य बनाउँछ । विशाललाई राम्रो ठान्ने सबैले नराम्रो ठान्छन् । त्यतिमात्र होइन, उसलाई माया गर्ने डा. हिमानी (गरिमा पन्त)ले समेत गलत ठान्छे । पाँच वर्ष जेल सजाय भोगेर फर्किएको विशाल र पाँच वर्ष इराक पुगेर फर्किएको राजकुमार घर फर्कने क्रममा बसमा भेटिन्छन् । सुरूमा विशाल राजकुमारको संगत गर्न चाहन्न । विशाललाई हत्या गर्न रवि गिरीले गुन्डा खटाएको हुन्छ । मृत्युको मुखमा पुगेको विशाललाई राजकुमारले बचाउँछ । त्यसपछि उनीहरुबीचको माया झन् गाढा हुँदै जान्छ । उता आफ्नी प्रेमिकाको खुसीका लागि पाँच वर्ष इराक पुगेर फर्किएको राजकुमार प्रेमिकालाई भेट्न उसको घर म्याग्दी जाँदा रेखा (झरना थापा)को विवाह भइसकेको हुन्छ । दुवै जना फेरि कुस्मा बजार फर्कन्छन् । यता रवि गिरीले विशाललाई झूटो आरोपमा फसाउन खोजिरहन्छ । विशालको सम्पूर्ण कथा थाहा पाएपछि डीएसपी (निखिल उप्रेती)ले व्यवसाय सञ्चालन गर्न पोखरा जाने सल्लाह दिन्छ । यसमा सहमत हुँदै राजकुमारले आफ्नो पाँच वर्षको कमाइ विशाललाई दिन्छ । के विशाल व्यवसायमा सफल होला ? फेरि विशाल र डा. हिमानीको भेट होला ? राजकुमार र रेखाको पुनर्मिलन होला ? के विशालले आपूmलाई निर्दाेष सावित गर्न सक्ला ? यी र यिनै प्रश्नको जवाफ पाउनका लागि एक पटक नारायणगढको गणेश चलचित्र मन्दिरमा चलचित्र ‘किन लाग्छ माया’ हेर्न पुग्नैपर्छ । सबल पक्ष ः समग्रमा अविनाश श्रेष्ठले लेखेको कथा सबल छ । परिवेश र दृश्यमा कुनै पनि खोट लगाउन मिल्ने ठाउँ छाडिएको छैन । चलचित्रमा शीर्ष गीत ‘किन लाग्छ माया’ ले सबैलाई एकाग्र बनाउँछ । राजवल्लभ कोइरालाको अभिनय अझ खारिएर आएको छ । नवनायक शंकर लामिछानेको अभिनयले उनलाई प्रतिभा भएको नवनायकका रुपमा उदय गराएको छ । दुर्वल पक्ष ः चलचित्रको दुर्वल पक्ष भनेको यसको सांगीतिक पक्ष हो । शीर्ष गीतबाहेक अरु गीतले दर्शकको मन छुन सक्ने छैनन् । त्यस्तै, निखिल उप्रेतीलाई दमदार रुपमा प्रस्तुत गर्न सकिएको छैन । उनलाई चलचित्र बिकाउनका लागि मात्रै राखिएजस्तो देखिन्छ । निष्कर्ष ः साँचो प्रेमको सधैँ जित हुन्छ । माया देखाएर देखिँदैन, माया परेको बेलामा देखाउन जान्नुपर्दछ । संसारमा सबैभन्दा ठूलो माया नै हो भन्ने चलचित्रले देखाउन खोजेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी