Tuesday, July 3, 2012

चे वादीको नाममा हिमाली क्षेत्रमा सशस्त्र आतंक

 सिन्धुपाल्चोक, असार २०- प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह नेतृत्वको नवजनवादी मोर्चाका नेता सोनाम लामाले 
 हिमाली गाउँमा भूमिगत सशस्त्र गतिविधि सुरु गरेको खुलेको छ। 
उनले नेकपा (चे ग्वेभारावादी) नामक पार्टीका नाममा सशस्त्र गतिविधि थालेको विकट क्षेत्र गोल्चेबाट डेढ साताअघि हतियारसहित पक्राउ परेका तीन कार्यकर्तालाई मंगलबार चौतारामा सार्वजनिक गर्दै प्रहरीले यस्तो खुलासा गरेको हो। 

लामाले माओवादीका असन्तुष्ट कार्यकर्ता समेटेर हतियार देखाउँदै चन्दा संकलन, धम्कीलगायत गतिविधि गरिरहेको प्रहरीको दाबी छ।
असार १० गते राति प्रहरीले गाउँ घेरा हालेर उनको समूहका गोल्चे-८ का ४६ वर्षीय कालु विक, ३१ वर्षीय केशर दोङ र गोल्चे-७ का कुन्छो लामालाई चार थान भरुवा बन्दुक, कम्ब्याक्ट ड्रेस, चन्दा रसिद र बम बनाउने सामग्रीसहित पक्राउ गरेको थियो। ‘सोनाम समूहले स्थानीय युवायुवतीलाई समेत जबर्जस्ती संगठनमा आबद्ध गराएर गाउँ नै आतंकित पार्ने गरी भूमिगत गतिविधि सञ्चालन गर्दै आएको 
अनुसन्धानबाट पत्ता लगायौं,' पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त लामाले भने।

पक्राउ परेका मध्ये कुन्छो सोनामका भाइ हुन्। सोनामले हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्नेहरुबाट धम्क्याएर चन्दा उठाउँदै आएको र स्थानीयलाई जबर्जस्ती संगठनमा आबद्ध गरिरहेको डिएसपी लामाले दाबी गरे। 

माओवादी फुटेपछि अलमलिएका र असन्तुष्ट कार्यकर्तालाई सोनामले संगठनमा आबद्ध गरिरहेको पनि उनले बताए। 
अभियुक्तहरुबाट बरामद बम बनाउन प्रयोग गरिने सामग्री, कम्ब्याट पोसाक, भरुवा बन्दुक, चन्दा रसिद र कार्यक्रमको सिडीसमेत प्रहरीले सार्वजनिक गरेको थियो। प्रहरी कारबाहीपछि सोनाम समूहका सदस्यको भागदौड मच्चिएको छ। यो समूहले जलवीरे क्षेत्रको गोल्चे, गुम्बा, सेलाङ, बराम्ची, हगाम, पाङताङ गाविसमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

गोल्चेकै सोनाम रामराजाको मोर्चाको भ्रातृ संगठन नेपाल राष्ट्रिय जातीय मुक्ति मोर्चाका केन्द्रीय संयोजक हुन्। लामो समयदेखि मोर्चाकै नाममा भूमिगत गतिविधि सञ्चालन गरेका उनले हालै मात्र नेकपा (चेवादी) को नाममा आफ्ना क्रियाकलाप अघि बढाउन थालेका हुन्। 
प्रहरीका अनुसार बरामद भिडियो रेकर्डमा सोनमाले असार ८ गते गोल्चेमा भएको कार्यकर्ता प्रशिक्षण मोर्चा नेकपा कम्युनिष्ट पार्टी (चे ग्वेभाराबादी) मा विलय भएको घोषणा गरेका छन्। 

द्वन्द्वकालमा उनी माओवादीका नाममा सर्वसाधरण धम्क्याएर चन्दा असुलीमा सक्रिय थिए। माओवादीले कालोसूचीमा राखेर खोजी गरेपछि काठमाडौंमा लुकेका उनी केही समय भारतमा समेत बसेका थिए। शान्ति प्रक्रियासँगै उनी पुराना कम्युनिष्ट नेता रामराजाप्रसादको सम्पर्कमा पुगेका थिए। रामराजाप्रसाद राष्ट्रपतिको उम्मेदवार बन्दा प्रमुख सहयोगी रहेका सोनाम त्यतिबेला पत्रपत्रिका र टिभी पर्दामा छाएका थिए। संविधानसभा निर्वाचनमा मोर्चाकै तर्फबाट क्षेत्र नं २ को उम्मेदवार बनेका सोनामले पछि माओवादी उम्मेदवार अग्नि सापकोटालाई समर्थन गरेका थिए। 

अर्थमन्त्रीको कार्यक्रममा बम हान्ने सोनाम समूह 
महिना दिनअघि अर्थमन्त्री वर्षमान पुन सहभागी कार्यक्रममा भएको बम विस्फोट काण्डमा पनि सोनाम समूहकै संलग्नता भेटिएको छ। उनकै योजनामा विस्फोट गराइएको प्रहरीले पुष्टि गरेको छ। वैशाख २० गते माओवादीद्वारा जलवीरेमा आयोजित सभामा बम विस्फोट गराइएको थियो। माओवादी नेता सापकोटासमेत सहभागी कार्यक्रममा पुन प्रमुख अतिथि थिए।

घटनाकै दिन पक्राउ परेका अयोग्य लडाकु शिरकाजी तामाङले सोनामको निर्देशनमा आफूसहित ६ जनाको समूहले बम पड्काएको बताएका थिए।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी