Wednesday, July 4, 2012

अझै रित्तिएको छैन हुलाकीको झोला

(अन्जली रम्तेल)RSS
काठमाडौं । समयको मागअनुसार मानिसले पत्राचार गर्ने सञ्चारप्रविधिमा आमूल परिवर्तन आइसकेको छ । पहिलेजस्तो टाढा टाढा रहेका आफन्तको हालचाल र सन्चोबिसन्चो बुझ्न चिठ्ठीपत्र नै नकुरी नहुने अवस्था अब छैन ।
चिठ्ठीपत्रको स्थान अहिले इन्टरनेट र इमेलले लिइसकेको छ । त्यसमाथि झन्् सबैका हातहातमा मोबाइल र मोबाइलका मल्टिफङ्सनले त संसारको कुनै पनि भागमा रहेका आफन्तसँग कुराकानी भनौँ वा कुनै पनि विषयमा छिनभरमा जानकारी हासिल गर्न सकिन्छ, एकै ठाउँमा बसेर एकैछिनमा संसारभरका खबर हेर्न, पढ्न र सुन्न पाइन्छ ।
चिठ्ठीपत्र पठाउने र प्राप्त गर्न समय कुरेर बस्ने फुर्सद कसको छ र ? तर पनि अझै हुलाकबाट पठाइने चिठ्ठीपत्रको महत्व भने कम नभएको हातमा कागजपत्रको पोको बोकेर हिँड्ने हुलाकीलाई देख्दा प्रस्ट हुन्छ । उमेरले ६० काटिसकेका सोम सिंहले हुलाकी बनेर व्यक्तिका घर–घरमा गई चिठ्ठीपत्र बाँड्न थालेको पनि करिब २० वर्ष भइसकेको छ । उहाँ काठमाडौँ, खड्का भद्रकाली गाविसका लागि हुलाकी काम गर्नुुहुन्छ । यतिका अवधिमा पनि चिठ्ठीपत्र आउने र पु¥याउने काममा कुनै कमी नआएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘मैले हुलाकीको काम गर्न थालेको समयमा व्यक्तिका नाममा बढी चिठ्ठीपत्र आउँथ्यो भने अहिले कार्यालय र सङ्घसंस्थाका नाममा बढी आउँछन् ।’
आपूmले सो गाविसमा साताको दुईदिन चिठ्ठीपत्र पु¥याउने काम गर्ने र दुई दिनपछि पनि चिठ्ठीपत्रको सङ्ख्या त्यति नै पुग्ने सिंह बताउनुहुन्छ । हप्ता–हप्तामा चिठ्ठीपत्र पु¥याउने गर्छु तर पनि कम्तीमा सयवटा चिठ्ठीपत्र त हुन्छन् नै मसँग–उहाँ थप्नुहुन्छ ।
चिठ्ठीमा आफ्ना भावना पोख्न जस्तो सजिलो र रमाइलो अन्य माध्यमबाट नहुने अनुभव छ–पाटनका श्याम महर्जनको । कतिपय कुरा फोन, इमेल वा एसएमएसमा अभिव्यक्त गर्न सकिँदैन, त्यस्ता कुरालाई मैले चिठ्ठीमार्फत पोख्ने गरेको छु । पत्रसाथी बनाउन निकै रमाइलो मान्ने महर्जन भन्नुहुन्छ– कुनै पनि मानिसलाई नदेखी उनका र आफ्ना भावना पत्रमार्फत साटासाट गर्नुजत्तिको आनन्द केमा छ र ? उहाँले मुलुकभरिका सयभन्दा बढी पत्रसाथी बनाइसक्नुभएको छ । ती सबैका लागि उहाँले हुलाकको माध्यम प्रयोग गर्दै आउनुभएको छ ।
उहाँमात्र हैन, हुलाकको प्रयोग गर्नेमा काठमाडौँका कल्पना गुरुङ पनि अगाडि हुनुहुन्छ । उहाँ नेपालमा नभई विदेशमा रहेका आफ्ना साथीलाई चिठ्ठीपत्र पठाउने गर्नुहुन्छ, जसका लागि उहाँले सुन्धारास्थित गोस्वारा हुलाक कार्यालय प्रयोग गर्दै आउनुभएको छ । विदेशमा फोनमा कुरा गर्न धेरै पैसा लाग्छ, फेसबुकबाट कुरा गर्न कहिले आफूले नभ्याइने, कहिले साथीले, अनि चिठ्ठी नपठाएर सुखै छैन–उहाँले भन्नुभयो ।
हुलाक सेवा विभागको गत वर्षको तथ्याङ्कअनुसार सतह मार्गबाट पाँच करोड ८९ लाख ६५ हजार चिठ्ठीपत्र आदानप्रदान भएकामा वैदेशिक चिठ्ठीको आदानप्रदान नौ लाख २१ हजार ७८५ थियो । नेपालभर तीन हजार ९९१ ठाउँबाट हुलाक सेवा प्रदान गरिँदै आएको छ । सो प्रयोजनका लागि नौ हजार ३५८ जना कर्मचारी कार्यालय अवधिभर र १० हजार ७७७ जना अतिरिक्त समयमा कार्यरत छन् । यसैगरी देशभर हुलाकमार्फत रु २३ लाख ५१ हजार बराबरको मनी अर्डरसम्बन्धी कारोबार भएको थियो भने वैदेशिक कारोबार रु ५८ हजारमात्र भएको थियो । गत वर्ष २० हजार ५०० पोस्ट बक्स नम्बर सञ्चालनमा आएको थियो ।
व्यक्तिगत चिठ्ठीपत्रको कारोबार अत्यन्त कम भएको बताउँदै विभागका निर्देशक रूपनारायण भट्टराईले भन्नुभयो–सरकारी कार्यालय, अड्डाअदालत र पत्रपत्रिकाका लागि बढी चिठ्ठीपत्र आउँछन् । ‘अत्याधुनिक प्रविधिको प्रयोग जतिसुकै बढे पनि हुलाकबाट आएका चिठ्ठीपत्र नै आधिकारिक हुने धारणा ती कार्यालयको छ, त्यसैले पनि त्यस्ता कार्यालय हुलाकीको प्रतीक्षामा नै हुन्छन्’–उहाँले भन्नुभयो ।
नेपालमा टेलिफोन तथा मोबाइल सेवा नपुगेका जिल्लामा व्यक्तिगत चिठ्ठीपत्रको आदानप्रदान नै धेरै हुने गरेको छ । नेपाल टेलिकमको एक तथ्याङ्कअनुसार देशका सम्पूर्ण जिल्लामा मोबाइल र इन्टरनेटको सुविधा पुगिसकेको भए पनि केही दुर्गम गाविसमा भने अहिलेसम्म सो सुविधा पुग्न सकेको छैन । सोका कारण ती गाविसका जनतालाई सूचना आदानप्रदान गर्न र आफन्तको हालचाल बुझ्न अहिले पनि चिठ्ठी नै कुर्नुपर्ने बाध्यता छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी