Thursday, October 11, 2012

लठ्ठा चुँडिएको पुल एक वर्ष नबित्दै तयार

दारेचोक । चितवनको दारेचोक र गोरखाको भुम्लीचोक जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । काम सुरू भएको सात महिनामा नै पुल तयार भएको हो ।

१६३ दशमलव ५ मिटरको सस्पेन्डेड पुल निर्माण गरिएको छ । निर्माण सकिएसँगै स्थानीयवासी पुलको बाटो भई आहोरदोहोर गर्न थालेका छन् ।

पुल निर्माणको लागि ठेक्का पाएको अधिकारी सञ्जीव मिलिनियम निर्माण कम्पनीले भ्याटबाहेक ४६ लाख ५० हजार रुपैयाँमा पुल निर्माण सकेको हो । पुल निर्माणको जिम्मा पाएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले टेण्डर आह्वान गरी उक्त ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो ।

विभागले पुल निर्माणको लागि भ्याटबाहेक ६० लाख १० हजारको लागत अनुमान गरेको थियो । गत फागुन २८ गतेबाट काम सुरू गरेको ठेकेदार पक्ष र विभागबीच एक वर्षभित्रमा काम सकिसक्नु पर्ने सम्झौता भएको थियो ।

ठेकेदार पक्षले हालसम्म निर्माण भएको सस्पेन्डेड पुलहरुमध्ये कम लागतमा र छिट्टै निर्माण भएको फिस्लिङको सो पुल रहेको दावी गरेको छ । पुल निर्माण सम्पन्न गर्न एक वर्षको अवधि भए पनि आमजनताको समस्यालाई ध्यानमा राखी छिट्टै नै काम सकेको निर्माण पक्षका डोलनाथ अधिकारीले बताउनुभयो ।

लठ्ठा चुँडिँदा बेपत्ताको अवस्था अज्ञात

गत वर्ष कात्तिक ५ गते फिस्लिङ पुलको लठ्ठा चुँडिँदा दुई जनाको मृत्यु भएको थियो भने नदीमा बेपत्ता एक जनाको अवस्था हालसम्म अज्ञात नै छ । घटनामा १४ जना घाइते भएका थिए ।

घटना भएको दुई हप्तापछि अर्थात् २०६८ कात्तिक २० गते गृह जिल्ला गोरखा जानेक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुँडिएको फिस्लिङ पुलको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद्बाटै सीधै निर्णय गरी पुल निर्माण गर्ने स्थानीयवासीलाई आश्वासन दिनुभएको थियो ।

स्थानीयवासीले सो ठाउँमा मोटर गुड्न मिल्ने पुलको आवश्यकता भएको भन्दै प्रधानमन्त्री, पूर्वसभासद् र विभिन्न सरकारी कार्यालयलाई यस सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

दैनिक सयौँको संख्यामा ओहोदोहोर


दैनिक सयौंको संख्यामा त्यही पुल भएर गोरखाका भुम्लीचोक, मकैसिङ, दरबुङलगायतका गाविसका मानिसहरु ओहोरदोहोर गर्ने गर्दछन् । पुल चँुडिएपछि स्थानीयको समस्यालाई ध्यानमा राखी नदी वारपार गर्न तत्कालै दुईवटा डुङ्गाको व्यवस्था गरिएको थियो ।

गत जेठबाट नदीमा पानीको बहाव उच्च भएपछि डुङ्गा सञ्चालनमा समस्या आएको थियो । भेलबाढीकै कारण तीन महिना डुङ्गा सञ्चालन हुन सकेन । यस अवस्थामा ठेकेदारले अस्थायी तुइनको व्यवस्था गरी सहयोग गरेको फिस्लिङका स्थानीय समाजसेवी गोबर्धन अधिकारीले बताउनुभयो ।

पुल निर्माण सुरू भएपछि पटकपटक यसको पूर्वाधार निरीक्षण गरिएको विभागका इन्जिनियर ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिनुभयो । ‘पुल निर्माण सम्झौताअनुसार नै भएको छ, इन्जिनियर मरहठ्ठाले भन्नुभयो, ‘प्रधानमन्त्री, स्थानीय विकास मन्त्री र अन्य सम्बन्धित सरकारी अधिकारीले पनि निर्माणको क्रममा बारम्बार चासो राखेकोले पुल निर्माणमा कुनै कमीकमजोरी भएको छैन ।’

स्थानीयबासी खुसी

तोकिएको समयभन्दा छिट्टै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । १८ वर्षअघि जीटीजेडको सहयोगमा निर्माण भएको सो पुलको बायाँपट्टिको लठ्ठा चुँडिँदा दुर्घटना भएको थियो ।

घटनामा परी गोरखा दर्बुङका ६० वर्षीय मनबहादुर मगर र भारत तमिलनाडुकी २२ वर्षीया फालोरेन्सको निधन भएको थियो । काठमाडौंबाट पोखरा घुम्न हिँडेका भारत चेन्नाईका नागरिकहरु सो पुलमा झुण्ड भई जिस्कने र फोटो खिच्नेक्रममा पुलको लठ्ठा चुँडिएको थियो ।


आज पुलको उद्घाटन
दारेचोक । निर्माण सम्पन्न भएको फिस्लिङ पुलको आज शुक्रबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका इन्जिनियर ईश्वरचन्द्र मरहठ्ठाले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको हरेक महिना गृह जिल्ला भ्रमण जाने कार्यक्रमअन्तर्गत शुक्रबार पनि गोरखा जानेक्रममा सो पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । 
vie chitwanpost





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी