Thursday, October 11, 2012

नामको मात्र अनुगमन ः उपभोक्ता असन्तुष्ट

भरतपुर । दसैँको चहलपहल सुरू भएसँगै प्रशासन तथा स्थानीय निकायले खाद्य बस्तुको निरीक्षणलाई तीव्रता दिएको छ । यद्यपी यो अनुगमन प्रभावकारी हुनेमा उनीहरुको कामले भने ढुक्क हुन सक्ने अवस्था छैन ।

बिहीबार भरतपुर नगरपालिकको नेतृत्वमा भएको मासु पसलहरुको अनुगमनले पनि यस्तै देखाएको छ । बिहानी पख खुल्ने मासु पसलहरुको अनुमन टोलीले मध्यान्हपछि मात्र थालेको थियो । अनुगमनका क्रममा टोलीले अधिकांश बन्द अवस्थाका पसलहरुमात्र भेट्टाएको थियो । खुलेका पसलहरुमा पनि मासु काटिएका थिएनन् ।

विनादर्ता सञ्चालनमा


अनुगमनका क्रममा भेटिएका अधिकांश मासु पसलहरु विनादर्ता सञ्चालनमा भएको भेटिएको अनुगमनमा संलग्न भरतपुर नगरपालिकाका वातावरण सहायक जानुका केसीले जानकारी दिनुभयो ।

स्थानीय उपभोक्ता अधिकार मञ्च, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभागका प्रतिनिधि तथा पत्रकारहरु सम्मिलित टोलीले भरतपुरको सिनर्जीचोक, बालकुमारीचोक तथा कमलनगर रोडमा रहेका मासु पसलहरुको अनुगमन गरेको हो ।

दर्ता नभएका पसलहरुलाई एक महिनाभित्र दर्ता गरी सञ्चालनमा ल्याउन निर्देशन दिइएको केसीले बताउनुभयो । प्रथम चरणको अनुगमनअन्तर्गत पर्चा वितरण र सचेत पार्ने काममात्र भएको जिल्ला प्रशासन कार्यालयका खाद्य निर्देशक नवीन देउजाले जानकारी दिनुभयो ।

बिहान बेलुका जानुपर्ने


बिहान र बेलुकापख चल्ने पसलहरुमा दिउँसो जाँदा पसलका सञ्चालकहरु थिएनन् । पसलमा चालु अवस्थामा जाँदा जति प्रभावकारी हुने थियो, त्यति नहुने कुराको जानकारी अनुगमन टोलीमा सहभागीहरु जानकार नै थिए ।

टोलीमा सहभागी जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक महेन्द्रप्रसाद शाहले अनुगमन बिहान वा बेलुका गर्नुपर्ने बताउनुभयो । ‘अहिले केही पनि भेटिँदैनन्, बिहान वा बेलुका गएको भए राम्रो हुन्थ्यो’, उहाँले भन्नुभयो ।

यसअगाडि भरतपुर नगरपालिकामा भएको बैठकले सचेतनामूलक पर्चा वितरण गरी सचेत पार्ने निर्णय गरेको थियो । सम्पूर्ण सरोकारवाला सम्मिलित बैठकले अनुगमनलाई कारबाहीमुखी बनाउनु पर्नेमा जोड दिएका थिए ।

बैठकमा बोल्दै भरतपुर नगरपालिकका प्रशासकीय अधिकृत टीकाराम कँडेलले अनुगमन देखाउनका लागिमात्र हुने आरोपलाई चिनुपर्ने बताउनुभयो । ‘हामीले अनुगमन गरेपछि कारबाही पनि गर्नु पर्छ, आम उपभोक्ताले अनुगमनलाई विश्वास गरेको देखिँदैन’, उहाँले भन्नुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी