Wednesday, October 10, 2012

साँझका पाहुनाबाटै लुटपाटको प्रयास

नारायणगढ । ‘साँझका पाहुना देउता बराबर’ मान्ने नेपालीकोे संस्कार छ तर तिनै पाहुनाले झण्डै वित्यास नै पार्छन्भन्दा पत्याउन गाह्रो हुन सक्छ । तर वास्तविकता त्यस्तै छ । भरतपुर नगरपालिका वडा नम्बर ४ बाह्रघरेकी आइतीमाया सुनारको घरमा साँझ आएका पाहुनाले झण्डै वित्यास पारेनन् ।

साँझमा छोराको साथी भन्दै घरमा आएको पाहुनाले नै नसालु पदार्थ खुवाएर  लुटपाट गर्ने प्रयास गरेपछि अहिले साँझमा घरमा आउने पाहुनाको बारेमा राम्रो जानकारी लिनुपर्छ भन्ने कुराको पाठ सिकाएको छ ।

राजु छैन भन्दै आए


‘साँझ त्यस्तै ७ बजेको थियो, दुई जनाले ढोका ढक्ढकाएर आमा भने, मैले ढोका खोलेँ र कोहो भने अनि उनीहरुले मेरो छोरा राजुको नाम लिएर उसको साथी हो, राजु घरमा छैन भनेर सोधे’, ६१ वर्षीया आइतीमायाले एक हप्ताअघिको घटना बिस्तारले भन्नुभयो, ‘साँझमा आएका पाहुना भनेर झन् मासु र भात खुवाएर राखेँ, झन्डै बर्बाद गरेनन् ।’

‘साँझ खाना खाने बेलामा उनीहरुले मलाई रक्सी खानुहुन्छ आमा भने तर मैले खान्न भनेपछि जुस ल्याएर दिए । बूढा (प्रितिमान) ले त स्वात्तै खानु भयो, मैले दुई घुट्की खाँदा घाँटीमा के अड्किएजस्तो लाग्यो’, उनले घटना विवरण सुनाउँदै गहभरी आँशु चुहाउँदै घटना विवरण थप्दैजानुभयो, ‘त्यो जुस खाएपछि बूढा त बेहोस हुनुभयो । कताबाट कोठामा बसेको भाइ आएर हामीलाई हस्पिटल पु¥याएछन् ।  उनकै कारण हाम्रो ठूलो धनजन लुटिनबाट जोगियो ।’

८१ वर्षीय प्रितिमानको अहिले पनि बेहोस अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ‘श्रीमान् मर्ने बाँच्ने दोसाँधमा हुनुहुन्छ’, उहाँले थप्नुभयो,‘लुटपाटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने सक्रिय


यसरी नै नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोह चितवनमा सक्रिय रहेको छ । विशेष चाडवाडका बेलामा यस्ता गिरोहहरु लुटपाटका लागि सक्रिय हुने गरेका हुन् । यस्ता समूहबाट मुख्य रुपमा सोझा र एकान्त ठाउँमा रहेका नागरिकहरु पीडित हुने गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक किशोर श्रेष्ठ सोझा साझालाई झुक्काएर लुट्ने गिरोहदेखि सचेत हुन जरुरी रहेको बताउनुहुन्छ । ‘अहिले विदेशमा रहेकाहरुले पनि दसँैको जोहो गर्न पैसा पठाउँछन् । अनि वैदेशिक रोजगारीबाट फर्कर्नेहरु पनि यही बेला यातायातमा सवार हुन्छन् । उनीहरुसँग हरेक कारणबाट नजिँकिने र विभिन्न खानपिनमा नसालु पदार्थ मिसाएर खुवाइ लुट्नेक्रम बढी छ’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ।

उहाँले जनचेतनाको कमीले यस्तो भएको जनाउनुहँुदै नचिनेका मानिससँग हेलमेलमा कमी हुने र अपरिचित व्यक्तिले दिएको खाने कुरा नखाने होमात्रै भने पनि नसालु पदार्थबाट बेहोस गराएर लुट्ने गिरोहबाट बच्न सकिने उहाँले बताउनुभयो । गहना तथा पैसा घरमा नराख्ने र बोकेर नहिँडे पनि यसबाट बच्न सकिने उहाँले बताउनुभयो ।

आफैँ सचेत हुनु ः प्रहरी


‘पहिला आफैँ सचेत हुनुप¥यो । गरगहना र धनसम्पत्ति बोकेर हिँड्ने वा घरमा राख्नेक्रम रोकियो भने पनि यस्ता घटनाबाट बच्न सकिने छ’, उहाँले चितवन पोष्टसँग भन्नुभयो ।

घरमा रहेका सहयोगीका कारण आइतीमायाको घरमा त लुटपाट हुन पाएन । तर पछिल्लो समय नसालु पदार्थ सेवन गराइ लुटपाट गर्ने गिरोह सक्रिय भएको हुँदा अपरिचित व्यक्तिहरुलाई घरमा बास बस्न नदिने र उनीहरुले दिएको खानेकुरा नखाएमा यस्तो लुटपाटबाट बच्न सकिनेतर्फ सजग रहन जरुरी छ ।
vie chitwanpost





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी