Sunday, November 18, 2012

सीसीटीभीले अपराधी पक्रन सजिलो

प्रहरीद्वारा अभियुक्तहरू सार्वजनिक
भरतपुर । जिल्लाका विभिन्न स्थानमा राखिएको सीसीटीभीका कारण अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग पुगेको छ । प्रहरीले सीसीटीभीमा कैद भएको दृष्यका आधारमा शनिबार मात्रै तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
गत कात्तिक २९ गते भरतपुर र नारायगणका विभिन्न स्थानमा ९ वटा गाडी तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामा भरतपुर–१० का १९ वर्षीय आशिष उप्रेती, सोही स्थानका वर्ष १९ कै अंकित गुरुङ र गैँडाकोट–२ नवलपरासीका २० वर्षीय सरोज बराल रहेका छन् ।

मादकपदार्थ सेवन गरी गाडी तोडफोड गर्दै हिँडेको अभियुक्तहरुले बयानमा स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । स्थानीयले दिएको सूचनाको आधारमा लुकिङ ग्लास नभएको हिरो होण्डा, सीवीजेड,एक्सट्रीम मोटरसाइकललाई प्रहरीले निगरानीमा राखेर उनीहरुको खोजी गरिरहेको थियो ।

गत शनिबार राति प्रहरीले सीसीटीभीमा लुकिङ ग्लास नभएको सोही प्रकृतिको मोटरसाइकल देखेपछि त्यसको तीव्र खोजी गरेको थियो । खोजीको क्रममा  ना.१९ प ७७३४ नं.को मोटरसाइकलसहित सरोज बराललाई पक्राउ गरेको कार्यालयका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

बरालले दिएको बयानका आधारमा उप्रेती र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने सबैलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलान गरिएको उहाँले जानकारी दिनुभयो ।

उनीहरुले गत २९ गते भरतपुर दीपेन्द्र चोकमा पार्किङ गरेर राखेको अवस्थामा रोेमन श्रेष्ठको बा.२ च ४१०६ नं. को कार र ग.१ ख ७१७ नं. बस तोडफोड गरेका थिए । त्यस्तै ना.४ ख ७९२३, ना.३ ख ११९२ नं. का बस, बा. ८ च ७६६८, बा.५ च ७३४५ नं.का कार, ना.१ क २०९२ नं.को ट्रक, ना. २ च ४९८० नं.को भ्यान, बा.१ च ८८९० नं. को जिप्सिलाई तोडफोड गरेका थिए ।

यस अगाडि पनि प्रहरीले सीसीटीभीको सहयोगमा लक्ष्मीनारायण बस्त्रालयमा छापा मार्न आएको राजस्व अनुसन्धानको टोली चढेको भ्यान जलाउनेलाई पक्राउ गरेको थियो ।

त्यस्तै एटुजेड मोबाइल हाउस चोरी काण्डका अभियुक्तहरुलाई पनि प्रहरीले सीसीटीभीको सहयोगमा पक्राउ गर्न सफल भएको कार्यालयका प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले सीसीटीभीकै सहयोगमा भरतपुर दूरसञ्चार चोकमा साइकल चोरी गर्ने अभियुक्तलाई समेत पक्राउ गरेको भट्टराईले बताउनुभयो । चितवनमा नारायणगढ, भरतपुर, रत्ननगर लगायतका स्थानमा २९ वटा सीसीटीभी जडान गरिएका छन् ।

जडान गरिएका सीसीटीभीमध्ये चारवटा बिग्रिएर सञ्चालनमा छैनन् । हाल २५ वटा सीसीटीभी सञ्चालनमा रहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले शुक्रबार सुनको सिक्री चोरी गर्ने एक महिलालाई चोरी गर्दागर्दै पक्राउ गरेको छ । नारायणगढमा टेम्पो कुर्दै गरेकी मंगलपुर–२ बस्ने सविता तामाङको सिक्री चोरेर भाग्दै गर्दा प्रहरीले भारत नौतनवा रेलवे स्टेसनकी ४५ वर्षीया सीला पथरकट्टालाई प्रहरीले पक्राउ गरेको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी