Wednesday, December 5, 2012

पुस महिनाभर दादुरा–रुबेला खोप अभियान

भरतपुर । चितवन जिल्लामा पुस महिनाभर दादुरा र रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले बुधबार गरेको अन्तक्र्रिया कार्यक्रममा कार्यालयले यस्तो जानकारी गराएको हो ।
जिल्लाका सबै गाविस र दुई नगरपालिकाका करिब दुई लाख बढी बालबालिकालाई तीन चरणमा खोप लगाइने कार्यालयका प्रमुख केहरसिंह गोदारले जानकारी दिनुभयोे । उहाँका अनुसार मंसिरको ३० गतेबाट अभियान औपचारिक रुपमा सुरू भई पुस मसान्तसम्म चल्ने छ ।  

हरेक चार÷चार वर्षमा सञ्चालन हुने विशेष दादुरा खोप अभियानलाई यस वर्ष रुबेलाविरुद्ध पनि सञ्चालन गर्न लागिएको छ । अभियानअन्तर्गत एक हजार ६०४ स्वास्थ्यकर्मी, एक हजार ६३१ स्वयम्सेवकसहित सातवटा चिकित्सकको टोली परिचालित हुने गोदारले बताउनुभयो ।

खोप दिन ८३३ केन्द्र

जिल्लामा ८३३ खोप केन्द्रबाट दुई लाख दुई हजार ६३३ जना नौ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध खोप दिइने छ । त्यस्तै अभियानकै क्रममा ६५ हजार ५६२ जना जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थोपा खुवाइने छ ।

कार्यालयले सबै गाविस तथा नगरपालिकाका वडाका एक विद्यालयका खोप केन्द्र स्थापना गर्ने तयारी गरेको गोदारले जानकारी दिनुभयो । विद्यालयमा पढ्ने सबै बालबालिकालाई सेवा दिन यस्तो गर्न लागिएको उहाँको भनाइ छ ।

विद्यालयभन्दा बाहिरका बालबालिकालाई खोप दिन पोलियो खोप खुवाउँदा स्थापना गरिएका केही केन्द्रलाई पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । अभियानलाई सफल बनाउन प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वास्थ्य स्वयम्सेविकासमेत परिचालित गरिने जिल्ला जनस्वास्थ्य प्रमुख गोदारले जानकारी दिनुभयो ।
समान लक्षण देखिने दादुरा र रुबेलालाई अभियानका बेला एकै सुईबाट एचआर भ्याक्सिन दिइने जनस्वास्थ्य कार्यालयको खोप केन्द्र इकाइका गंगाधर पण्डितले बताउनुभयो ।

नेपालमा यसअघि दुई पटकसम्म अभियानकै रुपमा दादुराविरुद्धको खोप अभियान सञ्चालन भएकोमा यसपटक दादुरा र रुबेलाविरुद्ध एकैपट अभियान सञ्चालन गरिएको हो । रुबेलाविरुद्धको खोप अभियान नेपालमा यो पहिलो हो ।

नेपालभर तीन चरणमा अभियान सञ्चालन भएकोमा अन्तिम चरणमा मध्यमाञ्चल र पूर्वाञ्चलका सबै जिल्लामा पुस महिनासम्ममा सञ्चालन गर्न लागिएको पण्डितले जानकारी दिनुभयो । यसअघि पश्चिमाञ्चल, मध्यपश्मिाञ्चल तथा सुदूरपश्चिमाञ्चलका जिल्लाहरुमा दुई चरणमा यो अभियान सम्पन्न भइसकेको छ ।

दादुरा र रुबेलाविरुद्धको खोप कम्तिमा दुई पटक लगाउनुपर्ने पण्डितले बताउनुभयो । यसअघि लगाइसकेका वा नलगाएकाहरुले समेत यसपटक खोप लगाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

दादुराजस्तै देखिने रुबेला लागेका ७० प्रतिशत वयश्क महिलालाई हाडजोर्नी दुख्ने समस्या देखिने तथा पाँच हजारमा एक जनालाई मस्तिष्क ज्वरो तथा तीन हजारमा एक जनालाई रक्तश्राव हुने पण्डितको भनाइ छ । सन् २००४ देखि २००९ सम्मको तथ्याङ्कमा १५ हजार ५३५ दादुराका रोगी रहेकोमा उस्तै प्रकृतिको रुबेला तीन हजार ७१० जनालाई भएको तथ्याङ्क रहेको छ ।

प्रत्येक वर्ष नेपालमा छ हजार ९१ महिला रुबेलाले संक्रमित हुने गरेको र उनीहरुबाट जन्मिएका एक हजार ४०० जना बालबालिका अंगभंग भएर जन्मिने गरेका छन् ।

यता, जिल्लामा अध्ययन गर्ने सबै बालबालिकालाई खोप प्रदान गर्ने हो भने पनि अहिले लिइएको लक्ष्यले नपुग्ने जिल्ला शिक्षा कार्यालयका उपसचिव रामकुमार श्रेष्ठले बताउनुभयो । ‘जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा करिब दुई लाख ४५ हजार विद्यार्थी रहेको र विद्यालयबाहिर अझै विद्यालय जाने उमेरका तीन प्रतिशत विद्यार्थी विद्यालयबाहिर रहेका छन्’ उहाँले भन्नुभयो, ‘नौ महिनादेखि चार वर्षसम्मका बालबालिका जोड्ने हो भने एक लाख खोप नपुग्ने देखिन्छ ।’

यसतर्फ कार्यालय सचेत हुनुपर्ने श्रेष्ठको भनाइ छ । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी