Sunday, March 10, 2013

क्याम्पाचौर फेरि संगीतमय

नारायणगढ । नारायणगढको क्याम्पाचौर शनिबार रक कन्सर्टसँगै झुमेको छ । टीएसएन तथा एटुजेड मोबाइल हाउसले आयोजना गरेको सो कन्सर्टमा अपरान्ह दुई बजेदेखि साँझ अबेरसम्म नारायणगढका युवाहरु रमाए ।

देशमा भइरहेको राजनीतिक अनिश्चितताको चर्काे विरोध गर्दै स्थानीय ब्याण्ड स्याडोजले ‘नयाँ नेपाल’ बोलको गीत पस्कँदा क्याम्पाचौर ढाकेका युवाहरुले आकाश गुञ्जायमान पारेका थिए । वर्तमान राजनीतिको कारण ‘नयाँ नेपाल’ बोलको सिर्जना भएको बताउँदै स्याडोजले जनतालाई केही नदिएका नेताहरुलाई ब्यंग्य प्रहार गरेको थियो । त्यस्तै नेपालमा जन्मेका बुद्धलाई आफ्नो नागरिक भनेर प्रचार गर्ने भारतप्रति पनि स्याडोजले आफ्नो गीत ‘म हुँ बुद्ध नेपालको’ बोलको गीत प्रस्तुत गर्दै विरोध गरेको थियो । सो ब्याण्डले ‘हिड्ने मान्छे लड्छ’, ‘सायद’, ‘म खेलाडी’लगायतका गीत गाएर उपस्थित युवाहरुलाई उफारेको थियो ।
त्यसभन्दा अघि स्टेज उक्लिएका गायक सबिन राईले आफ्नो ब्याण्डको साथमा युवाहरुलाई तताए । उनले ‘तिमीलाई सम्झी’, ‘म संसार जित्ने’, ‘गुराँसको फेदमुनि’लगायतका गीतहरु गाएका थिए । उनले चपलीहाइट फिल्मको शीर्ष गीत गाँउदा दर्शकहरुले उनीसँगै गाएका थिए ।
त्यसपछि पोखराको ‘द एज’ले एक घण्टासम्म स्टेज तताएको थियो । एजले नेपालीहरु जहाँ रहे पनि एक हुनुपर्ने भावना गीतबाटै प्रस्तुत गरेको थियो । त्यस्तै उसले ‘कसरी कहाँ लुकाउँ’, ‘ओइ सुन माया’लगायतका गीतहरु प्रस्तुत गरेको थियो ।
कन्सर्टको अन्तिममा युवाहरु माझ निकै ‘मन्त्र’ ब्याण्डले करिब डेढ घण्टा स्टेज ततायो । धेरै पछि कन्सर्टका स्वाद चाख्न पाएका नारायाण्गढका युवायुवतीहरु साँझ अबेरसम्म क्याम्पाचौरमा नै नाचिरहे । कन्सर्टमा स्थानीय व्याण्ड प्रहरले समेत आफ्नो प्रस्तुती दिएको थियो ।

चितवन बहिरा संघको सहयोगार्थ आयोजना गरिएको ‘चितवन म्यूजिक फेष्टा’ नाम दिइएको सो कन्सर्टमा सहभागी दर्शकहरुमध्ये नेपालगंजका दिर्घायुजंग शाह र नारायणगढकी प्रियंका बस्नेतले कलर्स मोबाइल जितेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी