Sunday, March 10, 2013

देशभरका गजलकार चितवनमा

रचनाबाटै सत्ता ढाल्ने उद्घोष

नारायणगढ । 
‘पर्खाल कडा तोडेर आँउछु ।
आँउछु पक्कै पिंजडा तोडेर आँउछु ।।
तिमी गजल लिएर बस चितवन,
म सिन्धुलीको अखडा तोडेर आँउछु ।।’

सिन्धुलीकी स्रष्ठा सरिता श्रेष्ठले जस्तै गजल वाचन गर्न शनिबार चितवनमा धेरै जिल्लाका अखडाहरु तोडेर उपस्थित भएका थिए एकसय बढी गजलकारहरु ।
नारायणगढमा जम्मा भएका उनीहरुले गजल र मुक्तक लेखेर परिवर्तन गरिदिनेसमेत उद्घोष गरेका छन् । हाम्रो मझरी साहित्य प्रतिष्ठानले आयोजना गरेको हाम्रो मझेरी स्वर्णंक समारोहमा उनीहरुले यस्तो उद्घोष गरेका हुन् ।
पूर्वबाट आएका बादल घिमिरेले यसरी मुक्तकबाट सरकार ढाल्ने उद्घोष नै गरे, 
‘गरिबका बस्तीहरुमा क्रान्ति पठाइदिन्छु
भ्रष्ट नेताहरुको अनुहार जलाइदिन्छु
तिमीले के ठानेका छौ महासय
म मुक्तक लेखेरै सरकार ढलाइदिन्छु ।’

माथिको मुक्तक वाचन गर्दा गजलकारहरुले भरिएको हलमा तालीको पर्रा छुटेको थियो । पूर्व भुटानदेखि पश्चिम महाकालीसम्मका गजलकारहरुलाई प्रतिष्ठानले नारायणगढमा जुटाएको हो ।
कार्यक्रममा राजनीतिका खेलाडीहरुले जनतालाई दुःख मात्रै दिएको भन्दै जति गाली गरेपनि नपुग्ने उद्घोष गर्दै ब्यंग्य प्रस्तुत गरेका थिए पोखराका गजलकार मन क्षेत्रीले । उनले मुक्तकबाट यसरी ब्यंग्य गरे –
‘न नुन आउँछ न धजा आँउछ,
न त बेचिएको दशजगजा आँउछ,
खै किन हो कुन्नी ? लुतो कनाउँदा जस्तै
नेताहरुलाई गाली गर्दा मजा आँउछ ।’

गजलकारहरुले देशको अवस्थासँगै नेपालीहरुले भोग्नुपरेको पीडालाई पनि गजलका शेरहरुमा उनेका थिए । पूर्वबाट आएकी कमला अधिकारी आफ्नै छोराको चिहान उत्खनन गरिरहेका बाबुको पीडा यसरी उत्खनन गरिन्,
 ‘यस्तो पनि जिम्मेवारी बहन गर्दैछ,
बाउ छोराको चिहान उत्खनन् गर्दैछ,
कसैले यो खबर पु¥याइ देउ बुद्धलाई,
तिम्रो देशमा हिटलरले शासन गर्दैछ ।।’

कार्यक्रममा देशभक्तिसँगै श्रृङ्गारिक गजलहरुसमेत वाचन गरिएका थिए ।  भुटानका स्रष्टा याम थुलुङले आफ्नी प्रियसीको चर्चा गर्दै यसरी गजल गाए,
 ‘आगो थिएँ म पानी भएँ ।
तिमीलाई हेरिरहने नानी भएँ ।।
ढुंगाजस्तै कठोर थियो मन
धुँवा धुलो खरानी भएँ ।।’

प्रतिष्ठानले मातृभूमि साहित्य समाज मकवनपुरका संस्थापक अध्यक्ष ह्याग्रीव आचार्य र चितवनका गजलकार प्रभाकर पण्डितलाई सम्मान गरेको छ । त्यस्तै झापाका गजलकार विवश बलिभद्र कोइरालाई गजलरत्न पुरस्कार र चितवन घर भइ हाल इजरायलमा रहेकी सुचित्रा खनियाँलाई गजलश्री पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार विष्णुबहादुर सिंह हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी