Sunday, March 17, 2013

नयाँ सरकारसँगै चितवनमा पनि निर्वाचनको चहलपहल

भरतपुर । अन्तरिम मन्त्रिपरिषद्को गठनसँगै केन्द्रमा निर्वाचनको चहल पहल सुरू भएको छ । त्यसैको प्रभावसमेत चितवनमा देखा परेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु धमाधम गर्न थालेको छ ।

निर्वाचन हुने, नहुने अनिश्चितलाई तोड्दै गत बिहीबार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनका लागि अन्तरिम मन्त्रिपरिषद् गठन भएको हो ।  दलीय सहमतिका आधारमा आगामी वर्षको असार ७ गतेलाई संविधानसभाको अर्काे निर्वाचन मिति तय गरिएको छ । सोहीअनुरुप निर्वाचन कार्यालयसँगै चितवनका दलहरुमा पनि यसको चटारो छाएको छ ।


निर्वाचन कार्यालयले मंगलबारदेखि प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा फोटोसहितको मतदाता नामावली संकलन अद्यावधिक कार्य थाल्ने भएको छ । यसको तयारी स्वरुप प्रत्येक गाविस तथा नगरपालिकाका वडा सचिवहरुलाई एक दिनको प्रशिक्षणसमेत दिइसकेको छ ।

कार्यालयले मतदाता अध्यवधिक गर्नका लागि ११ जना मतदाता दर्ता अधिकारी, ६३ जना  सहायक दर्ता अधिकारी, ६३ जना सहायक नाम दर्ता कर्मचारी, ६३ जना निर्वाचन शिक्षा कार्यकर्ता, ६३ जना कार्यालय सहयोगी र १२६ जना सुरक्षा कमीसहितको ३८९ जनाको टोलीलाई गाउँगाउँमा परिचालन गर्ने भएको छ ।

मतदाता अद्यावधिक गर्नका लागि पाँच चरणको कार्यक्रम तयार गरिएको छ । त्यसअन्तर्गत चैत २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरी चैत मसान्तसम्ममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पेस गर्ने जिल्ला निर्वाचन आयुक्त हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘केन्द्रीय कार्यालयले दिएको निर्देशन बमोजिम  मतदाता अद्यावधिक गर्न कार्य गरिनेछ’, उहाँले भन्नुभयो, ‘अद्यावधिक गरिएको नामावली चैत मसान्तसम्ममा केन्द्रीय कार्यालयमा पठाउने भन्ने निर्देशन आएको छ ।’ प्रत्येक गाविसमा तथा नगरपालिकाका वडाहरुमा पुगेको टोली तीन दिनसम्म सम्बन्धित कार्यालयमा रहने उहाँले बताउनुभयो । 


त्यस्तै, जिल्लाका १४० मतदान केन्द्रहरुको समेत नक्साङ्कनसमेत गरिएको जिल्ला निर्वाचन प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा कुल तीन लाख ४७ हजार ९९० मतदाता रहेकोमा मंसिर मसान्तसम्ममा दुई लाख ४४ हजार ७१८ जनाले मात्र फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । यसरी दर्ता छुट भएका कुल एक लाख तीन हजार २६२ जनामध्ये ३३ हजार ६२१ जना जागिर तथा व्यवसायको गर्न अन्य जिल्लामा रहेको समेत कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ३७ हजार ५६१ जना रोजगारीका लागि विदेश रहेकोले उनीहरु छुटेको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।त्यसबाहेक नागरिकताको प्रमाणपत्र नभएका र अन्य कारणले दर्ता गर्न नचाहेका उहाँले बताउनुभयो । त्यस्तै, निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्नका लागि जनचेतनासम्बन्धी कार्यक्रमसमेत गाँउगाँउमा सञ्चालन गरिरहेको जनाएको छ । कार्यालयले सञ्चार माध्यमबाट सन्देश प्रवाह गर्नुका साथै माइकिंग गर्ने काम गरिरहेको प्रमुख ढकालले जानकारी दिनुभयो ।

कार्यालय स्थानीय स्तरमा वडा नागरिक मञ्चका पदाधिकारीहरुलाई समेत परिचालन गर्ने तयारी गरेको छ । पछिल्लो तथ्याङ्कमा नेपालमा एक करोड १० लाखले फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । नेपालमा कुल जनसंख्यामध्ये एक करोड ७६ लाख ११ हजार ८३२ जना मतदानका लागि उमेर पुगेका नागरिक रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लाका क्रियाशील राजनीतिक दल तथा सरकारी निकायका प्रमुखहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले सबैलाई निर्वाचन पक्रियामा सहभागी हुन तथा सबै जनतालाई सहभागी गराउन पहल गर्नसमेत आग्रह गरेको छ । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी