Saturday, March 23, 2013

संविधान सभाको चुनाव : पाँच वर्ष पहिलेजस्तो उत्साह छैन


भरतपुर । चिट्चिट् पसिना काड्दै दुई घण्टा लाइनमा बसेपछि पालो आएको थियो भोट खसाल्ने । तैपनि घाम नभनी लाइनमा बसेकी थिइन भरतपुर–९ की मञ्जु गुरुङ । यसरी दुःख गरेर भोट दिएको पनि पाँच वर्ष बित्यो । यो अवधिमा जनताले संविधान पाएनन् तर पनि संविधानसभा बनाउनका लागि फेरि एकपटक त्यस्तै लाइनमा भने बस्नै पर्ने भएको छ ।

संविधानसभाको चुनावमा भोट हालेपछि निकै परिवर्तन होला भन्ने सोचेकी गुरुङको जीवनमा भने खासै परिवर्तन आएन । ‘के हुनु, केही भएन, भएन भन्दा बिहे भयो, एउटा छोरो पनि भयो’, ठट्टा गर्दै उनले भनिन्, ‘पहिले गोरखामा भोट हालिएको थियो, अब यतै होला ।’ माइतीघर गोरखा आँपपीपल–१ बाट बिहे भएर आएकी उनले अबको चुनावमा भने भोट हाल्ने मन नभएको बताइन् ।


‘पाँचवर्ष अघि चुनाव आउँदा छुट्टै उत्साह थियो, त्यो उत्साह अहिले छैन’, गुरुङले भनिन्, ‘संविधान बनाउन भनेर गएकाले बनाएनन्, अबकाले बनाउलान् भन्ने के ग्यारेण्टी ?’ गुरुङमात्र होइन, राजनीतिदेखि विरक्तिएका अधिकांशको मनमा यस्तै जागेको छ । गुञ्जनगरका राजेन्द्र भुषालले गएको संविधानसभामा उमेर नपुगेर भोट हाल्न पाएनन्, तर अहिले उमेर पुगे पनि भोट हाल्ने मन छैन उनलाई ।

‘त्यो बेला ठूलो रहर थियो, भोट हाल्न पाइएन तर अहिले रहर नै छैन’, भुषालले भने ‘उमेर नपुगे पनि चुनाव खुब लागेको थियो, तर अहिले केही छैन ।’ जसलाई जिताए पनि उस्तै हुने उनले बताए । उनलाई मात्र होइन नारायणगढ बेलचोकका मतदाता ऋषिराम पौडेल पनि यसपटकको संविधानसभाको निर्वाचनमा मतदान नगर्ने मानसिकतामा छन् ।

अघिल्लो चुनावमा उत्साहपूर्वक भाग लिएका उनले भने, ‘संविधानसभाको चुनाव एक जुगमा एक पटक आउने हो, त्यसमा सहभागी भइसकें तर नेताहरुको नालायकीपनले संविधान बनेन ।’ दोहो¥याएर संविधान सभाको चुनाव हुनु र त्यसमा भोट हाल्नु भनेको सौभाग्य नभई दुर्भाग्य हो भन्दै उनले यसपटकको मतदानमा सहभागी नहुने धारणा बनाएका हुन् ।

संविधानसभाको असफलताको नैतिक जिम्मेवारी अझैसम्म कुनै दल र नेताले नलिएकोले त्यस्तालाई चुनेर पठाए फेरि पनि संविधान नबन्ने उनको ठम्याइ छ, तर संसद या स्थानीय निकायको चुनावमा भने भोट हाल्ने उनले बताए ।

यता आगामी संविधानमा जे भए पनि भोट हाल्नुपर्ने सुरमा छन् भरतपुरको एक विद्यालयमा पढाउने शिक्षक नवराज पाण्डे । कपिलवस्तु घर भएका उनलाई अब विचार पु¥याएर नेता चुन्नुपर्ने लागेको छ । ‘पहिले जेजस्तो भए पनि अब चाहिँ काम गर्नेलाई भोट हाल्नुपर्छ’, उनले भने, ‘पार्टी होइन, व्यक्तिलाई रोज्न सक्नुपर्छ ।’ आफ्नो पार्टी भनेपछि जस्तो खराबलाई पनि भोट दिने, अर्काे पार्टीको असलै भए पनि खेदो खन्ने प्रवृत्तिले देश बिग्रिएको उनको ठम्याइ छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका पाण्डेले नाम दर्ता गर्न आज आइतबार निर्वाचन कार्यालय जानेसमेत बताए । ‘नाम दर्ता गराएको छैन, त्यसको लागि आइतबार जानुपर्ला’, उनले भने । जिल्ला निर्वाचन कार्यालयले बाहिरी जिल्लाबाट जागिरको सिलसिलामा चितवन रहेका नागरिकहरुको समेत नाम दर्ता गर्ने गरेको छ ।

यसअघि निर्वाचन कार्यालयले बाहिरी जिल्लाका करिब पाँचहजार जनाको नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी